ओमानका नेपाली सुरक्षीत छौ, सम्भावीत समस्याप्रति सजग हुँदै कोष खडा गरिसकेका छौ: सेवन्त पूर्जा पुन

मस्कट (ओमान ) : कोरोनाले विश्वब्यापी महामारीको रुप लिइरहँदा ओमानमा रहेका नेपाली भने सुरक्षीत रहेको पाइएको छ । त्यहाँस्थित गैर आवासीय नेपाली सोसल क्लव ओमानका अध्यक्ष सेवन्त पूर्जा पुनका अनुसार अहिलेसम्म ओमानमा रहनु हुने कोही पनि नेपाली कोरोना संक्रमीत भएको जानकारी छैन ।

नेपालमा रहनुहुने आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरुमा नआत्तिन आग्रह गर्दै ओमानमा रहेका सबै नेपाली सुरक्षीत रहेको अध्यक्ष पुनले जानकारी गराउनुभयो । अध्यक्ष पुनले आगामी दिनमा आइपर्ने सम्भावीत समस्याप्रति सजग हुँदै कोष संकलन गर्ने कार्यलाई पनि तीब्रता दिइरहेको बताउनुभयो ।

नेपाली राजदूतावासले कुनै समस्या परे सम्पर्क गर्न आग्रह गरिरहेको बताउँँदै अध्यक्ष पुनले अहिलेसम्म ओमानमा नेपालीले खाना नपाएको, अप्ठ्यारो स्थिती नरहेको बताउनुभयो ।

‘भोलीका दिनमा के हुन्छ भन्न नसकिने भए पनि अहिलेसम्म सुरक्षीत छौ’,अध्यक्ष पुनले भन्नुभयो, ‘आगामी दिनमा आइपर्न सक्ने सम्भावीत समस्यालाई भने मध्यनजर गर्दै कोष खडा गरेर राहत संकलन गरिरहेका छौ ।’

त्यस्तै, अध्यक्ष पुनले सबै ओमानबासी नेपालीमा सुरक्षीत भएर बस्न, आवश्यक सावधानी अपनाउन र कुनै समस्या भए सम्पर्क गर्न समेत अपिल गर्नुभएको छ । नेपालीको दुख, सुखमा सोसल क्लव सधै सहयोगी रहेको भन्दै कुनै समस्या भए अप्ठ्यारो नमानी सम्पर्क गर्न अपिल गर्नुभयो ।

साथै, अध्यक्ष पुनले क्लवले राहत संकलन गर्ने कार्य गरिरहेकाले सकेको आवश्यक सहयोग गरि आगामी दिनमा आउँन सक्ने समस्याप्रति सजग भएर बस्नुपर्ने  खाँचो समेत औल्याउनुभयो ।

‘तपाईले आफनो ठाउँबाट जती सक्नुहुन्छ, सहयोग गर्नुस, भोलीका दिनमा यो समस्या तपाई हामी जसलाई पनि पर्न सक्छ, त्यसैले पूर्वतयारी भएर बस्न र कोषलाई बलियो बनाउन तपाईको सानो सहयोग पनि ठूलो सहयोग हुनसक्छ’, अध्यक्ष पुनले भन्नुभएको छ ।


प्रकाशित | २९ चैत्र २०७६, शनिबार १२:५६