पोखरामा १२ प्रतिशतले विदेशी पर्यटक वृद्धि

पोखरा : गण्डकी प्रदेशको राजधानी पोखरामा आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । सन् २०१८ को तुलनामा २०१९ मा हवाई उडानबाट पोखरामा विदेशी पर्यटक आगमनमा वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष सन् २०१९ मा पोखरामा हवाई उडान गरी पोखरा आउने तथा पोखराबाट बाहिर जाने पर्यटक १२ प्रतिशतले वृद्धि भएको पोखरा नागरिक उड्डयन कार्यालय पोखराका सूचना अधिकारी देवराज सुवेदीले बताए । अघिल्लो वर्षको तुलनामा गत वर्ष २१ हजार ४ सय ६९ जना बढी पोखरामा हवार्य उडानमार्फत आउने तथा जाने गरेको उनले जनाए ।

उनका अनुसार सन् २०१९ मा २ लाख १ हजार २ सय ७९ जना विदेशी पर्यटक हवाई उडानमार्फत पोखरा आउने तथा जाने गरेका छन् । अघिल्लो वर्ष सन् २०१८ मा भने १ लाख ७९ हजार ८ सय १० जना विदेशी पर्यटक पोखरा आउने तथा पोखराबाट हवाई उडान हुँदै बाहिरिएको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

हवाई उडानको संख्या भने गत वर्षको तुलनामा करिब ५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष सन् २०१८ मा ४२ हजार ३ सय ५८ वटा हवाई उडान पोखरादेखि भएका थिए भने गत वर्ष २०१९ मा ४० हजार २ सय ५२ वटा हवाई फ्लाइट भएको सूचना अधिकारी सुवेदीले बताए ।

उनका अनुसार यति र बुद्धले थोरै सिट क्षमताको जहाजको स्थानमा धेरै सिट क्षमता भएका जहाज राखेसंगै हवाई उडान कम भए पनि पर्यटकको संख्या भने वृद्धि भएको हो ।

अघिल्लो वर्ष २०१८ को तुलनामा गत वर्ष २०१९ मा करिब २० प्रतिशतले पोखरा आउने तथा पोखराबाट हवाई उडान हुँदै बाहिर जाने पर्यटकको संख्यामा वृद्धि भएको नागरिक उड्डयन कार्यालयले दिएको तथ्याङ्कमा उल्लेख गरिएको छ । सन् २०१९ मा ७ लाख ३३ हजार १ सय २९ जना आन्तरिक तथा बाह्य पर्यटकहरू पोखरामा हवाई उडान गर्दै पोखरा आउने तथा पोखराबाट अनेत्र जाने गरेका छन् ।

गत वर्ष सन् २०१९ मा ३ लाख ६५ हजार ९ सय ३५ जना पर्यटक काठमाडौं, भरतपुर, भैरहवा, मुस्ताङ सहित माउन्टेन फ्लाइट गरी पोखरा भित्रिएका छन् । त्यसैगरी पोखराबाट ३ लाख ६७ हजार १ सय ९४ जना पर्यटक अनेत्र बाहिरिएका छन् । अघिल्लो वर्ष सन २०१८ मा हवाई उडानमार्फत पोखरा आउने तथा पोखराबाट बाहिर जानेको संख्या भने ६ लाख ९ हजार ९ सय ७५ जना थिए । सन् २०१८ को तुलनामा सन् २०१९ मा २०।१९ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष हवाई उडानमार्फत १ लाख २३ हजार १ सय ५४ जना बढी पर्यटक पोखरा आउने तथा पोखराबाट बाहिर जाने गरेका छन् ।

बुद्ध एयर, यती एयरलायन्स, सिम्रिक एयर, तारा एयर, नेपाल एयरलायन्सले पोखरा काठमाडौं, काठमाडौं–पोखरा, पोखरा भरतपुर, पोखरा भैरहवा, भैरहवा–पोखरा, पोखरा जोमोम, जोमोम–पोखरालगायतका ठाँउमा हवाई उडान गर्दै आएका छन् । त्यसैगरी पोखरामा पर्यटकलाई लक्षित गरी दृश्यावलोकनका लागि विभिन्न कम्पनीका हेलिकोप्टर तथा अल्ट्रालाइटसमेत सञ्चालन हुँदै आएका छन् । कारोबार दैनीक


प्रकाशित | २० पुष २०७६, आईतवार १५:१५