सङ्कट बेलाको सञ्चार–आवश्यकता

डा. कुन्दन अर्याल

मार्शल मक्लुहानको विस्तारको सिद्धान्तअनुसार एउटा निहत्था मान्छे र बञ्चरो बोकेको मान्छेबीच फरक हुन्छ । बञ्चरोले व्यक्तिको क्षमता विस्तार गरिसकेको हुन्छ । त्यसैले केहीबेर अघि खाली हात भएको व्यक्ति एकै छिनपछि बञ्चरो हात परेपछि बेग्लै व्यक्तिमा रूपान्तरित भइसकेको हुन्छ । आवश्यक सूचना पाएको हरेक व्यक्ति सामान्य बेलामा पनि सशक्त हुन्छ । विश्वव्यापी रूपमा कोरोना भाइरस (कोभिड–१९) ले फैलाएको महामारीको सङ्कट उत्पन्न भएको यस्तो बेला अपनाउनुपर्ने सर्तकताबारे जानकारी पाउने व्यक्ति झन् सशक्त हुन्छ । त्यस्तो व्यक्ति धेरै हदसम्म जोखिमबाट मुक्त हुन्छ र त्यस्तो व्यक्ति सङ्क्रमणबाट बच्ने अत्यधिक सम्भावना हुन्छ । त्यसैले यतिखेर आमजनताको सञ्चार–आवश्यकता भनेको कोभिड–१९ का लक्षण र त्यसबाट बच्ने उपायबारे थाहा पाउने आवश्यकता नै हो ।

कुनै पनि देशको सञ्चार प्रणाली आममानिसका लागि कति प्रभावकारी र उपयोगी छ भन्ने कुरा सामान्य अवस्थामा त्यो प्रणालीअन्तर्गत सुशासनसँग सम्बन्धित विषयमा कति विमर्श र आलोचनाले ठाउँ पाएको छ भन्ने कुराले तय गर्दछ । चुनावका बेला मतपत्रमार्फत आफ्नो मत जाहेर गर्ने मतदाताका भावना र अवस्था अघिपछि आमसञ्चार माध्यममै प्रतिविम्बित हुनुपर्दछ भन्ने मान्यता त्यस्तो आमसञ्चार प्रणालीमा बलियो हुन्छ । सङ्कटका बेला सञ्चार व्यवस्था वा आमसञ्चार प्रणालीको प्रभाकारिता वा उपयोगिता मापन गर्ने आधार भनेको आमजनताले सर्तकता अपनाउनुपर्ने विषयहरूमा कति जानकारी पाएका छन् भन्ने विषय नै हो ।

महामारीका बेला पत्रकारहरूबाट खासगरी दुईवटा कुराको अपेक्षा गरिएको हुन्छ । पहिलो, महामारीका सम्बन्धमा यथार्थ र समग्र जानकारी, सङ्क्रमितहरूको सङ्ख्या, सतर्कता र जनचेतना फिँजाउन गरिएका प्रयास र उपचार व्यवस्थाको अवस्थासम्बन्धी नियमित रूपमा अद्यावधिक जानकारी सञ्चारमाध्यममै खोज्ने गरिन्छ । पत्रकारहरूले सरकार वा सम्बन्धित निकाय र आमजनताबीच सेतुको काम गर्दै सामग्री तयार गर्दछन् । ती सामग्रीमध्ये कति सरकारका तयारीसँग सम्बन्धित हुन्छन, कति जनताका गुनासा र अप्ठ्यारा वा पीडासँग सम्बन्धित हुन्छन् तर यस्तो बेला सञ्चारमाध्यमबाट अर्को किसिमको सामग्रीको पनि उत्तिकै अपेक्षा गरिएको हुन्छ । दोस्रो किसिमको यस्तो सामग्रीमा महामारीबाट बच्न आवश्यक व्यवहार परिवर्तनसम्बन्धी आग्रहयुक्त समाचार–फिचर, लेख, सम्पादकीय, अन्तर्वार्ता वा यस्तै खालका सामग्री पर्दछन् । विश्व कोरोना भाइरसविरुद्ध लडिरहेको आजको अवस्थामा पनि सञ्चारमाध्यमले आमरूपमा यसैगरी आफ्नो दायित्व पूरा गरिरहेका छन् । विश्वव्यापी रूपमा कतिपय अवस्थामा कतिपय सञ्चारमाध्यमले बनावटी कुरालाई अघि सारेर प्रोपागाण्डा चलाएका छन् । त्यस्तै कतिपय सामग्री सावधानी नअपनाई आमजनतामा त्रास फैलाउने गरी प्रस्तुत गरिएको पनि देखिन्छ तर यस्ता प्रवृत्ति जिम्मेवार पत्रकारिताका कदापि होइनन् । पत्रकारहरूले नै यस्ता गतल प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने कुरा पनि उठाइरहेका छन् ।

भर्खरै नेपाल टेलिकमले कोभिड–१९ को सम्भावित सङ्क्रमणको जोखिमबाट बच्ने उपायहरूलाई रिङ ब्याक टोनमा समेटेर सराहनीय काम गरेको छ । महामारीविरुद्ध जनचेतना फैलाउन यस्ता सन्देश महìवपूर्ण हुन्छन् तर मूलतः मानिसको अहिलेसम्मको आनिबानी र व्यवहारमा परिवर्तन नभएसम्म महामारी नियन्त्रणमा आउन सक्दैन । मानिसको आनिबानी परिवर्तन सञ्चारको प्रयोगबाट सम्भव हुन्छ तर धेरैजसो मानिसलाई नयाँ किसिमको व्यवहार आत्मसात् गर्न असहज लाग्छ । पटक–पटक हात धुने, जहाँ पायो त्यहाँ नथुक्नेजस्ता विषय मानिसको व्यवहार परिवर्तन गराउने सञ्चारसँग सम्बन्धित छन् । रोग लागिसकेपछि यथासमयमा यथोचित उपचार गराउन आवश्यक पर्ने जानकारीको प्रसार महìवपूर्ण विषय हो तर त्यसअघि नै अहिलेसम्मका कतिपय व्यवहारमा परिवर्तन गरेर सङ्क्रमणको जोखिमबाट बच्न आममानिसलाई उत्प्रेरित गर्न पनि आमसञ्चार माध्यम उत्तिकै प्रभावकारी साबित भइसकेका छन् ।

मानव सभ्यताको इतिहास रोगव्याधि, ब्याक्टेरिया र भाइरससँगको निर्मम सङ्घर्षको इतिहास पनि हो । अहिले अभूतपूर्व रूपमा विश्वले कोभिड–१९ को सामना गर्नुपरेको छ । विज्ञान र प्रविधिको उच्चतम विकास गर्ने पश्चिमा राष्ट्र नै यसको कठोर प्रभावमा परेका छन् तर विश्वभरका मानव समुदायको चौतर्फी प्रयासबाट यसलाई अवश्य परास्त गर्न सकिनेछ । त्यसैले अस्पताल, औषधोपचार, खोपको विकासका लागि निरन्तर अनुसन्धानसँगै सञ्चारको पनि विशेष महìव छ । कोरोनाको उत्पत्ति हुने कारण, कम्तीमा यसबाट बच्ने उपायका बारेमा जति बताउन सक्यो मानिस यसबाट उति नै परिमाणमा बच्न सक्छन् ।

समाज र समुदायमा हरेक व्यक्तिलाई महामारीका बारेमा बताउन आमसञ्चार माध्यमको प्रभावकारी प्रयोग आजको आवश्यकता हो । विगतका दृष्टान्तले पनि यो कुराको पुष्टि गरेका छन् । अमेरिका र क्यानडालगायतका भूभागमा बेलाबेला महामारीका रूपमा फैलने इन्फ्लुएञ्जालाई उदाहरणका रूपमा लिन सकिन्छ । ती देशमा बर्सेनि इन्फ्लुएञ्जाको प्रकोप फैलिने गर्दछ र कहिलेकाहीँ त्यसले महामारीकै रूप लिने गरेको छ । जसले अहिलेसम्म लाखौँ मानिसको ज्यान लिइसकेको छ । विश्वमा सन् १९१८, १९५७, १९७७ र २००९ मा विश्वव्यापी महामारी फैलिएको थियो । क्यानडामा मौसमी महामारीका रूपमा हरेक वर्ष इन्फ्लुएञ्जाबाट लगभग २० हजार मानिस पीडित हुन्छन् । जसमध्ये दुईदेखि आठ हजार मानिसको मृत्यु हुने गरेको छ । त्यसैगरी संयुक्त राज्य अमेरिकामा फ्लुसँग सम्बन्धित रोगबाट बर्सेनि तीनदेखि ४९ हजार मानिसको मृत्यु हुने गरेको छ ।

विगतका यस्ता प्रकोप र महामारीको मृत्युदर कम गर्न आमसञ्चार माध्यमको भूमिका प्रभाकारी हुने गरेको देखिँदै आएको छ । विभिन्न प्रकारका आममसञ्चार माध्यमले महामारीलाई फैलिन नदिन सरकार वा सम्बन्धित निकायले गर्ने प्रयासलाई अझ प्रभावकारी बनाउने गरेका छन् । विगतका दशकको अनुभवले देखाएको छ, सावधानीका साथ तयार गरिएका स्वास्थ्यसम्बन्धी समाचार वा अन्य सामग्रीको निकै महìव हुन्छ । स्वास्थ्यसम्बन्धी सवाललाई परिभाषित गर्ने वा ती विषयमा व्यापक विमर्श गराउने कुरामा आममानिसले सञ्चार माध्यमलाई नै सूचनाको स्रोतका रूपमा लिने गरेका छन् । त्यसैले सङ्कटका बेला सर्वसाधारणको सञ्चार–आवश्यकता भनेको महामारीबाट बच्न अपनाउनुपर्ने सतर्कतासम्बन्धी जानकारी नै हो । यस्तो अवस्थामा आममानिसलाई आनिबानी र व्यवहार परिवर्तन गराउन आमसञ्चार माध्यमले महìवपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।

कुनै पनि व्यक्तिको कोरोना भाइरसबाट सङ्क्रमित हुने जोखिम वा बच्ने सम्भावना धेरै हदसम्म उसको सतर्क बानी र व्यवहारमा निर्भर गर्दछ । कुनै पनि व्यक्तिले अपनाउनुपर्ने सतर्कतासम्बन्धी जानकारी विभिन्न तहका सञ्चारमार्फत प्राप्त गर्दछ । विभिन्न तहका सञ्चार भन्नाले अन्तरवैयक्तिक संवाद, समूहगत कुराकानी वा आमसञ्चार माध्यमबाट प्राप्त गरिने जानकारीलाई बुझ्न सकिन्छ । आजका मानिस विभिन्न तह र प्रकारका सञ्चारमा अभ्यस्त छन् । आमसञ्चारका विविध रूप छन् । एकातिर छापा, रेडियो, टेलिभिजन वा अनलाइन माध्यमबाट गरिने पत्रकारिता छन् । अर्कोतिर पर्चा, पोस्टर, रेडियो वा टेलिभिजनका सन्देश वा इन्टरनेटको सहयोगले फैलाइने सन्देशमूलक सामग्री छन् । कतिपय ठाउँमा लाउडस्पिकर वा माइकबाट कोरोना भाइरस सङ्क्रमणका लक्षण र बच्ने उपायका बारेमा जानकारी प्रसार गरेको देखिन्छ । मोबाइल र सामाजिक सञ्जालको प्रयोग पनि त्यत्तिकै प्रभावकारी देखिएको छ । केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका आफ्ना समकक्षीहरूलाई ट्वीटरमार्फत नै कोरोनाविरुद्ध छलफल र साझा रणनीति तय गर्न आह्वान गर्नुभएको थियो । परिणामस्वरूप सार्कका सरकारप्रमुख वा सरकारका प्रतिनिधिहरूबीच भिडियो कन्फरेन्स पनि सम्पन्न भइसकेको छ ।

आजका मानिसको स्वास्थ्यका लागि अहिलेको व्यवहारमा परिमार्जन वा परिवर्तन प्रयासमा केन्द्रित गर्नुपर्दछ । व्यवहार परिवर्तनका लागि सञ्चार, यस्तो अवधारणा हो जसमा स्वस्थ जीवन बाँच्ने सफलतातर्फ डो¥याउने कारक तत्वमा जनताको सञ्चार–आवश्यकतालाई पनि समावेश गरिएको छ । आममानिसलाई स्वस्थ जीवनका कारकहरूका सम्बन्धमा उपयुक्त जानकारी आवश्यक पर्दछ । हात धुने वा सरसफाइलाई अवलम्बन गर्ने सुविधा, औषधिमूलो र उपचारसम्मको पहँुच वा उपलब्धताले मात्र मानिसलाई स्वस्थ राख्दैन । स्वास्थ्य व्यवहारसम्बन्धी पर्याप्त जानकारीले मात्र कुनै सङ्क्रमणको लक्षण पत्ता लगाउन वा समस्यासँग जुध्न मद्दत गर्दछ । स्वास्थ्य प्रवद्र्धनका लागि व्यवहार परिवर्तन वा उपयुक्त व्यवहार र आनिबानीको अवलम्बन सबैभन्दा महìवपूर्ण पक्ष साबित भइसकेको छ । तर हाम्रा कतिपय गलत आनिबानीलाई सदाका लागि बिदा दिने विषय त्यति सजिलो छैन । व्यक्तिको प्रयास, सामाजिक दबाबलगायतका प्रयत्नलाई आमसञ्चार माध्यमले पनि लगातार प्रवद्र्धन गरेर व्यवहार परिवर्तनका लागि सञ्चारको प्रभावकारिता फेरि दर्शाउनुपरेको छ ।

स्वास्थ्य व्यवहारसँग जानकारी र सचेतना मात्र होइन विश्वास र संवेदना पनि जोडिएका हुन्छन् । विश्वासका नाममा कतिपय बेला मानिस अन्धविश्वासमा पनि रुमल्लिइरहेका हुन्छन् । व्यक्ति समुुदाय र राष्ट्रियस्तरमा कोरोना भाइरसलाई परास्त गर्न आवश्यक पर्ने सुधारिएको व्यवहार र आनिबानीलाई मानिसले बढीभन्दा बढी परिमाणमा अनुकरण गर्न जरुरी छ । त्यस सन्दर्भमा आमसञ्चार माध्यमहरू पहिले–पहिलेका माहामारीमा पनि प्रभावकारी साबित भएका थिए । कोरोना भाइरसलाई परास्त गर्ने आजको विश्वव्यापी लडाइँका सन्दर्भमा पनि सञ्चारमाध्यमको भूमिका भावी पुस्ताका लागि स्मरणीय हुने अपेक्षा गर्नैपर्दछ ।

(लेखक त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पत्रकारिता विभागसँग आबद्ध हुनुहुन्छ । गोरखापत्र दैनीकमा प्रकाशित लेख साभार गरेका हौं । )


प्रकाशित | ८ चैत्र २०७६, शनिबार २२:१९