कोरोना संक्रमणबाट अमेरिकामा एक जना नेपालीको मुत्यु

किशोर पन्थी/ न्यूर्योक

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक जना नेपालीको मृत्यु भएको छ । न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइटक्षेत्रमा बसोबास गर्दै आएका ५० बर्षिय अनिल लिम्बुको मृत्यु भएको हो ।

नेपालमा पाँचथर रानीगाउँ घर भएका लिम्बु करिव २० बर्षदेखि अमेरिकामा थिए । लिम्बुका एक श्रीमती, दुई छोरा र एक छोरी छन् । लिम्बुले केही समय देखी मधुमेह र ब्लड प्रेसरको औषधी सेवन गर्दै आएको परिवार श्रोतले जानकारी दिएको छ ।

जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले भने – ‘हाम्रो नेपाली समुदायबाट एकजनालाई हामीले गुमाउनु परेको छ, साह्रै दुखी भयौं, सबै जना सुरक्षित रहनु होला ।’

नेम्वाङका अनुसार उनको परिवारका सबै जनालाई सक्रमण भेटिएको छ, परिवारका बाँकी सदस्य घरमै बसिरहेका छन् ।
लिम्बु एकसाता अगाडि ज्वरो आएपछि अस्पतालमा गएका थिए ।

प्रारम्भिक चेकअपपछि कोरोना संक्रमणको आशंकामा अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि ६ दिन अगाडि आएको रिपोर्टमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । तीनदिनदेखि भने स्वास्थ्यस्थीति गम्भिर भएकाले भेन्टिलेटरमा राखिएको थियो ।

न्युयोर्कको ज्याक्सनहाइट ९० स्ट्रीटमा बस्दै आएका उनीसँग परिवारका सदस्यहरुलाई पनि भेट्न दिइएको थिएन । उनीहरुले डाक्टर र नर्ससँग कुराकानी गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका थिए ।


प्रकाशित | ११ चैत्र २०७६, मंगलवार २०:२५