सरकार र गैर आवासीय नेपालीहरुका बीचमा द्वन्द्व बढाउने काम भयोः कुल आचार्य

काठमाडौ । गैर आवासीय नेपाली संघका सल्लाहाकार तथा आगामी कार्यकालका लागि अध्यक्षका उम्मेदवार कुल आचार्यले संस्थापन पक्षले सरकारसंग मिलेर अघि बढ्न नसकेको आरोप लगाउनु भएको छ । एनसीसीहरुको दोश्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै आचार्यले आइसीसीका अध्यक्ष कुमार पन्तका कारण सरकार र गैर आवासीय नेपालीहरुका बीचमा द्वन्द्व बढेको बताउनु भएको हो । आइसीसीले सरकारसंग मिलेर अघि बढ्नु पर्नेमा उहाँको जोड थियो । ‘संस्थालाई विधान विपरीत सन्चालन गर्ने, सामान्य विवाद पनि सुल्झाउन नसक्ने र तोकिएको समयमा महाधिवेशनसमेत गर्न नसक्ने, तर उल्टै सरकारविरुद्ध नै मुद्दा मामिला गर्ने कामले समग्र गैर आवासीय नेपालीहरुको शिर निहुरिएको छ,’ आचार्यले भन्नु भयो ।

आइसीसीका उपाध्यक्ष सोनाम लामा र यूरोप क्षेत्रीय संयोजक नारायण आचार्यले पनि सरकारविरुद्ध संस्थाले मुद्दा दायर गर्दासमेत कार्य समितिमा कुनै छलफल नभएको बताउनु भयो ।

कार्यक्रममा सल्लाहकारहरु विश्व आदर्श पण्डित, त्रिलोक गुरुङ, एसी शेर्पा, एनसीसी अमेरिकाका सल्लाहकार यादव पण्डित लगायतले पनि पन्तको पछिल्लो व्यवहारले समग्र एनआरएनहरुमाथि कुठाराघात गरेको बताउनु भएको थियो । महासचिवका प्रत्यासी तथा एनसीसी

अमेरिकाका पूर्व अध्यक्ष डा. केशव पौडेलले पनि विधान अनुसार महाधिवेशन गर्न नसकेको आरोप लगाउँदैं‘सरकारविरुद्ध मुद्दा हालेर चुनावको नाटक गरेको उल्लेख गर्नु भयो । अध्यक्ष कुमार पन्तले आइसीसीका कुनै पनि निकायमा छलफल नगरी सरकारविरुद्ध अदालतमा मुद्दा दायर गरेको आइसीसी उपाध्यक्ष मन केसीको भनाई थियो ।


प्रकाशित | १६ मंसिर २०७८, बिहीबार २०:१८