सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित

काठमाडौं : प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित हु्नुभएको छ । आज बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो ।

सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा सापकोटाले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको थियो । यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि गत असोजदेखि सभामुख खाली भएको थियो । शिवमाया तुम्बाहाङफेले उपसभामुखबाट राजीनामा दिएपछि यो पद पनि रिक्त छ ।

को हुन् अग्नि सापकोटा ?

अग्नि सापकोटा सिन्धुपाल्चोकबाट ३ पटकसम्म सांसद पदमा निर्वाचित हुनुभएको छ । सापकोटा २०६४ र २०७० को संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको हो ।

२०७४ सालको निर्वाचनमा उनी सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित हुनुभयो । २०३५ सालमा नेकपा (चौम) बाट राजनीति सुरु गर्नुभएको सापकोटाले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गर्नुभएको छ । सापकोटा १५ वर्षसम्म शिक्षक पेशामा त्रियाशिल रहनुभयो ।
नेकपाको स्थायी समिति सदस्य रहनु भएको सापकोटा दुई पटक मन्त्री भइसक्नु भएको छ । २०६८ सालमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारमा सूचना तथा सञ्चार मन्त्री बनीसक्नु भएको छ । साथै २०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा वन मन्त्री बन्नुभएको थियो ।

२०५१ असोजमा नेकपा (माओवादी) को केन्द्रीय सदस्य बन्नु भएको सापकोटा २०५२ माघदेखि भूमिगत हुनुभएको थियो । सापकोटा २०५८ सालमा तत्कालीन नेकपा माओवादीको तर्फबाट गठन गरिएको ३ सदस्यीय वार्ता टोलीका सदस्य समेत रहनुभयो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुनुभन्दा पहिला पनि उनी माओवादी केन्द्रका स्थायी समिति सदस्य हुनुहुन्थ्यो । सापकोटा जनयुद्धकादेखि नै प्रचण्डको निकट भएर काम गर्नुभएको थियो । सापकोटालाई प्रचण्डको विश्वास पात्रको रुपमा समेत लिइन्छ ।


प्रकाशित | १२ माघ २०७६, आईतवार १५:५९