कोरोना महामारी बारे एनआरएनए स्वीटजरल्याण्ड अध्यक्ष शिव सुब्बाको सन्देश

शिव सुब्बा, अध्यक्ष एनआरएनए स्वीटजरल्याण्ड

कोरोनाले विश्वब्यापी महामारी फैलिरहँदा स्वीटजरल्याण्ड पनि त्यसबाट अछुतो रहन सकेको छैन । स्वीटजरल्याण्डमा अन्य देशको तुलनामा कोरोना संक्रमीत न्यून देखिए पनि कोरोनाको असर भने यहाँ पनि परेको छ । सरकारी स्तरबाट सक्दो पयास र स्वास्थ्य सम्बन्धी जनचेतना ब्यापक भएर होला यहाँ अन्य देशको जस्तो कोरोना संक्रमण फैलीएको छैन । यो नफैलनुमा जनताहरुको नियमीत स्वास्थ्य चेकजाँच, सरकारले चालेको कदम र जनतामा इमानदारीता नै हो । सरकारले कोरोना रोकथामको लागि यती पूर्व तयारी गरिरहेको छ कि सरकारको तयारी जनताले पाइला पाइलामा अनुभूत गरिरहेको अवस्था छ ।

कोरोनाको कारण यहाँ पनि लकडाउन छ । तर अन्त जस्तो लकडाउन भन्नाले घरभित्रै बस्नुपर्ने, बाहिरै निस्कन नपाउने, प्रहरी लगाएर नियन्त्रण गर्नुपर्ने अवस्था भने छैन । यहाँको लकडाउन सेमि लकडाउन जस्तै हो । जस्तो अती आवश्यक खाद्य पसल पेटोल पम्प, औषधि पसल, यातायात खुल्ला छ । रेष्टुरेन्ट, स्कुल, कलेज अझ भनौ धेरै भिडभाड हुने ठाउँहरु ठप्पै छन् । स्कुल, कलेज औपचारिक रुपमा बन्द भए पनि अनलाइनबाट भने पढनपाठन भइरहेको छ । यहाँ बाहिर निस्कन पाए पनि पाँच जना भन्दा बढी भने भेला हुन नपाइने नियम छ ।

त्यस्तै, स्वीटजरल्याण्डमा बसोबास गर्नुहुने ५ जना नेपालीमा कोरोना संक्रमण देखिएकोमा ३ जना निको भइसक्नु भएको छ । २ जनाको उपचार भइरहेको नेपाली दूतावासले जनाएको छ । उपचार गरिरहनु भएको दुई जनाको अवस्था सामान्य रहेको दूतावासको भनाइ छ । गैर आवासीय नेपाली संघ स्वीटजरल्याण्डले पनि यहाँ कोरोना प्रभावीतको लागि विभिन्न गतिविधीहरु सञ्चालन गरिरहेको छ । एनआरएनए एनसिसी स्वीटजरल्याण्ड, आइसिसी सदस्य भुमी गुरुङ र अध्यक्ष शीव सुब्बाको पहलमा पहिलो चरणमा एनआरएनए आइसिसीमार्फत नेपाल सरकारको कोरोना कोषमा १ लाख नेपाली रुपैयाँ सहयोग गरिसकेको छ । दोस्रो चरणमा अहिले भने यूरोप क्षेत्रले खडा गर्न गइरहेको कोषको लागि एनसिसीको तर्फबाट रकम संकलन गरिरहेको छौ ।

यहाँ सरकारले इन्सोरेन्सवापत अहिलेको जस्तो आपत्तकालीन अवस्थामा तीन महिनासम्म सबै किसिमको वन्दोवस्त गर्ने भएकाले यहाँ नेपालीलाई खासै समस्या छैन । थोरै संख्यामा नेपाली रहेको र प्राप्य कागजी प्रक्रिया पूरा गरेर बसेको बढी भएकाले समस्या छैन । यहाँ रहेका नेपाली सुरक्षीत हुनुहुन्छ । संक्रमीत दुई जना पनि चाँडै निको हुने आसा गर्दछु ।

अन्तमा तपाई संसारको जुन ठाउँमा हुनुहुन्छ, सुरक्षीत भएर बस्नुहुन आग्रह गर्न चाहान्छु । कोरोना आफैमा नसर्ने र ब्यक्ती ब्यक्तीको सम्पर्कबाट सर्ने भएकाले यो महामारी नियन्त्रणमा नआएसम्म जहाँ छौ, सुरक्षीत भएर बसौ, सम्बन्धीत देशको सरकारको नियम पालना गरौ, आफू पनि बाँचौ र अरुलाई पनि बचाउन सहयोग गरौ । धन्यवाद ।


प्रकाशित | ४ बैशाख २०७७, बिहीबार २१:३१