आठौं राष्ट्रिय खेलकुद : लन टेनिस प्रतियोगितामा एपीएफलाई चार स्वर्ण

बुटवल : आठौं राष्ट्रिय खेलकुदअन्तर्गत लन टेनिस प्रतियोगितामा एपीएफ क्लबले चार स्वर्ण पदक हात पारेको छ । बुटवलमा सम्पन्न प्रतियोगितामा लन टेनिस कम्प्लेक्समा भएको खेलमा कुल पाँचवटा इभेन्टमध्ये सशस्त्र प्रहरीको एपीएफले चार इभेन्टमा स्वर्ण पदक हात पारेको हो । महिला एकलमा सशस्त्रकी प्रेरणा कोइरालाले जितीन भने पुरुष युगलमा सशस्त्रका जितेन्द्र परियार र आइभन्हो लिसानोभिचको जोडीले, महिला युगलमा सलोनी तामाङ र अष्लेसा लिसानोभिचको जोडीले स्वर्ण पदक जिते ।

मिश्रित युगलमा पनि सशस्त्रकै आइभन्हो लिसानोभिच र अष्लेसा लिसानोभिचले स्वर्ण पदक जितेका छन्। पाँच स्वर्णमध्ये एक स्वर्ण पदक भने पुरुष एकलतर्फ एनआरएनए टिमका संरक्षण भुषण बज्राचार्यले जितेका छन्। महिला युगलमा एपीएफकै प्रेरणा कोइराला र एनी माथेमाले रजत पदक जिते भने गण्डकी प्रदेशकी श्रेया भट्टराई र रोमिका बुद्धाचार्य तथा नेपाली सेनाका अभिलाषा विष्ट र आइरा एम रावतले कास्य पदक जितेका छन्। मिश्रित युगलमा नेपाली सेनाका प्रणव खनाल र अभिलाषा विष्टले रजत पदक, गण्डकी प्रदेशका अनिल शाही र गंगा शर्मा तथा नेपाली सेनाका अभिनव आचार्य र आइराएम रावतले कास्य पदक जितेका छन्।

पुरुष युगलमा गण्डकी प्रदेशका प्रदीप खड्का र नवीन मगरले रजत तथा गण्डकी प्रदेशकै धरम लामिछाने र अनिल शाही एवं एपीएफका छेवाङ लामा र सन्तोष खत्रीले कास्य पदक जितेका छन्। पुरुष एकलमा नेपाली सेनाका प्रणव खनालले रजत तथा एपीएफका सन्तोष खत्री र गण्डकी प्रदेशका प्रदीप खड्काले कास्य पदक जितेका छन्। महिला एकलमा नेपाली सेनाका अभिलाषा विष्टले रजत तथा नेपाली सेनाकै आइरा एम रावत र प्रदेश ३ कि रायना शाहले कास्य पदक जितेका छन्।


प्रकाशित | २ बैशाख २०७६, सोमबार १५:१९