कोभिड–१९ : भ्रम र यथार्थ

डा किशोर अधिकारी

चीनको वुहान प्रान्तबाट डिसेम्बर २०१९ देखि सुरु भएको कोभिड–१९ माहामारीले आज विश्व जति प्रताडित छ झन्डै त्यति नै प्रताडित गलत, तथ्यहीन, अवैज्ञानिक र मनगढन्ते सूचना तथा जानकारीको भेलबाढीले छ।

केही स्वघोषित वाक चातुर्यताका धनी तर स्वास्थ्यको डिग्री डिप्लोमा रहित महामहिमले सामाजिक सञ्जालको गलत उपयोग गर्दै सोझासाझा वर्गमा एक किसिमको भ्रमको स्थिति सिर्जना गराउन सफल भएका छन्। यस्ता मनगढन्ते तथा आधारहीन सूचनाहरुको सामाजिक सञ्जालहरुमा भएका बाढीको फलस्वरुप सरकारी तथा गैरसरकारी निकायबाट सञ्चालित कोभिड नियन्त्रणका अत्यन्त उपयोगी कार्यक्रम समेत असफल हुने अवस्था सिर्जना भएको छ। कोभिड–१९ बारे समाजमा फिँजाइएका केही तथ्यहीन भ्रम र यथार्थका बारेमा यहाँ चर्चा गरिएको छ।

भ्रम १. कोभिड–१९ सामान्य रुघाखोकी गराउने भाइरस हो।
कोभिड–१९ जसको वैज्ञानिक नाम सार्स कोभ–२ हो। यो कोभिड समूहको बिल्कुलै नयाँ भाइरस हो र यसको संक्रमणले धेरैमा लक्षण नदेखिने, केही व्यक्तिमा सामान्य लक्षण देखिने र केही प्रतिशत संक्रमितमा अत्यन्त गम्भीर स्वास्थ्य समस्या आई ज्यान जानसक्ने हुन्छ। 

भ्रम २. कोभिड–१९ स्वास्थ्यका ठेकेदारहरुले चलाएको अतिरञ्जित प्रोपगान्डा हो, यो रोग एक्लैले बिरामीको ज्यान जाँदैन, जो मरेका छन् उनीहरुको मृत्यूको कारण पहिलेदेखि नै विद्यमान अन्य बिमारी हो।
यो भ्रम आज अत्यन्त गहिरो जरा गाडेर हाम्रो सामु तेर्सिएको छ। पढेलेखेका शिक्षित वर्ग समेतलाई यो भ्रमले नराम्रोसँग गाँजेको छ। डब्लुएचओ तथा सिडिसीको तथ्यांकलाई तोडमोड गर्दै र हुँदै नभएका  विभिन्न राष्ट्रको मनगढन्ते तथ्यांकहरु देखाउँदै तिनै स्वघोषित विद्वत वर्गले जनमानसमा गलत छाप छोड्न सफल भएका छन्। माथिको भनाइमा आंशिक सत्यता के छ भने कोभिड–१९ का बिरामीहरुमा अन्य रोगको समेत पहिलेदेखि नै उपस्थिति छ भने मर्ने दर बढी हुन्छ । तर पूर्ण सत्यता के हो भने अन्य रोग नभएकाको पनि कोभिड–१९ ले मृत्यु हुनसक्छ र भइरहेको छ।

सिडिसीको केही समयअघिको तथ्यांकमा कोभिड–१९ बाट मृत्यु हुनेको ६ प्रतिशत रहेको भनिएको तथ्यांकलाई बाँकी ९४ प्रतिशत अन्य रोगले मृत्यु भएको हो भनी सामाजिक सञ्जालमा ठूलो बितण्डा मच्चाइयो। बांकी ९४ प्रतिशत मानिस मर्नुमा कोभिड–१९ को कुनै भूमिका छैन भन्ने सोच्नू ठूलो भूल हो।

कोभिड–१९ ले अन्य रोग भएका व्यक्तिमा जटिलता बढाउन सक्छ र अकालमा मृत्युवरण गर्न बाध्य बनाउन सक्छ। विश्व श्वास्थ्य संगठनले सुरुका दिनदेखि नै भन्दै आइरहेको कुरा पनि यही हो कि वृद्ध, दीर्घरोगी तथा रोग प्रतिरक्षा शक्ति कमजोर भएकाहरुमा कोभिड–१९ को मृत्युदर धेरै हुन्छ। यहाँनेर बुझ्नूपर्ने तथ्य के हो भने ती दीर्घरोगी, मुटु, फोक्सो तथा मिर्गौलाका बिमारीहरु जो कोभिड–१९ संक्रमण सहित मृत्युवरण गरे यदि उनीहरुलाई कोभिड–१९ संक्रमण नभएको भए तत्काल मर्ने थिएनन्  र सायद आजको मितिमा जीवित नै हुने थिए। त्यसकारण यो अतिरञ्जित प्रोपगान्डा होइन, समस्त मानवजगतमा ठूलो जनश्वास्थ्य समस्याको रुपमा ठडिएको विकराल समस्या हो। 

भ्रम ३. इतिहासमा माहामारीले लाखौं मानिस मर्दा समेत लकडाउन गरिएन, अहिले कुनै वर्गको फाइदाको लागि लकडाउन गरिँदैछ। आज पनि कैयौं देशले लकडाउन नगरिकनै कोभिडलाई जितेका छन्।

सताब्दियौं पहिले जतिखेर लाखौं मानिस सरुवा रोगको शिकार भएर मर्ने गर्थे, आजको जस्तो जनसांख्यिक गतिशीलता थिएन, एक भौगोलिक परिवेशको मानिस अर्को स्थानमा पुग्न महिनौं लाग्थ्यो। जनघनत्व कम थियो त्यसैले त्यतिबेला आजको जस्तो लकडाउन गर्नु परेन। यो भाइरस एक ब्यक्तिबाट अर्को ब्यक्तिमा असाध्यै सजिलै थुकको छिटाबाट सर्ने र वातावरणमा समेत लामो समयसम्म जीवित रहने हुनाले कमसेकम संक्रमणको उच्चबिन्दु रहुन्जेल भीडभाड कम होस भनेर जनहितको लागि नै राज्यद्वारा अख्तियार गरिएको अत्यन्त प्रभावकारी रणनीति हो। भलै यस रणनीतिले आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा धेरै नै अप्ठ्यारो स्थिति सिर्जना गरेको छ, कूनै व्यक्ति वा समूहलाई फाइदा गरेको छ भन्नु तथ्यहिन तर्क हो।

सामाजिक सञ्जालमा अफवाह फैलाइएको जस्तो धेरै देशले लकडाउनको रणनीति नअपनाएको भन्ने आरोप निराधार हो तर सत्य के हो भने अहिलेको समयमा लकडाउनमात्र निर्विकल्प रणनीति होइन भन्दै धेरै देशहरुले विस्तारै यो रणनीतिको अन्त्य गर्दै आइरहेका छन्। हाम्रो जस्तो वैचारिक खडेरी भएको देश जहाँ लकडाउनमा समेत आर्मी–पुलिसको आँखा छलेर लखरलखर बिना मास्क बिना काम डुलिन्छ, भोज भत्तेर र सांस्कृतिक कार्यक्रमको आह्वान गरी भीडभाड गरिन्छ। विकसित देशका अनुशासित जनता जो जनस्वास्थ्यको हरेक नियमलाई हुबहु पालन गर्छन्, उनीहरुसँग तुलना गर्नु मुर्खता मात्र हुनेछ। 

भ्रम ४. डब्लुएचओले संत्रास बाँड्ने सिवाय अरु केही गर्दैन र गरेको छैन।

डब्लुएचओ विश्वभरका राष्ट्रहरुको स्वास्थ्यको समन्वयकर्ताको सफल भूमिका निर्वाह गर्दै आइरहेको संयूक्त राष्ट्रसंघ अन्तर्गत रहेको नाफारहित छाता संगठन हो। राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरमा डब्लुएचओले दिएको योगदान केही परिच्छेदमा ब्याख्या गरेर सकिँदैन। याद रहोस, डब्लुएचओकै नेतृत्वमा आज विश्वबाट बिफर रोगको नामोनिसान मेटिएको छ, जुन रोगले पचास करोड व्यक्तिले अकालमा जीवन गुमाउनुपरेको थियो। आज हामी पोलियो रोग उन्मुलनको लगभग अन्तिम घडीमा छौं जुन १९८० को दशकमा वार्षिक ३ लाख पचास हजार अपांगताको कारक थियो। साना ठूला हरेक महामारी नियन्त्रणमा डब्लएचओले अगुवाइको भूमिका निभाउँदै आएको छ।

भ्रम ५. कोभिड–१९ को बहानामा हस्पिटलहरु मिर्गौला तथा अन्य अंगको तस्करी गर्दैछन्।
यो भ्रम भन्दा पनि नैतिकता हराएका अल्पबुद्धि वर्गले फैलाएको अफवाह हो जो आफू कोठाको चारदिवार भित्र बसेर रातदिन अग्रपंक्तिमा रहेर कोभिड–१९ सँग भिडिरहेका स्वास्थ्यका खम्बाहरुको मनोबल गिराउँदै युट्यूब लगायतका सामाजिक सञ्जालमा बकम्फुसे ज्ञान बाँडिरहेका छन्। 

यी र यस्तै कैयौं भ्रम तथा अफवाह आजको दिनमा हाम्रो समाजमा व्याप्त छन्। आफ्नो व्यक्तिगत लोकप्रियता कमाउनको लागि तथ्यहीन र अत्यन्तै घृणित लेभलमा प्रस्तुत हुने यस्ता समाजका किराहरुसँग सतर्क भई सुरक्षाका सम्पूर्ण विधि हुबहु पालना गर्नु नै आजको अपरिहार्यता हो।

तपाईं–हाम्रो सामूहिक प्रयासले मात्र कोभिड नियन्त्रणका प्रयासहरु सफल हुनेछन्। जब देशका एकएक जनताले आ–आफ्नो स्थानबाट सहयोग गर्ने छन्, तब मात्र कोभिड–१९ रहित सामान्य जीवनमा हामी फर्कन सक्ने छौं।  स्रोत स्वास्थ्य खवर

(डा अधिकारी चितवन मेडिकल कलेजका सहप्राध्यापक हुन्।)


प्रकाशित | २५ भाद्र २०७७, बिहीबार १२:४०