ह्याकरको निसानामा नेपालका बैंक

काठमाडौं : नेपालका वाणिज्य बैंक ह्याकरको निसानामा परेका छन् । अर्काको नामको खाताबाट रकम ट्रान्सफर गरी चोरी हुने क्रम बढेको छ । यसैक्रममा नेपालको वित्तीय संस्था ह्याक गरी करोडौँ रुपैयाँ चोरी गर्ने अन्तर्राष्ट्रिय गिरोहका मुख्य सहयोगी दीपक नेपाल पक्राउ परेका छन् । मोरङ रंगेली–२ का ४३ वर्षीय नेपाललाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएका प्रहरी टोलीले शनिबार काठमाडौंबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार नाइजेरियन नागरिक ‘कालेदाइ’ भनिने पिटर हर्मन असेन्गाले नेपालकै सहयोगमा कृषि विकास बैंकको ट्रेजरी ह्याक गरी पाँच अर्ब रुपैयाँ लुट्ने योजना बनाएका थिए । पहिलो चरणमा उनीहरू बैंकको चार करोड ७३ लाख ९६ हजार रुपैयाँ विभिन्न ११ व्यक्तिको बैंक खातामा ट्रान्स्फर गर्न सफल भइसकेका थिए । दीपकको बैंक खातामा एक करोड रुपैयाँ ट्रान्स्फर भएको थियो ।

गल्फुटारस्थित कृषि विकास बैंकको शाखा कार्यालयबाट आइतबार दीपकले ट्रान्स्फर भएको सोही रकम सहयोगीमार्फत झिक्दैगर्दा पक्राउ परेका हुन् ।

महाशाखाका एसपी मुकेशकुमार सिंहले सहयोगीमार्फत रकम झिक्ने क्रममा उनी पक्राउ परेको जानकारी दिए । ‘गल्फुटारस्थित कृषि विकास बैंकको शाखा कार्यालयमा उनको सहयोगी चेक साट्न आएको खबर प्राप्त भयो । उनले एक सहयोगीलाई चेक साट्न पठाएका रहेछन् । त्यहीवेला उनलाई पक्राउ गर्यौँ । उनैमार्फत दीपक नेपाल समातिएका हुन्,’ उनले भने । नयाँ पत्रिका दैनिक


प्रकाशित | २१ पुष २०७६, सोमबार ०८:२९