बहराइनमा नेपालीको अवस्था र सरकारले चाल्नुपर्ने कदम

लक्ष्मी गिरी, अध्यक्ष -एनआरएनए बहराइन

कोरोनाले विश्वब्यापी महामारीको रुप लिएसँगै बहराइन पनि त्यसबाट अछुतो रहन सकेको छैन । यहाँ पनि कोरोना महामारी फैलने क्रम जारी छ । पछिल्लो तथ्यांक अनुसार कोरोना संक्रमीतको संख्या एक हजार नाघीसकेको छ । जसमा ३ जनाको अवस्था चिन्ताजनक रहेको र अन्यको अवस्था सामान्य रहेको सरकारले जनाएको छ । अन्य देशको भन्दा तुलनात्मक रुपमा यहाँ भयावह स्थिती आइसकेको छैन । सरकारीस्तरबाट सक्दो पहल भएअनुसार र जनताहरुले समेत उच्च सावधानी अपनाएर सतर्कता अपनाउँदा यसले ब्यापकता नलिएको हो ।

बहराइनमा नेपालीको कुरा गर्नुपर्दा यहाँ करिव सरकारी तथ्यांकअनुसार ३० देखि ३५ हजार नेपाली हुनहुन्छ । त्यसमा केहि संख्यामा अवैधानीक रुपमा बसोबास गरिरहेका नेपाली पनि भएको पाइन्छ । त्यसमध्ये हाम्रो नेपाली समुदाय पनि कोरोनाबाट मुक्त हुन सकेको अवस्था छैन । जसमा अहिलेसम्म २२ जना नेपालीहरु पनि कोरोना संक्रमीत हुनु भएको छ । उहाँहरु सबै उपचाररत हुनुहुन्छ । नेपाली राजदूतावासका अनुसार उहाँहरुको अवस्था चिन्ताजनक नरहेको र सबैको सामान्य रहेको बुझन आएको छ ।

कोरोनाले विश्वमा पूरै महासंकट आउँदा बहराइनमा पनि त्यसको असर पर्नु स्वभावीक छ । यहाँ सरकारले लकडाउन गरेर जनतालाई घरबाहिर निस्कन पूर्ण बन्देज पनि लगाएको छैन । यहाँ लकडाउन त छ तर सेमी लकडाउन जस्तो अवस्था छ । होटल, रेष्टुरेन्टलगायत मानीसहरुको अत्याधीक भीडभाड हुने स्थलहरु सबै बन्द छन् । तर कतीपय कम्पनी, बैंक, कार्यालयहरु भने खुला छन् । जेहोस मानीसहरु आफै सचेत भएर यतिखेर कामलाई भन्दा बढी घरभित्रै बसेको अवस्था भने पक्कै छ ।

बहराइनमा रहेका नेपालीहरु पनि कतीपय कम्पनीले बिदा दिएको कारण बेतलवी बिदामा बस्नु भएको छ भने कम्पनीअनुसार भिन्न भिन्न नियम रहेको पाइएको छ । सरकारले विभिन्न वर्गमा विभाजन गरेर कम्पनी चलाउने दिने नदिने नियम लागू गरिरहेको छ । अहिलेसम्म नेपालीहरुको अवस्था सामान्य नै छ । यहाँको सरकारले समेत आफनै नागरिक सरह समान ब्यवहार गरेको छ । कोरोना विरुद्धको लडाईमा समान ब्यवहार गरेको कारण मलाई लाग्छ, अपवाद बाहेक कोही नेपालीलाई पनि खानाको समस्या छैन । कतीपय नेपालीहरु जो समस्यामा पर्नुभएको छ उहाँहरुलाई भने हामीले नेपाली राजदूतावाससँग मिलेर खानाको वन्दोवस्त गरिरहेका छौ ।

हामीले स्थानीयस्तरमा गर्नुपर्ने कोरोना सम्बन्धी जनचेतना फैलाउने कार्य गरिरहेका छौ । विशेष गरि राजदूतावाससँग समन्वय गरेर नेपालीलाई यहाँको सरकारको नियमको जानकारी गराउँदै पालना गर्न लगाउने जस्ता कार्यमा समेत विशेष ध्यान दिइरहेका छौ । साथै एनआरएनए बहराइनको तर्फबाट नेपाल सरकारको कोरोना राहत कोषमा आइसिसीमार्फत १ लाख सहयोग गरिसकेका छौ ।

अहिले यहाँको सरकारले अवैधानीक रुपमा बसोबास गरिरहेका आप्रबासीलाई फ्रि टिकट काटेर घरफीर्ता गर्ने घोषणा गरेको छ । यस अवस्थामा राजदूतावासले अवैधानीक रुपमा बसोबास गरिरहनु भएका नेपालीलाई आवेदन दिन अनुरोध गरिहेको छ । तर अहिलेसम्म कसैको पनि आवेदन नपरेको जानकारी प्राप्त भएको छ । यदी तपाई यहाँ अवैधानीक रुपमा बसोबास गरिरहनु भएको छ भने निवेदन दिएर वैधानीक बन्न समेत आग्रह गर्न चाहान्छु ।

साथै अहिले कोरोनाको कारण कतीपय नेपालीहरु बेतलवी बस्नु परिरहेको अवस्थामा घर फीर्ताको लागि समेत निवदेन दिनुभएको छ । तर नेपाल सरकारले स्वदेश फीर्ताको लागि प्रतिबन्ध लगाएको अवस्था छ । विदेशमा रहेका यीनै नेपालीले रगत पसिना बगाएर पठाएको पैसामा रमाउने सरकार अहिले दुख पर्दा स्वदेश फीर्तामा प्रतिबन्ध लगाउनु गलत छ । हो, कोरोना भाइरसले महामारी लिइरहँदा कोरोना फैलने डर छ । तर यहाँ लामो समय लकडाउन भइरहने, कामविहीन भएर बस्नुपर्ने अवस्था आयो भने यहाँका श्रमीकले के गर्ने ? सरकारले यस विषयमा गम्भिर हुन जरुरी देखिन्छ । यहाँको मात्र सवाल नभई मध्यपूर्वमा रहेका लाखौ नेपालीहरुको विषयमा सरकार गम्भिर हुनैपर्ने देखिन्छ ।

अन्तमा बहराइनलगायत विश्वभरि रहनु भएको नेपाली समुदाय तपाई जहाँ हुनुहुन्छ, सुरक्षीत भएर बस्दै आफू पनि बाँच्दै अरुलाई पनि बचाउन सहयोग गर्नुहोला भन्न चाहान्छु । बहराइनबासी नेपाली समुदायमा भने कोरोना सम्बन्धी सुरक्षा सावधानी अपनाउन र कुनै समस्या परे सम्पर्क गर्नहुन समेत अनरोध गर्न चाहान्छु । धन्यवाद ।

विश्व सन्देशका प्रधानसम्पादक किरण बुढाथोकीले गर्नुभएको कुराकानीमा आधारित


प्रकाशित | ३ बैशाख २०७७, बुधबार २३:०८