कोरोना परिक्षण गर्ने २ हजार किट नेपाल पठाउन कोरियामा रहेका नेपालीद्धारा १ करोड १५ लाख संकलन

सौल (कोरिया ) : तीन घन्टामै कोरोना परिक्षण गर्न सकिने २ हजार टेष्ट किट नेपाल पठाउन कोरियामा रहेका नेपालीले १ करोडभन्दा बढी रकम संकलन गरेका छन् ।

गैर आवासीय नेपाली संघ ( एनआरएनए) कोरियाको नेतृत्वमा नेपालमा कोरोना भाइरस परिक्षण गर्ने टेष्ट किटको लागि कोरियामा ‘एक ब्यक्ति एक किट्स’ अभियान सञ्चालन गरिएको थियो ।

अभियान अन्र्तगत कोरियामा रहेका नेपालीहरुले छोटो समयमा १ करोड १५ लाख रुपैयाँ (११ करोड ९८ लाख ९३ हजार ४ सय २२ वोन) संकलन गरेका हुन । कोरियामा करिव ४० हजार नेपाली बसोबास गर्दै आइरहेका छन् । एनआरएनए कोरियाका महासचिव बिमल सुवेदीका अनुसार कुल ४ हजार ५ सय ६७ दाताबाट सो रकम संकलन भएको हो ।

एनआरएनए कोरियाले संघका उपाध्यक्ष यदु लामिछाने नेतृत्वको सहयोग संकलन समिती बनाएको थियो । संकलीत रकममध्ये पहिलो चरणमा २ हजारको संख्यामा कोरोना परीक्षण उपकरण (किट) नेपाल पठाइने र दोस्रो चरणमा अन्य सामग्रीहरु र उपकरणहरु पठाउनेछ ।

त्यस्तै, एनआरएनए कोरियाले २ हजार कोरोना परिक्षण गर्ने उपकरण किट खरिदलाई पारदर्शी बनाउनको लागि एक समिति समेत गठन गरेको छ । समितीमा डा. देवीबहादुर बस्नेत ,डा. तारामान कडायत ,संगीता कार्की र संघका कोषाध्यक्ष चन्द्र बहादुर राना रहनु भएको छ । समितीले खरिद सामाग्रीको गुणस्तर अध्यन गरेर दिएको सुझाव अनुसार कोभिड १९ परीक्षण उपकरण खरिद गरिनेछ ।

एनआरएनए कोरिया अध्यक्ष यज्ञराज सुवेदीका अनुसार एनआरएनए कोरियाले नेपाललाई २ हजार टेष्ट किटसहित चिकित्सक र स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई(लगायत अत्यावश्यक स्वास्थ्य सामाग्री पठाउनेछ ।

अध्यक्ष सुदेवीले कोरियामा ठूलो परिणामा मेडिकल सामानहरु खरिद गरेर विदेश पठाउन नपाइने भएपनि स्थानीय सरकारसँग अनुमती लिएर खरिद प्रक्रिया अगाडि बढाउँदै अत्यावश्यक स्वास्थ्य सामाग्री पठाउने बताउनुभयो ।

कोरियाले छोटो समयमा यही प्रविधीबाट कोरोना भाइरस नियन्त्रणमा ल्याएकाले नेपालमा पनि यही प्रविधि प्रयोगमा ल्याएर भाइरस नियन्त्रणमा ल्याउन सकिन्छ कि भन्ने उद्देश्य राखी स्वास्थ्य सामाग्री खरिद गरि नेपाल पठाउन लागिएको बताउनुभयो ।

कोरियामा प्रति किट्स २० ( २०००० वोन) डलरमा नेपालमा प्रयोग हुन सक्ने र तीन घण्टामा रिजल्ट दिन सक्ने समेत अध्यक्ष सुवेदीले बताउनुभयो । चीनपछि कोरियाले शत प्रतिशत कोरोना भाइरस नियन्त्रण ल्याउन सकेको भन्दै अध्यक्ष सुवेदीले कोरियाको प्रविधिले नेपालमा नियन्त्रणमा आउँन सके नेपाल सरकारसँग मिलेर थप स्वास्थ्य सामाग्री समेत पठाउन सकिने बताउनुभयो ।

अध्यक्ष सुवेदीले कोरियाको अभियान पनि एनआरएनए केन्द्रकै एक अभियान भएको बताउँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आर्थिक सहयोग भन्दा स्वास्थ्य सामग्रीका रूपमा उपलब्ध गराउन आग्रह गर्नुभएपछि कोरियाले पनि सामान पठाउन लागिएको बताउनुभयो ।


प्रकाशित | १५ चैत्र २०७६, शनिबार २१:१०