कोरिया भाषा परीक्षा आजबाट शुरु, ९२ हजार युवा सहभागी

काठमाडौं : रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जानका लागि लिइने कोरियन भाषा परीक्षा शनिबारबाट शुरु भएको छ । परीक्षामा कुल ९२ हजार ३ सय ५६ जना परीक्षार्थी सहभागी हुँदै छन् । आगामी वर्ष एवं सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ । शनिबार र आइतबार काठमाडौं र पोखरामा सञ्चालन हुने भाषा परिक्षा सञ्चालन हुदैछ ।

१८ वर्ष पूरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन् । नेपालका कामदारका लागि दक्षिण कोरिया आकर्षक गन्तव्य भएका कारण यस परीक्षाका लागि धेरै आवेदन पर्ने गरेको ईपीएस कोरिया शाखाले जनाएको छ ।

सन् २००७ मा नेपालसँग श्रम सम्झौता भएसँगै सन् २००८ देखि दक्षिण कोरियाले नेपाली कामदार लिन सुरु गरेको हो । त्यसबेलादेखि अहिलेसम्म दक्षिण कोरियामा ईपीएसमार्फत करिब ३५ हजारभन्दा बढी नेपाली कामदार पुगिसकेका छन् ।


प्रकाशित | २५ जेष्ठ २०७६, शनिबार १४:०८