कोभिड-१९ : मधुमेहका बिरामीलाई कति खतरा ?

डा अनिल यादव

मधुमेह के हो ?
शरीरमा ऊर्जा उत्पादनको लागि ग्लुकोज अति आवश्यक हुन्छ। ग्लुकोज शरीरको कोषभित्र छिर्न इन्सुलिन हार्मोनले सहयोग गर्छ। जब शरीरमा इन्सुलिन हार्मोन उत्पादन रगतमा पर्याप्त हुँदैन वा इन्सुलिन पर्याप्त हुँदा पनि काम गर्न छोड्छ, जसले गर्दा शरीरमा चिनीको मात्रा अत्यधिक बढेर जान्छ। त्यसलाई नै मधुमेह भनिन्छ।

नेपालमा मधुमेह रोगी धेरै छन् जसमध्ये धेरै जनामा सुगरको मात्रा लक्ष्यभन्दा धेरै बढी छ।

डब्लुएचओका अनुसार कसलाई कोभिड-१९ को जोखिम?
•    मधुमेह
•    उच्च रक्तचाप
•    हृदय रोग
•    क्यान्सर
•    वृद्ध व्यक्ति

इटली र चीनमा गरिएको अध्ययन अनुसार धूमपान सेवन गर्ने व्यक्ति, उचाइअनुसार तौल बढी भएको व्यक्ति, पुरुष कोभिड-१९ को उच्च जोखिममा रहेको देखिन्छ।

मधुमेहका बिरामी कोभिड-१९ को जोखिममा किन छन्?
मुटुरोग र मधुमेह लागेका कोभिड-१९ संक्रमितहरुमा अस्पताल भर्ना हुने सम्भावना ६ गुणा र मृत्यु हुने सम्भावना १२ गुणा बढी हुन्छ। नेपालमा पनि कोभिड-१९ संक्रमितहरुको संख्या सँगसँगै मृत्यु हुने संख्या बढ्दै गइरहेको छ। उपलब्ध तथ्याङ्क अनुसार नेपालमा पनि मुटुरोग र मधुमेह लागेका कोभिड-१९ संक्रमितहरुमा मृत्यु दर बढी रहेको छ।

मधुमेह बिरामीहरुमा प्रतिरोधात्मक क्षमता कम हुन्छ, जसले उनीहरुलाई संक्रमणको लागि अत्यधिक संवेदनशील बनाउँछ। त्यसैले कुनै जिवाणुसँग लड्ने क्षमता कम हुन्छ। साथै मधुमेह बिरामीहरुमा मिर्गौलाको जटिलता,  हृदयरोग र अन्य रोगहरु पनि हुन्छ। त्यसैले मधुमेह बिरामी कोरोना भाइरसबाट संक्रमित हुने सम्भावना उच्च हुन्छ। नेपालको अधिकांश जनसंख्या मधुमेहको स्वयं व्यवस्थापन शिक्षाबाट बन्चित छ। त्यसैले वर्तमान अवस्थामा मधुमेहका बिरामीले बढी सचेत हुनुपर्छ।

के मधुमेह बिरामीमा कोभिड-१९ को जटिलता बढी हुन्छ?
मधुमेह बिरामीमा कोभिड-१९ का जटिलता बढी हुन्छ। उनीहरुमा जिवाणुसँग लड्ने क्षमता कम हुन्छ। यदि शरीरमा चिनीको मात्रा नियन्त्रण गरिएन भने मधुमेहसम्बन्धी जटिलता हुनसक्छ। मधुमेहका साथै हृदय रोग र अन्य जटिलता भएमा मधुमेह रोगीहरुमा कोभिड-१९ को गम्भीर अवस्था देखिन सक्छ।

कोभिड-१९ बाट बच्ने उपाय के हो?
•    हातलाई पटकपटक साबुनपानी वा स्यानिटाइजरले कम्तीमा २० सेकेन्डसम्म धुने गर्नुहोस।
•    हात नधोई आँखा , नाक र मुख छुने नगर्नुहोस।
•    घरको सतह तथा बारम्बार छुने सामानहरु किटनाशक प्रयोग गरी नियमित सफा गर्नुहोस।
•    खोक्दा वा हाच्छ्युँ गर्दा टिस्युको प्रयोग गर्नुहोस वा पाखुराले छेक्नुहोस।
•    टिस्यु प्रयोग गरेपछि ढकन सहितको डस्टबिनमा फाल्नुहोस र हात धुनुहोस।
•    हात नमिलाउनुहोस, नमस्कार गर्नुहोस।
•    घरमा बस्नुहोस, समाजिक दूरी (कम्तीमा ३ फिट) कायम गर्नुहोस।
•    सरकारद्वारा जारी निर्देशनहरुको पालन गर्नुहोस।
•    सही सूचना दिने माध्यमबाट सूचना लिनुहोस र गलत सूचनाबाट बच्नुहोस।

कोभिड-१९ बाट बच्न मधुमेह बिरामीले विशेष के कुरामा ध्यान दिनुपर्छ? 
•    आवश्यक परेमा सम्पर्क गर्नुपर्ने नजिकको चिकित्सक, एम्बुलेन्स र आफन्तको सम्पर्क विवरण अध्यावधिक गरेर राख्नुहोस।
•    मधुमेह नियन्त्रणको लागि खाइरहेको ‍औषधि नछुटाई नियमित सेवन गर्नुहोस।
•    रगतमा चिनीको मात्रा कम वा बढी भएर हुने जटिलताबाट बच्न नियमित रुपमा चिनीको जाँच गराउनुहोस।
•    होम क्वारेन्टाइनमा बस्न आवश्यक पर्ने मधुमेह नियन्त्रणको लागि खाइरहेको ‍औषधि पर्याप्त मात्रामा आफूसँग राख्नुहोस्।
•    आवश्यक खानेकुराको आपूर्तिको सुनिश्चितता गर्नुहोस।
•    रगतमा चिनीको मात्रा कम भएमा त्यसको व्यवस्थापन गर्नसक्ने गरी तयारी गर्नुहोस।
•    यदि एक्लै बस्नुहुन्छ भने तपाईंलाई बिरामी परेको बेला सहयोग गर्नसक्ने विश्वासिलो व्यक्तिलाई मधुमेह भएको जानकारी गराइराख्नुहोस।
•    तालिका बनाई सोही अनुसार नियमित रुपमा खानपिन तथा अराम गर्नहोस। 
•    अत्यधिक कडा काम नगर्नुहोस् र कम्तीमा राति ८ घन्टा सुत्नुहोस।
•    यदि तपाईंलाई फ्लु जस्तो लक्षण (ज्वरो, खोकी, श्वास फेर्न गाह्रो) देखिएमा चिकित्सकसँग परामर्श लिनुहोस्।
•    चिनीरहित पानी प्रशस्त सेवन गर्नुहोस् (प्रति घन्टा १०० मिलि पानी र प्रतिदिन कम्तीमा २.५ लि पानी )

स्वास्थ्य पोषण
•    चिनी कम हुने खाना (तरकारी, फलफूल, गहुँ/पास्ता/नुडल्स) बढी प्राथमिकता दिनुहोस।
•    दिनमा कम्तीमा २.५ लि पानी पिउनुहोस्।
•    तारेको/भुटेको खानेकुरा अत्यधिक सेवन नगर्नुहोस्।
•    चिनी, कार्बोहाइड्रेड र बोसो बढी पाइने खाद्य पदार्थको सेवन सीमित मात्रामा मात्र गर्नुहोस।
•     प्रोटिन पाइने खानेकुरा (राम्ररी पकाएको माछा, मासु, अन्डा, दूध, गेडागुडी अत्यधिक सेवन गर्नुहोस।
•    हरियो सागपात प्रशस्त खाने गर्नुहोस।
•    फलफूल दैनिक खाने गर्नुहोस।
•    धूमपान तथा मद्यपान सेवन नगर्नुहोस।

व्ययाम
कोभिड-१९ महामारीका कारण सबै जना होम क्वारेन्टनइनमा रहेको अवस्थामा समान्य व्यक्ति तथा मधुमेह रोगीले नियमित शारीरिक व्यायाम गर्नु लाभदायक हुन्छ।

होम क्वारेन्टनइनमा हुँदा गर्नुपर्ने व्यायाम
•    कम्तीमा ६ तल्ला बराबरको सिंढीमा ८ चोटी तलमाथि हिँड्नुहोस।
•    स्किपिङ्ग, पुसअप, फ्लांक गर्नुहोस।
•    कम तौल भएका घरेलु सामानहरु जस्तो: पानी भरिएको बाल्टिन तथा बोतल  आदि प्रयोग गर्नुहोस।

मधुमेहका बिरामीमा कोभिड-१९ का शंकास्पद लक्षण देखिएमा चिकित्सकलाई जानकारी गराउनुपर्ने कुरा
•    कोभिड-१९ का शंकास्पद लक्षण (ज्वरो १००.४०F आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने)
•    सुगरको मात्रा 
•    दैनिक पिउने पानीको मात्रा
•    अहिले खाइरहेको औषधिको नाम र मात्रा

स्रोत – स्वास्थ्य खवर

(डा यादव मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ हुन्।)


प्रकाशित | १५ भाद्र २०७७, सोमबार १०:३९