लाम्पार्ड नेतृत्वकाे चेल्सीको शानदार जित

एजेन्सी:  प्रि–सिजन टूरमा रहेको चेल्सीले मैत्रीपुर्ण फुटबलमा अष्ट्रियाको क्लब साल्जवर्गलाई ५–३ गोल अन्तरले हराएको छ । बुधबार राति भएको खेलमा चेल्सीले अष्ट्रियन क्लबविरुद्व फराकिलो जित निकालेको हो ।

२० औ मिनेटमा क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । २३ औ मिनेटमा रोस बर्कलीले पेनाल्टीमार्फत चेल्सीको अग्रता दोब्बर पारे । २८ औ मिनेटमा पुलिसिकले ब्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ३–० को स्थितीमा पुर्याए । अमेरिकी मिडफिल्डर पुलिसिक नयाँ सिजनका लागि ५८ मिलियन पाउण्डमा जर्मन क्लब बोरुसिया डर्टमण्डबाट चेल्सी आएका हुन् ।

५० औ मिनेटमा घरेलु टोलीका जेरोम ओनग्युनेले गोल गर्दै खेललाई ३–१ को स्थितीमा ल्याए । ५७ औ मिनेटमा पेड्रो रोड्रिग्वेजले ब्याकहिलमा गोल गर्दै चेल्सीलाई ४–१ को अग्रता दिलाए । ८६ औ मिनेटमा ताकुमी मिनामिनोले पेनाल्टीमार्फत साल्जवर्गको गोल अन्तर घटाउने काम गरे । ८८ औ मिनेटमा मिक्की बात्सुवाईले चेल्सीलाई ५–२ को स्थितीमा ल्याए । खेलको अन्तिम मिनेटमा घरेलु टोलीका ताकुमीले व्यक्तिगत दोस्रो गोल गर्दै गोल अन्तर ५–३ मा झारेका थिए । प्रि–सिजन टूरमा रहेको चेल्सीले अष्ट्रियन क्लबविरुद्व शानदार जित निकाल्न सफल भएको छ । नयाँ प्रशिक्षकको रुपमा फ्रान्क लाम्पार्ड अझैपनि टिम सेट गर्न प्रयासरत छन् ।


प्रकाशित | १६ श्रावण २०७६, बिहीबार १४:३९