मुलुकलाई समृद्ध बनाउन सरकारले बलियो जग हाल्ने काम गरिरहेको छ : मन्त्री बाँस्कोटा

लाहान : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको ध्यान विकास र सम्मृद्धिमा केन्द्रित रहेको बताउनुभएको छ । मुलुकलाई समृद्ध बनाउन सरकारले बलियो जग हाल्ने काम गरिरहेको बताउँदै सरकारको सबै ध्यान मुलुकको विकासमा नै केन्द्रित रहेको बताउनुभएको हो ।

“मुलुकको समग्र विकास र समृद्धिका लागि सरकारले जग बलियो बनाउन लागेको छ, जग बलियो भएपछि माथि जस्ता हाल्ने काम हुँदै गर्छ”, शुक्रवार साँझ लहानमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले भन्नुभयो, ‘कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारको काम तीव्ररूपमा सरकारले अघि बढाएकाले अबको पाँच वर्षभित्र मुलुकमा ठूलो आर्थिक रुपान्तरण हुन्छ ।’

मन्त्री बाँस्कोटाले सङ्घीयता कार्यान्वयन र कानून निर्माणमा वर्तमान सरकार सफल भएको बताउँदै मुलुक समृद्ध बनाउने सरकारको कामको लोकप्रियता देखेर केही शक्तिहरु अहिले अत्तालिएको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “ती शक्तिलाई एक त हाम्रो दुईतिहाइ भएको पचेको छैन भने अर्कोतिर सरकारले गरिरहेको राम्रो काम मन पराएको छैन, त्यसैले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी सरकारको आलोचना गरिरहेका छन् ।”


प्रकाशित | ३० चैत्र २०७५, शनिबार १५:०४