एनआरएनए अस्ट्रेलियाले गरेको सराहनीय कार्यप्रति अध्यक्ष कुमार पन्तद्धारा खुलेर प्रशंसा

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अस्ट्रेलियाले गरेको सराहनीय र उल्लेखनीय कार्यको आइसिसी अध्यक्ष कुमार पन्तले खुलेर प्रशंसा गर्नुभएको छ । अध्यक्ष पन्तले विभिन्न एनसिसीहरुले आ-आफनो ठाउँबाट सक्दो योगदान गरिरहेको बताउँदै एनआरएनए अस्ट्रेलियाले विपत्तिको बेलामा अस्ट्रेलियाबासी नेपाली समुदायप्रति गरेको सहयोगको खुलेर प्रशसा गर्नुभएको हो ।

अध्यक्ष पन्तले अस्ट्रेलियाले दूतावास संरक्षक, संघका अध्यक्ष संयोजक, १५ वटा स्थानीय संघसंस्था उपसंयोजक तथा अन्य १५० संघसंस्था सदस्य रहेको एक राहत समिति निर्माण गरेको, सहयोगका लागि अनलाइन फर्मको निर्माण गरेको, अहिलेसम्म ८०० जनाको सहयोगका निम्ति आवेदन संकलन गरिसकेको यीमध्ये २०० जनालाई प्रतिव्यक्ति ४० डलरका दरले एक हप्तालाई पुग्ने खाना आपूर्ति भइसकेको जानकारी गराउनुभएको छ ।

साथै अन्यलाई पनि समेटिँदै अस्ट्रेलियाले २० हजार डलरको राहत कोष स्थापना गरेको, थप २० हजार डलर थप्न लागेको र नेपालमा पीपीई लगायत अत्यावश्यक सामग्री पठाउन रु ५ लाख अन्तर्राष्ट्रिय समन्वय परिषदमा योगदान गरेको अध्यक्ष पन्तले जानकारी गराउनुभयो ।

‘यो संकटपूर्ण घडीमा आफै जोखिम मोलेर सहायताका लागि जुट्ने र अन्य प्रकारको योगदान गर्ने सम्पूर्णप्रति आभार छु । यो सक्रियता जस्तोसुकै विपदमा पनि कमी आउने छैन भन्ने विश्वास छ’, अध्यक्ष पन्तले भन्नुभएको छ ।


प्रकाशित | २२ चैत्र २०७६, शनिबार १५:३२