एनआरएनएको सराहनीय कार्य: नेपालका थप सात वटा अस्पताललाई पनि पिपिई हस्तान्तरण

काठमाडौं : गैर आवासीय नेपाली संघले नेपालका थप सात वटा अस्पतालहरुलाई पनि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई ) हस्तान्तरण गरेको छ । संघले आफ्नो सचिवालयबाट ७ वटा अस्पताललाई १२५ वटा पिपिई हस्तान्तरण गरेको हो ।

एनआरएनए आइसिसी उपाध्यक्ष सोनाम लामाले एक कार्यक्रमकाबीच विभिन्न अस्पताललाई पिपिई हस्तान्तरण गर्नुभएको हो । यसअघि नै एनआरएनएले कोरियाबाट प्राप्त ४ हजार कोरोना परीक्षण गर्ने किट र ५ सय पिपिई नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

उपाध्यक्ष लामाका अनुसार प्रदेश नं २ का नारायणी अन्चल अस्पताललाई २५, सगरमाथा अन्चल अस्पताललाई २०, जनकपुर अन्चल अस्पताललाई २०, बारा जिल्ला अस्पताललाई १०, रौतहट जिल्ला अस्पताललाई १०, बागमती प्रदेशका केन्द्रीय कारागार अस्पताललाई १५ र भरतपुर क्यान्सर अस्पताललाई २५ हस्तान्तरण गरिएको हो ।

उपाध्यक्ष लामाका अनुसार एनआरएनएले चीनबाट ल्याउन लागेको सामान समेत केहि दिनमा काठमाडौं आइपुग्नेछ ।  एनआरएनएले नेपाललगायत विश्वभरि नै समस्यामा परेका नेपालीलाई सहयोग गरिरहेको छ ।

हस्तान्तरण कार्यक्रममा एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठ, उप–संयोजक खगेन्द्र न्यौपाने, स्वास्थ्य समितिका उप–संयोजक शक्ति चौरसिया, प्रमुख कार्यकारी आधिकृत डा हेमन्त दबाडीलगायतको सहभागिता थियो ।


प्रकाशित | ५ बैशाख २०७७, शुक्रबार १९:०९