स्वास्थ्य सामाग्री लिन आज चीनको ग्वान्झाउ जाँदै नेपाल एअरलाइन्स, जहाज आजै राति फर्कने

काठमाडौं : कोरोनोको उपचार लक्षित अत्यावश्यक स्वास्थ्य सामाग्री लिन नेपाल एअरलाइन्स आज चीनको ग्वान्झाउ जाँदैछ । कोरोना भाइरसको परिक्षण गर्ने टेष्ट किट्स, औषधी, डाक्टरले लगाउने पर्सनल प्रोटेक्टिभ युनिट पीपीई, भेन्टिलेटर लगायतका सामग्री लिन चीन जान लागेको हो ।

सरकार र नीजि क्षेत्रले चीनमा खरिद गरेका औषधी र मेडिकलजन्य सामग्री लिन वाइडबडी जहाज आज दिउँसो साढे १२ बजे चीनको ग्वान्झाउ जान लागेको हो । औषधी र अन्य मेडिकलजन्य सामग्री बोकेर जहाज आजै राति ११ बजेको हाराहारीमा नेपाल फर्कने छ । जहाजमा ४ जना पाइलट, २ जना इन्जिनियर, लोड मास्टर लगायत १० जना मात्रै रहनेछन् ।

त्यस्तै नेपाल एअरलाइन्सले चीनमा थप ३ वटा उडान गर्ने भएको छ । एअरलाइन्सले अप्रिल २, ३ र ४ तारिखमा पनि चीन जाने तयारी गरेको छ । अप्रिल २ तारिखमा पनि जहाज ग्वान्झाउ नै जाने भएको छ । अप्रिल ३ मा पनि ग्वान्झाउ र ४ तारिखमा कुम्निङमा चार्टडको तालिका रहेको जनाइएको छ ।

अप्रिल २,३ र ४ तारिखका सबै उडान नेपाली नीजि क्षेत्रले चार्डर गरेका हुन् । तीनवटै उडानमा नेपाल वाइडवडी जहाजको प्रयोग हुनेछ । जहाजमार्फत नीजि क्षेत्रले नेपाललाई चाहिने मेडिकलजन्य र अन्य अत्यावश्यक सामग्री ल्याउनेछन् ।


प्रकाशित | १५ चैत्र २०७६, शनिबार १०:०५