कोरोना महामारी बारे एनआरएनए स्वास्थ्य समिति संयोजक डा. सञ्जिव सापकोटाको सन्देश

डा.सञ्जिव सापकोटा, संयोजक, एनआरएनए स्वास्थ्य समिति

कोरोनाले विश्वब्यापी महामारीको रुप लिइरहेको अवस्थामा विश्वभरि बसोबास गर्नुहुने गैर आवासीय नेपाली समुदायमा सर्वप्रथम तपाई जहाँ हुनुहुन्छ, सुरक्षीत भएर बस्न हुन हार्दिक अपिल गर्न चाहान्छु ।

गैर आवासीय नेपाली संघले कोरोना भाइरसको महामारी फैलिएसँगै विश्वभर कोरोना सम्बन्धी सचेतना जगाउने कार्य गरिरहेको यहाँहरुमा अवगत नै छ । यस विपत्तिमा एनआरएनए स्वास्थ्य समितिले सकेको आफनो ठाउँबाट गर्नुपर्ने कुनै पनि कसुर बाँकि राखेको छैन । हामीले गर्नुपर्ने र गर्न सक्ने सबै किमिसमका कार्यहरु भइरहेको छ । विशेषत स्वास्थ्य समितिले विश्वभरिका चिकित्सकहरुको अनुभव शेयर गराउने कार्यमा निकै सक्रियतासाथ काम गरिरहेको छ ।

अहिले हामी जुन ठाउँमा छौ, त्यही ठाउँमा बसेर कसरी सुरक्षीत भएर बस्ने र आफू पनि बाँच्दै अरुलाई पनि बचाउन सहयोग गर्ने भन्ने विषयमा बढी केन्द्रित हुनुपर्ने छ । यतिबेला सकेसम्म सकारात्मक समाचारहरु पढ्ने, भरपर्दो सूचनालाई मात्र विश्वास गर्ने, सत्य तथ्यमा आधारित समाचार पोर्टललाई मात्र विश्वास गर्ने, कोरोना सम्बन्धी भ्रमबाट टाढौं बस्नु सबैभन्दा बुद्धिमानी हुनेछ । धेरैभन्दा धेरै नकारात्मक कुरामा अल्झिदा त्यसले पार्ने असर झनै खतरनाक भएकाले यी कुराहरुमा विशेष ध्यान दिनु हुन सबैमा हार्दिक अनुरोध गर्न चाहान्छु ।

हामी निरन्तर रुपमा आइसिसी देखि एनसिसी सम्म कोरोना सम्बन्धी सचेतना फैलाउने र यसले पारेको मनोबैज्ञानीक क्रासलाई कम गराउन प्रयासरत छौ । यहाँहरुमा पनि कुनै समस्या परेमा हामीलाई सम्पर्क गर्न हामीले विश्वभरिको हाम्रो सञ्जालमार्फत पहल गरिरहेका छौ ।

कोरोनाको महामारी बढिरहँदा अबको दुईदेखि तीन हप्ता हाम्रो लागि निकै चुनौतीपूर्ण रहने देखिन्छ । विश्वभरि नै अबको तीन हप्तासम्म निकै सचेत हुनुपर्ने अवस्था छ । अबको समयमा हिजोको भन्दा १० गुण बढी सतर्कता अपनाउन आवश्यक देखिएको छ । पहिला संक्रमीत विरामी कम थिए, अहिले संक्रमीत विरामी धेरै भएको तर थाहा नभएको र पहिला अनुमान गरिएभन्दा सजिलै सर्ने सम्भावना बढेको छ ।

बाहिर संक्रमण भएको तर थाहा भइनसकेको ब्यक्तीहरुबाट स्वस्थ ब्यक्तीहरुमा सर्न सक्ने सम्भावना धेरै भएको पाइएको छ । यो रोगको विषयमा सबैलाई जानकारी हुँदा हुँदै पनि हेलचेक्रर्याईको कारण सर्ने क्रम बढेको छ । तर अबको तीन हप्तासम्म कोरोनाको आँधी नै भएकाले उच्च सावधानी अपनाउन र सचेत हुन म सबैमा विनम्र अनुरोध गर्न चाहान्छु । ।

अबको दुई देखि तीन हप्ता वा अझ बढी सम्भवतः कोरोना इन्फेक्सनको कडा आँधी आउँन सक्ने अनुमान गरिएको छ । विशेष गरी जहाँ पहिले नै धेरै संख्यामा पुष्टि भएका घटनाहरू छन् ती देशमा बसोबास गर्नुहुनेले अझ बढी सतर्कता अपनाउनुपर्नेछ ।  जस्तो संयुक्त राज्य अमेरिका, स्पेन, इटाली, चीन, इरान, यूकेमा बसोबास गर्नुहुने सबैले यी कुरामा अझ बढी ध्यान दिनुपर्ने देखिन्छ ।

अमेरिकामा वर्तमान केन्द्रबिन्दु न्यूयोर्क, न्यूजर्सी, डेट्रोइट, शिकागो, एट्लान्टा हो। तर संक्रमण वरपरका क्षेत्रहरूमा सर्दै गइरहेको देखिन्छ। यस क्षेत्रमा सामाजिक दूरीको अभ्यास कम भएको हो कि भन्ने आभास भइरहेको छ । किनकी यस्तो जटिल परिस्थितीमा पनि काममा जाने संख्या धेरै पाइएको छ । तर घरबाहिर निस्कने, सामाजीक दुरी कायम नगर्ने जस्ता कारणले रोग फैलने सम्भावना बढी नै छ । त्यसैले सम्पूर्ण अमेरिकाबासीमा के अपिल गर्न चाहान्छु भने कम्तिमा तीन हप्तासम्म काममा नगई घरभित्रै बसिदिनु होला र आवश्यक सुरक्षा सावधानी अपनाउनुहोला ।

यो बेला बाहिर जाँदा कमसेकम मुख र नाक कभर गर्न आवश्यक छ । चिन्ता नगर्नुहोस्, यदि तपाईसँग सर्जिकल मास्क वा परिष्कृत मास्क छैन भने पनि मुख, नाकलाई कभर गर्न तपाईंले फेला पार्नुहुने कुनै कपडा प्रयोग गर्न सक्नुहुन्छ जसले तपाईलाई कोरोना सक्रमण हुनबाट बचाउन सक्छ । सकभर बाहिर ननिस्कने यदी निस्कनु पर्ने अवस्था आएमा पनि सामाजीक दूरी कायम गर्दै कम्तिमा मास्क नै नभए पनि मुख, नाकलाई कपडाले भएपनि छोप्नुहोला । किनकी त्यसले पनि केहि हदसम्म कोरोना संक्रमण हुनबाट जोगाउन सकिन्छ ।

यो बेला सबैले मिलेर सहयोग गर्दै महामारीलाई सुस्त बनाउन र रोक्नको लागि लागिपर्न समेत सबैमा पुन आग्रह गर्न चाहान्छु । यतिखेर सामूहिक सहयोगको भावनाले कमजोर ब्यक्तीहरुलाई सक्ने ब्यक्तीले सहयोग गरौ । आफू पनि बचौं, अरुलाई पनि बचाउन सहयोग गरौ, आवश्यक सावधानी अपनाऔ। धन्यवाद ।


प्रकाशित | २६ चैत्र २०७६, बुधबार २०:२६