सवारी साधनमा जोर बिजोर लागू गर्ने निर्णय फीर्ता लिन यातायात व्यवसायीको माग

काठमाडौं– यातायात व्यवसायीहरुले सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारी निर्णयको विरोध जनाएका छन् । ब्यवसायीले जोर बिजोर प्रणालीको विरोध गर्दै निर्णय फीर्ता लिन माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरुसँग सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने सम्बन्धमा आयोजना गरेको छलफल कार्यक्रममा उनीहरुले जोर बिजोर प्रणाली लागू नगर्न माग गरेका हुन ।

व्यवसायीहरुले सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण नहुने भन्दै सवारी साधन कम चलेमा यातायातका साधनमा उल्टै यात्रुहरुको भीड हुने बताए । साथै सरकारले गरेको निर्णय आफूहरुले मान्ने पनि यसले कोरोना नियन्त्रण भने हुन नसक्ने उनीहरुको जिकिर छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेर कोरोना नियन्त्रण नहुने बताउनु भयो । उहाँले यो प्रणाली प्रभावकारी नहुने भन्दै निजी सवारी साधनलाई पनि रोक्नुपर्ने बताउनु भयो ।

जोर बिजोरमा चल्दा सवारी साधन कम चल्ने र यात्रुको भीड बढ्ने सिटौलाको भनाइ छ ।


प्रकाशित | ७ माघ २०७८, शुक्रबार १५:१६