बेलायतमा कोरोना संक्रमितलाई बचाउने औषधि भेटिएको दावी

लण्डन : कोरोना भाइरस संक्रमणका कारण थलिएका बिरामीहरुलाई बचाउने एक औषधि भेटिएको छ । सस्तो र सर्वसुलभ रुपमा पहिलेदेखि नै उपलब्ध ‘डेक्सामेथासोन’ नामको औषधि प्रयोगले कोरोना भाइरस संक्रमणबाट गम्भीर बिरामीहरुलाई बचाउन सकिने तथ्य प्रमाणित भएको बताइएको छ ।

बेलायतका विज्ञहरुले यो औषधिलाई कोरोना महामारीविरुद्धको लडाईंमा अहिलेसम्मकै ठूलो उपलब्धिका रुपमा व्याख्या गरेको बीबीसीले जनाएको छ । यो औषधिको प्रयोगले सिकिस्त अवस्थामा भेन्टिलेटरमा रहेका संक्रमितहरुमा मृत्युको जोखिम एक तिहाईले कम हुने विश्वास गरिएको छ । त्यस्तै, यो औषधिले अक्सिजनको सहायता लिइरहेका संक्रमितहरुमा मृत्युको जोखिम २० प्रतिशतले कम गर्ने विश्वास छ ।

अनुसन्धानकर्ताहरुले बेलायतमा महामारी शुरु हुनुअघि नै यो औषधिको बारेमा जानकारी रहेको भए करिब ५ हजार मानिसहरु मृत्युबाट जोगिन सक्ने आँकलन गरेका छन् । सस्तो रहेका कारण धेरै कोभिड संक्रमितहरु रहेका आर्थिक हिसाबले कमजोर देशहरुको लागि पनि यो औषधि उपयोगी हुने ठानिएको छ ।

अक्सफोर्ड युनिभर्सिटीको टीमसहितको संलग्नतामा कोरोना संक्रमितको उपचारको लागि डेक्सामेथासोनको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा विभिन्न अस्पतालमा उपचाररत २ हजार संक्रमितलाई यो औषधि दिइएको थियो । उनीहरुमा परेको प्रभाव यो औषधि नलिएका अन्य ४ हजार संक्रमितसंग तुलना गरिएको थियो ।

परीक्षणका क्रममा यो औषधिले भेन्टिलेटरमा रहेका संक्रमितहरुमा २८ देखि ४० प्रतिशतले मृत्युको जोखिम कम गरेको पाइएको थियो । त्यस्तै, अक्सिजनको सहायता लिएका संक्रमितहरुमा २० देखि २५ प्रतिशतले मृत्युको जोखिम घटाएको पाइएको थियो ।

१९६० देखि नै प्रयोगमा आएको यो औषधि दम र रुमटोइड अर्थाइटिसको उपचारका लागि प्रयोग हुने गर्छ । बिरामीलाई यो औषधि नसाबाट दिने गरिन्छ । केहीलाई चक्कीको रुपमा पनि सेवन गराइन्छ ।

तर यो औषधिले कोरोना संक्रमणका सामान्य लक्षण रहेका तथा श्वासप्रश्वाससम्बनधी समस्या नरहेका संक्रमितहरुलाई भने खासै फाइदा नगर्ने बताइएको छ ।


प्रकाशित | ३ असार २०७७, बुधबार ०९:१०