एनआरएनलाई एभरेष्ट बैंकको बचत खातामा विशेष सुविधा, क्रेडिट कार्डमा ५० प्रतिशत छुट

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) लाई एभरेष्ट बैंकले बचत खातामा विशेष सुविधा दिने भएको छ । अब यो बैंकमा खाता खोल्ने एनआरएनलाई विशेष सुविधा दिने भएको हो ।

बैंकले एनआरएनएसँग एमओयूमा हस्ताक्षर गर्दै एनआरएन बचत खातामा निःशुल्क एटिएम, इन्टरनेट र मोबाइल बैकिंग, ई स्टेटमेन्ट, एबीबीएस, लकर र क्रेडिट कार्डमा ५० प्रतिशत छुट र विभिन्न कर्जा सुविधाको प्रोसेसिङ शुल्कमा विशेष छुटका साथ उच्च प्रतिफल प्रदान गर्ने समझदारी भएको हो ।

एनआरएनएका प्रमुख कार्यकारी निर्देशक डा. हेमन्त कुमार दबादी, एभरेष्ट बैंकका प्रमुख कार्यकारी निर्देशक गजेन्द्रकुमार नेगी र एभरेष्ट बैंक तथा एनआरएनएका अन्य उच्च अधिकारीहरुको उपस्थितीमा एमओयूमा हस्ताक्षर भएको छ ।  हाल बैंकले ९५ शाखाहरु, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर र १२२ एटिएम मार्फत सेवा दिँदै आएको छ ।


प्रकाशित | २२ पुष २०७६, मंगलवार १९:३४