एयरपोर्टमा आफन्तको स्वागत र विदाइमा नआउन त्रिभुवन विमानस्थलको अपिल

काठमाडौं : नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तको स्वागत र विदाइमा नआउन अपिल गरेको छ । भुवन विमानस्थलमा अत्यावश्यक बाहेक अन्य अवस्थामा प्रवेश नगर्न अपिल गरेको हो ।

प्राधिकरणले विमानस्थलले उपलब्ध गराउँदै आएको ‘भिजिटर पास’ बन्द भएको समेत सूचना जारी गरेको छ । प्राधिकरणले आफन्तजनको स्वागत तथा विदाइमा आउनेहरुलाई पनि अत्यावश्यक भएको अवस्थामा बाहेक नआउन भनेको छ। सरकारले आइतबार संक्रमण फैलन सक्ने भन्दै सार्वजनिक स्थानमा भीडभाड कम गर्न आग्रह गरेको थियो।

‘यात्रुहरूलाई स्वागत तथा बिदायी गर्न आउनु हुने आफन्तजन लगायत अन्य महानुभावलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिनु हुन र अत्यावश्यक काममा आउनु हुने सबैलाई मास्क प्रयोग गरिदिनुहुन अनुरोध छ’ प्राधिकरणले जारी गरेको विज्ञप्तीमा भनिएको छ। विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेपछि विमानस्थल प्रवेशमा कडाई गरिएको हो।


प्रकाशित | १९ फाल्गुन २०७६, सोमबार १७:४५