न्युयोर्कमा कोरोना संक्रमित मोक्तान भन्नुहुन्छ- ‘सुरुमा बाँच्दिन जस्तो लाग्यो तर जितेरै छाडें’

– शम्भु मोक्तान

सुरुमा मलाई टाउको दुख्ने र पाखुरा दुख्ने लगायतका लक्षण देखिए । बाहिर प्रचारमा आएकाजस्ता लक्षणहरु मलाई देखिएको थिएन । कोरोना भाइरस संक्रमणको प्रारम्भिक लक्षण व्यक्ति अनुसार फरक पर्ने रहेछ । बाहिर सुनिने गरेको जस्तो लक्षण नदेखिएकाले मैले टाइलोनोल, पेन किलर जस्ता औषधी खाएर आठ नौ दिन बिताएँ । तर मलाई निको भएन । बरु स्वासप्रश्वासमा समस्या आयो ।

स्वासप्रश्सावसमा समस्या आएपछि म अस्पताल गएको हुँ । त्यसैले अहिले रुघाखोकी लाग्दैमा र जिउ दुख्दैमा कोरोना संक्रमण भयो भनेर नआत्तिनुहोला । तर स्वासप्रश्वासमा समस्या आउन थाल्यो भने चाँही ढिलो गर्न नहुने रहेछ । स्वासप्रश्वासमा समस्या आएमा जतिसक्दो छिटो अस्पताल जानुहोला ।

हामीले सुरुमा नै राम्रो अस्पताल छान्ने निर्णय गरेका थियौं । हामीले न्युयोर्कको लङ आइल्याण्डमा रहेको जुइस अस्पताल छान्यौं । यो अस्पताल घरबाट नजिक पनि पर्ने भएकोले हामीले त्यहाँ जाने निर्णय गरेका थियौं । त्यसैले म उक्त अस्पालको इमर्जेन्सीमा गएँ ।

अस्पतालमा जाँदा सुरुमा नै अस्पतालले परिवारका अन्य सदस्यहरु बिरामी भए नभएकोबारे पनि सोधको थियो । परिवारमा कोही पनि बिरामी नभएकाले टेस्ट गर्नुपर्ने कुरा उठाइएन ।

उक्त अस्पतालमा कुनै कमजोरी देखिएन । भनेको समयमा डाक्टर र नर्सहरु आउने गरेको देखियो । भनेको समयमा खानापिना, तातोपानी उपलब्ध गराउनेदेखि बिरामीको हेरचाह गर्नेमा कुनै समस्या देखिएन । म इमर्जेन्सीमा गएपछि मलाई अलग्गै राखेर उपचार सुरु गरिएको थियो ।

सुरुमा मलाई नाकमा स्वाब हालेर चेक गरियो । डाक्टरहरुले दुईदिनमा रिपोर्ट आउने बताए । सुरुमा डाक्टरहरुले परीक्षणका लागि स्वाबको नमुना लिएपछि घरजानसक्ने बताएका थिए । उनीहरुले परीक्षणको नतिजा फोन, इमेल वा टेक्सबाट बताउने उल्लेख गरेका थिए । तर एकैछिनमा अरु परीक्षण पनि गरेपछि मलाई निमोनिया देखिएकाले घर पठाउन नमिल्ने बताइयो ।

बेलुका मलाई स्वासप्रश्वासमा अझै मुस्किल भयो । त्यसपछि मलाई अक्सिजन दिएर भेन्टिलेटरमा राखियो । शरिर दुखेको बेला पेनिकिलर दिइयो भने भिटामिन सी लगायतका भिटामिन पनि दिइयो । यस्तैमा दुईदिन बित्यो । दुईदिनपछि डाक्टरले भेटेर भन्यो – ‘सरी मिस्टर शम्भु, तिमीमा कोरोना भाइरस पोजेटिभ भेटियो ।’

त्यसपछि डाक्टरले उपचारको प्रकृया सुरु गर्ने बताए । मलाई आईभीमार्फत सी र बी लगायतका भिटामिनहरु शरिरमा दिइयो । कोरोना पोजेटिभ देखिएपछि पनि जिउ दुखेमा पेनकिलर लगायतका औषधी नै दिइएको थियो भने खोकी चलेमा कफको औषधी दिइएको थियो । उनीहरुले हरेक दिनजसो नै विहान रगत लगेर चेक गरिरहेका थिए ।

उक्त अस्पतालमा पीपीईको समस्या खासै देखिएन । प्रत्येक पटक भेट्न आउँदा डाक्टर नर्सहरु पीपीई लगाएर नै आउँथे । सेवा दिइसकेपछि सबै खोलेर ढोकाको छेउमा फ्याकेर बाहिर निस्कने गर्थे । पीपीईको बारेमा उक्त अस्पतालमा कुनै समस्या भएजस्तो लागेन ।
अस्पतालमै रहेको बेलामा मैले आफूलाई कोरोना पोजेटिभ भएको कुरा सार्वजनिक गरें । कोरोना संक्रमणभएर अस्पतालमा बसेको मान्छेलाई शतप्रतिशत बाँच्ने आशा नहुने रहेछ । मलाई पनि तीसचालिस प्रतिशत त मर्छु जस्तो नै लागेको थियो । त्यसैले मैले यो गोप्य कुरा राखे नेपाली समाज, देश कसैलाई थाहा हुनेछैन, गोप्य नराखेमा सबैबाट सहयोग हुनेछ भन्ने आशाका साथ मैले आफ्नो बारेमा सार्वजनिक गरेको हुँ ।

यस्तै क्रम चलिरहेको थियो । अस्पतालमा भर्ना भएको पाँचौं दिनमा डाक्टरले भेटेर भने – ‘तिमी खतरा मुक्त भयौं । सबै रिपोर्ट हेर्दा तिमी यहाँ बस्नु भन्दा घरमा आराम गरेको राम्रो हुनेछ । त्यसैले तिमी डिस्चार्ज हुनुपर्छ ।’

त्यसपछि गत आइतबार अर्थात् छैठौं दिन आएर डाक्टरले घरमा गएर आराम गर्न भने । मैले डिस्चार्ज भएर घर गइसकेपछि मेरा परिवारका सदस्यहरुलाई मबाट खतरा हुन्छ कि भनेर जिज्ञासा राखें । यो सबै विषयमा नर्सले जानकारी दिने भन्दै मलाई बधाई दिएर डाक्टरहरु फर्के ।

त्यसबारेमा पछि मलाई नर्सले बताए । नर्सले हरेक पेज पढेर सुनाइन् । मलाई १४ दिनसम्म घरमा बस्न सुझाव दिइयो । घरमा बस्दा मास्क लगाएर बस्न र खोक्दा मुख छोपेर खोक्न सुझाव दिइयो । त्यस्तै अलग्गै बाथरुम, कपडाहरु प्रयोग गर्न सुझाव दिइयो । १४ दिनभित्र परिवारका सदस्यमा कसैलाई केही भएन भने पूरै परिवार सुरक्षित भयो भनेर ठान्न समेत नर्सले सुझाव दिइन् ।

नर्सले ‘तिमी आफै जानसक्छौ कि छाड्नुपर्छ’ भनेर सोधिन् । ‘मैले म आफै जानसक्छु’ भनें । म आफै हिडेर अस्पतालबाहिर आएँ । बाहिर पिकअपका लागि जेठोछोरा पर्खिरहेको थियो । त्यसपछि घरमा आएँ । अहिले घरमा उपचार गर्दै बसिरहेको छु । हरेक दिन सुधार भएको महसुस गरेको छु ।

(वासिंटन डिसीमा रहेको नेपाली दूतावासले आयोजना गरेको कन्फ्रेन्स कल बैठकमा मोक्तानले आफ्नो अनुभव सुनाउनुभएको हो ।)

खसोखासको लागि प्रधानसम्पादक किशोर पन्थीको सहयोगमा ।


प्रकाशित | १९ चैत्र २०७६, बुधबार १५:४५