एनआरएनए उपाध्यक्ष सोनाम लामाद्धारा मुक्तीनाथमा करोडौ खर्चीएर बुद्धको मूर्ति निर्माण

मुस्ताङ : गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले मुस्ताङको मुक्तिनाथ क्षेत्रमा मुक्तिनाथ मन्दिर नजिकै ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण गर्नुभएको छ । व्यक्तिगत लगानीमा लामाले आफ्नो परिवारका तर्फबाट बुद्धमुर्तिसँगै पाँचवटा स्तुपाहरु पनि निर्माण गर्नुभएको छ । पाँचवटा स्तुपाहरुमा बुद्धका पाँचवटा स्वरुपहरु तयार गरिएका छन् ।

मुक्तिनाथमा हिन्दु मन्दिरको नजिकै स्थापित बुद्धमूर्ति नेपालको सबैभन्दा अग्लो स्थानमा स्थापित ठूलो ढुंगाको बुद्धमूर्ति हो । १२ हजार ६ सय फिटको उचाईमा स्थापित मूर्तिको तौल झण्डै ६० हजार किलो रहेको छ ।

मुक्तिनाथमा स्थापना गरिएको बुद्धको मूर्ति काठमाडौंको पाटनमा निर्माण गरिएको हो । चर्चित नेपाली मूर्तिकार धर्मराज शाक्यको डिजाइन र उनका भाई उत्तम शाक्यको सहडिजाइनमा बुद्धमूर्ति निर्माणका लागि २० जना भन्दा धेरै कालिगढहरु संलग्न रहेका थिए । डिजाइनर शाक्यबन्धु दुबैजना मूर्तिकलामा स्नातकोत्तर हुनुहुन्छ ।

फर्पिङबाट ल्याइएको विशेष प्रकारको ढुंगाबाट मूर्ति बनाइएको हो, जसको आयु हजारौं बर्ष रहेको छ । बुद्धमूर्तिमा टाउको मात्र पाँच फिट अग्लो रहेको छ । टाउकोको तौलमात्र झण्डै ५ हजार किलोको रहेको छ । टाउकोमाथि डेढ फिट अग्लो मुकुट रहेको छ । बुद्धमूर्तिको पाखुराको लम्बाई ९ फिट र चौडाई १८ इन्च रहेको छ ।

मुक्तिनाथमा स्थापना गरिएको बुद्धमूर्ति शाक्यमुनी बुद्धको मूर्ति हो । नेपालको लुम्बिनीमा जन्मिएका बुद्धको मूर्ति नै मुक्तिनाथमा स्थापना गरिएको हो । मूर्तिमा बुद्ध भूमीस्पर्स मुद्रामा रहेका छन् ।

लामो समयदेखि गैर आवासीय नेपाली अभियानसँगै समाजसेवामा क्रियाशील रहँदै आउनुभएको लामा कम बोल्ने स्वभावको हुनुहुन्छ । सानैदेखि कम बोल्ने स्वभावको सोनाम कामलाई भने बढी विश्वास गर्नुहुन्छ । बोलेर होइन काम गरेर देखाउनुुपर्छ भन्ने भावनाले ओतपोत सोनाम लामाले पछिल्लो समय एनआरएनले गर्व गर्न लायक काम गरेर सबैलाई गतिलो पाठ सिकाउनुभएको छ । साथै एनआरएनले गफ मात्र गर्छ काम गर्दैन भन्ने भ्रमलाई चिर्दै उदाहरणीय काम गरेर सबैलाई गतिलो पाठ सिकाउनुभएको हो ।लामा विगत पाँच वर्षदेखि मन्दिर परिसरलाई चम्काउने अभियानमा अह्रोरात्र जुट्दै आउनुभएको थियो ।

नेपाल सरकारले नेपाल भ्रमण वर्ष मनाइरहँदा मुक्तीनाथले भने पर्यटकलाई लोम्याइरहेको छ । यतिखेर मुस्ताङको मुक्तिनाथ मन्दिर पुग्ने पर्यटकको संख्या बढिरहेको छ । निकै सफा आकास, चारैतीर हिउँ र हिमाल देख्न सकिने मुक्तीनाथ पर्यटकको लागि अत्यन्तै आर्कषण ठाउँ मानीन्छ ।

सन् २०१४ मा मन्दिर परिसरभित्र मन्दिर विकास समितिको स्वीकृती लिई लामाले शूरुमा बुद्धको मूर्ति बनाउने योजना बनाउनुभयो । ’लुम्बिनी टु मुक्तीनाथ’ अवधारणलाई अगाडि सार्दै आफनै प्रयासमा मूर्ति निर्माण गर्ने काम लामाले शूरु गर्नुभयो । आफूले इमानदारीपूर्व कमाएको धन समाजसेवा तथा धार्मिक क्षेत्रमा लगाउने उहाँमा भित्रैदेखिको इच्चा थियो । लामाले जुन इच्चा तथा जोश जाँगरलाई शाकार तुल्याउन निरन्तर लागिपर्नुभयो ।

आफनो योजनामा सपरिवारको साथ पाएपछि लामाले मन्दिर परिसरभित्रको करिब ६ रोपनी क्षेत्रफलमा बुद्धको ३५ फिटको मूर्ति बनाउने निधो गर्नुभयो । विश्वमा नभएको र अहिलेसम्म कसैले पनि नबनाएको बुद्धको मुर्ति बनाउने योजना बनाएर लामाले काठमाडौंमा ढुंगाले कुँदेर बनाएको मूर्ति बनाउन शूरु गर्नुभयो । ढुंगाले कुँदेर बनाएको मूर्तिलाई विभिन्न समयमा गरि १३ वटा ट्रकमा राखेर लगी अहिले मन्दिर परिसरमा बुद्धको मूर्ति खडा गरिसक्नु भएको छ ।

सरकारीस्तरबाट औपचारिक रुपमा उद्घाटन नभए पनि लामाले शूरु गर्नुभएको निर्माण कार्य पूरा भएको छ । अब परिसरभित्र गार्डेन बनाउने काम समेत सम्पन्न भइसकेको छ । परिसरमा बुद्ध मूर्तिसँगै पार्क पनि बनाइएको छ । मूर्तिसँगै अगाडि धौलागिरी हिमाल र बायाँ साइटबाट निलगिरी हिमाल देखिने गरि मनोरम दृश्यले सबैलाई लोम्याउँछ । साथै सो ठाउँबाट हिमालको मनोरम दृश्य देखीने गरि तस्विर कैद गर्न सक्ने गरि संरचना बनाइएको छ ।

लामाले स्वीकृत लिनुभएको करिब ६ रोपनी क्षेत्रफलभित्र झरना, बगैचा, ११ वटा ढुंगे पानी धारा, पाँच वटा स्तुपा बनाइएको छ । लामाले सो स्तुपा आफना परिवारको नाममा बनाउनुभएको छ । आफू, धर्मपत्नी, एक छोरा र दुई छोरीको नाममा पाँच वटा स्तुपा निर्माण गरिएको हो । लामाले सपरिवारको साथ पाएर नै यत्ती ठूलो काम गर्न सफल भएपछि स्तुपा सपरिवारको नाममा खडा गरिएको बताउनुभयो ।

लामाले विगत पाँच वर्षदेखि निर्माण कार्य गर्न शूरु गरेको भए पनि भूकम्पले गर्दा ढिलाई भएको बताउनुभयो । अहिले निर्माणको सम्पूर्ण कार्य सम्पन्नविशेष गरि मुक्तिनाथ धार्मिक क्षेत्रभित्र हिन्दु र बौद्धको मिश्रण भएपछि सबै खालका पर्यटक आउँछन भन्ने उद्देश्यले नै बुद्ध मूर्ति खडा गरिएको उहाँले बताउनुभयो । ’यहाँ धेरैजसो हिन्दुहरु आउने गर्नुहुन्छ । यो मूर्ति खडा भएपछि विश्वभरीका बौद्ध धर्मालम्बीहरु आउन थाल्नु भएको छ’, लामाले भन्नुभयो, ’अहिले दैनिक चार हजार पर्यटक पुगेका छन । आगामी वर्षदेखि दैनिक दसौ हजार पर्यटक पुग्नेछन ।’

साथै सरकारले शूरु गरेको भिजिट नेपाल २०२० को लागि मुक्तिनाथ विश्वकै आर्कषक स्थल बन्न सक्ने देखिन्छ । किनकी यो मन्दिर आफैमा बुद्ध धर्म र हिन्दु धर्मको धार्मिक मिश्रण रहेको पाइन्छ ।

करिब पाँच करोड लागतमा मूर्ति लगायतका संरचना निर्माणमा खर्च भइसकेको लामाले जानकारी दिनुभयो । ’काम सबै सम्पन्न भइसकेको छ । अहिले परिसर भित्रको क्षेत्रमा क्यामोनीया, धुँपी र एजेलीया गरि ४५० वटा रोपीएको छ ।

अब चाँडै नै उद्घाटन गर्ने तयारी भइरहेको लामाले बताउनुभयो । साथै सो क्षेत्रमा निर्माण भएका संरचना तथा खडा गरिएका संरचनालाई ऐतीहासिक बनाउनको लागि म्युजीयम समेत बनाइएको छ । भिजीट नेपाल २०२० लाई लक्षित गरि राष्ट्रप्रमुखबाट उद्घाटन गर्ने तयारी लामाको छ ।


प्रकाशित | २ माघ २०७६, बिहीबार १८:४१