यस्तो छ ‘दाल भात तरकारी’ को ट्रेलर

काठमाडौं: चलचित्र ‘दाल भात तरकारी’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा चलचित्रका कलाकारहरु विदेश मोहले ग्रसित देखिन्छन् । ट्रेलरमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ र निरुता सिंहसँगै पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुसाल, रविन तामाङ, शिशिर वाङ्देल, विल्सन विक्रम राईलगायतलाई स्थान दिइएको छ । अभिनेत्री प्रियंका कार्की भने एक सिनमा ठुम्का लगाउँदै देखिनुभएको छ ।

मह सञ्चारको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् भने चलचित्रको कथा हरिवंश आचार्यले लेख्नुभएको थियो । पटकथा तथा संवाद पनि उहाँकै रहेको छ । सुदन केसीले निर्देशन गरेको यो चलचित्रमा यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, जयनन्द लामा, मोहितबंश आचार्यलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

मित्र डी गुरुङको सम्पादन रहेको चलचित्रलाई दीर्घ गुरुङले छयाँकन गर्नुभएको छ । चलचित्रमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् । प्रविन सिंह र कविराज गहतराजको चलचित्रका गीतमा कोरियोग्राफी रहेको छ ।बैशाख २० गतेदेखि देशभरका सिनेमाघरमा आउन लागेको यो चलचित्रका ‘भिजिट भिषामा’ र ‘दाल भात तरकारी’बोलको गीतका कारण चर्चामा छ ।


प्रकाशित | ३० चैत्र २०७५, शनिबार ०८:४४