कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन एनआरएनएको आह्वान

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष कुमार पन्तले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन सबै गैर आवासीय नेपालीमा अपिल गर्नुभएको छ । अध्यक्ष पन्तले कोरोला भाइरस प्राभावितहरुको उद्धारका कार्यमा जुट्न सबै एनसिसीलाई निर्देशन दिनुभएको छ ।

अध्यक्ष पन्तले उद्दार कार्यको लागि कुनै कसूर बाँकि नराख्न भन्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीन उहानमा रहेका १४० भन्दा बढी नेपालीहरु सँग सम्पर्कमा रहेको जानकारी गराउनुभयो । पन्तका अनुसार उनीहरुलाई नेपाली दूतावास बेइजिङ्ग सँगको समन्वयमा नेपाल फिर्ता गर्ने सम्बन्धमा सक्रिय रुपमा कार्य भइरहेको छ ।

संघका प्रवत्ता डिवी क्षेत्रीले एक बिज्ञप्ति जारी गर्दै एनआरएनएले गरेको कार्यका विषयमा अवगत गराउनुभएको छ । यस्तो छ प्रवत्ता क्षेत्रीले जारी गर्नुभएको बिज्ञप्ति;-

कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुनको लागि हार्दिक आह्वान

केही समय यता चीनको उहान क्षेत्रबाट फैलिएको नोभेल कोरोना भाइरस (-Novel Corona Virus) को संक्रमणले अहिले अन्तर्रा्ष्ट्रिय स्वास्थ्य आपतको स्थिति खडा गरिसकेको छ । यस भाइरसको संक्रमणबाट चीन लगायतका विभिन्न मुलुकमा मृत्यु हुनेको संख्या झण्डै ६०० पुगिसकेको र ३० हजार भन्दा बढी व्यक्तिहरु संक्रमित भईसकेका छन् । यसले विश्वव्यापी महामारीको रुप लिनसक्ने शंका उत्पन्न भएको छ ।

गैरआवासीय नेपाली संघ यस भाइरसको संक्रमणको कारणले मृत्यु भएका व्यक्तिहरुको आत्माको चीरशान्तीको साथै संक्रमित व्यक्तिहरुको शिघ्र स्वास्थ्य लाभको लागि कामना गर्दछ । साथै यस प्रकोपबाट प्रभावित सबैमा सहानुभूति प्रकट गर्दछ ।

यस प्रकोपका कारणले चीनको उहान प्रान्तमा रहेका नेपालीहरुको उद्धारको चुनौति आएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीन उहानमा रहेका १४० भन्दा बढी नेपालीहरु संग संपर्कमा रहेको र उनीहरुलाई नेपाली दूतावास बेइजिङ्ग संगको समन्वयमा नेपाल फिर्ता गर्ने संबन्धमा सक्रिय रुपमा कार्य गरिरहेको छ ।

संघका अध्यक्षज्यूले सक्दो सहयोगका लागि संबन्धित सबै पक्षलाई अपिल समेत गरिसक्नु भएको छ । संघको स्वास्थ्य सम्बन्धी समितिले यस कोरोना भाइरसको बारेमा गैरआवासीय नेपालीहरु माझ जानकारी फैलाउन सक्रिय रहेको छ । यस प्रकोपबाट नेपालको पर्यटन लगायत अर्थतन्त्र प्रभावित हुन थालिसकेको छ । नेपाल जस्तो कम साधन श्रोत सम्पन्न मुलुकलाई यसले चुनौति थपि दिएको छ ।

यस्तो अन्तर्राष्ट्रिय विपतको स्थिति कुनै एक मुलुकले मात्र सामना गर्न नसक्ने र यसका लागि सबै राष्ट्र र संपूर्ण मानव जाति ऐकबद्ध भई लाग्नु पर्ने हाम्रो भनाई हो । अन्तर्राष्ट्रिय रुपमा समन्वयका साथ अघि बढ्न हामी नेपाल सरकार र विश्व समुदाय संग हार्दिक अपिल गर्दछौं ।

यस महामारीबाट बच्ने उपाय अवलम्वन गर्न चीन लगायत विश्वभरी फैलिएका सबै गैरआवासीय नेपाली र नेपालमा रहनु हुने नेपाली दाजुभाई दिदिबहिनीहरुमा अपिल गर्दछौं । साथै कुनै आपतकालिन अवस्था आईपरेमा संघको सचिवालय-977-4411530/4426005 email: info@nrna.org तथा स्वास्थ्य समितिका सभापति डा. संजिव सापकोटा email: chair.health@nrna.org  लाई सूचना दिनुहुन अनुरोध छ ।

डि.बि क्षेत्री

प्रवक्ता, अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्

गैरआवासीय नेपाली संघ ।

६ फेब्रुवरी २०२० ।

 


प्रकाशित | २३ माघ २०७६, बिहीबार १६:३२