स्पेनमा संकटकाल थप २ हप्ता लम्बिने, पछिल्लो २४ घण्टामा झण्डै ४ सयको मृत्यु

बसन्त रानाभाट/बार्सिलोना

बिश्वब्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बढ्दो संक्रमणका कारण स्पेनमा संकटकालको अबधि थप दुई हप्ता बढ्ने भएको छ। गत मार्च १४ देखि मुलुकमा संकटकालको घोषणा गर्दै कोरोना नियन्त्रणका केन्द्रित रहेको सरकारले “लकडाउन” को अबधि बढाउने भएको हो।

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेसले आईतबार टेलीकन्फेरेन्स मार्फत क्षेत्रीय नेताहरुलाई सो जानकारी गराएका हुन्। स्पेनको तल्लो सदनबाट अनुमोदित भएमा, लकडाउन अप्रिल १२ सम्म जारी रहनेछ। यसको मतलब स्पेनिसहरू इस्टरको समयमा उनीहरूको घरहरूमा सीमित हुनेछन्।

पछिल्लो २४ घण्टामा झण्डै ४ सय जनाको मृत्यु

(कोभिड–१९) बढ्दो संक्रमणका कारण स्पेनमा पछिल्लो २४ घण्टामा झण्डै ४ सय मानिसहरुले ज्यान गुमाएका छन्। पछिल्लो यो तथ्याङ्कले ईटालीपछि स्पेनमा भयावह अबस्था देखिएको छ। आईतबार दिउँसो १ बजेसम्म कोरोना भाइरसका कारण स्पेनमा १७२५ जनाले ज्यान गुमाईसकेका छन्। प्रत्येकदिन ३ हजार नयाँ संक्रमितहरु थपिदै जाँदा अहिलेसम्म २८ हजार ५७२ जनामा संक्रमण भेटिएको छ।

राजधानी म्याड्रिड सबैभन्दा प्रभावित बनेको छ। स्पेनको स्वास्थ्य मन्त्रालयद्वारा जारी आँकडा अनुसार कोरनाका कारण म्याड्रिडमा मात्र १ हजार २१ जनाको मृत्यु भईसकेको छ भने ९ हजार ७०२ जनालाई संक्रमण भएको पुष्टि गरिएको छ।

सङ्क्रमित मध्ये १२ प्रतिशत स्वास्थ्यकर्मीहरु

स्वास्थ्य मन्त्रालयले आईतबार प्रकाशित गरेको सूचना अनुसार ३ हजार ४७५ जना डाक्टर,नर्स तथा स्वास्थ्यकर्मीहरुलाई कोभिड–१९ को संक्रमण भेटिएको छ। जुन तथ्याङ्क कुल सङ्क्रमित संख्याको १२ प्रतिशत हो। त्यसो त फ्रान्समा कोरोनाका कारण एक स्वाथ्यकर्मीको मृत्यु भईसकेको छ। फ्रान्सका स्वास्थ्यमन्त्री ओलिवियर वेरेनले आईतबार यसको पुष्टि गरेका हुन्।

स्पेनमा बिगत नौ दिनदेखि ४ करोड ७० लाख मानिसहरु घरभित्रै क्वारेन्टाईनमा बस्दै आएका छ। तर प्रत्येक राति ८ बजे घरको कौसीमा निस्केर स्वास्थ्यकर्मीहरुलाई हौसला बढाउन तालि बजाउने गरेका छन् ।

लामो समयदेखि स्पनेमा बस्दै आउनुभएको रानाभाट वरिष्ठ पत्रकार हुनुहुन्छ । 


प्रकाशित | ९ चैत्र २०७६, आईतवार २०:२१