परादेशिक नागरिक र अवसरहरूको सङ्ग्रह

नवीनचन्द्र घिमिरे 

परादेशिक नागरिक र विप्रेषणः डायस्पोरा भन्ने शब्द बसाइँसराइँ अथवा मानव जातिको प्रवाहनसँग सम्बन्धित शब्द हो । ग्रीक भाषामा डायस्पोराले फैलिनु, छरिनु वा तितरबितर हुनु भन्ने अर्थ प्रदान गर्दछ । एक ठाउँबाट अर्को ठाउँमा प्रवाहन हुने क्रियालाई बुझाउँछ । आजकल यो डायस्पोरा (Diaspora ) शब्द निकै प्रचलनमा छ । आफ्नो देश वा सांस्कृतिक समूहबाट टाढिएर बसेको समुदाय भन्ने यसको अर्थ हुन्छ । विभिन्न अध्ययनहरूका अनुसार डायस्पोरालाई परिभाषित गर्ने क्रममा www.wenepali.com/2014/09/1789.html मा प्रकाशित आलेख अनुसार यस्तो समुदायको मन एकातिर हुन्छ, शरीर अर्कोतिर हुन्छ । उद्गमस्थलको खास सांस्कृतिक पहिचान कायम राखी क्रियाशील सम्पर्कमा रहेका अनौपचारिक आप्रवासीहरूको समुदायलाई डायस्पोरा भनिन्छ । त्यसैले सामान्य ढङ्गले साँस्कृतिक पहिचान + आप्रवासी + परादेशीय समुदाय = डायस्पोरा भन्न सकिन्छ । यसरी आफ्नो थातथलो छाडेर नयाँ ठाउँमा स्थायी रूपले बसोबास गर्ने मानव समुदायलाई डायस्पोरा भनिन्छ । यसको पुरानो अर्थ छर्नु वा बाहिर निकाल्नु भए पनि त्यसको अर्थ विस्तार भएर आज अर्कै रूपमा बुझिन्छ भनेर भनिएको छ ।

मानव समुदायको बसाइँसराइँ र पलायनका विविध कारणहरू हुन्छन् । कारणहरू जेसुकै भएतापनि बसाइँसराइँ वा पलायनको अवस्था सृजना हुनु भनेको आफैमा असामान्य अवस्था हो । यस अगाडि नै चर्चा गरिएअनुसार बसाइँसराइँ गरेर गएका मानिसहरूसँगै उनीहरूको भौतिक शरीरमात्रै होइन सँगसँगै दर्शन, मान्यता र सिद्धान्तहरूले पनि बसाइँसराइँ गरेका हुन्छन् ।

यसरी परादेशीय प्रवाहनमा रहेका नागरिकहरूले आफूहरू प्रवासमा रहँदा आर्जन गरेका भौतिक तथा अभौतिक सम्पत्तिहरू आफ्नो थातथलोमा प्रेषण गर्ने गर्छन् त्यसैलाई विप्रेषण अर्थात् Remittance भनेर बुझ्ने गरिएको छ । यस्तो विप्रेषण वित्तीय वा मोद्रिकमात्र नभइकन उनीहरूले आर्जन गरेको ज्ञान, सीप, क्षमता तथा बौद्धिकताहरू पनि हुन सक्छन् ।

आर्थिक, सीप, ज्ञान तथा संस्कारको विप्रेषणः जसरी मानव जातिको वैश्विक चलायमानता बढ्दै गएको छ । त्यसरी नै मानव जातिका कमाई तथा उपजहरूमा पनि उसैगरी चलायमानता बढ्दै गएको छ । मूलतःरोजगार, अध्ययनका लागि मानव चलायमानताका कारण सबैभन्दा बढी चलायमान भएको अन्तर्राष्ट्रिय मौद्रिक पक्ष हो । यसको विप्रेषणका कारण नेपालजस्ता कतिपय मुलुकहरूको राष्ट्रिय अर्थतन्त्र धानिएको छ । आर्थिक वा मौद्रिक विषय शक्तिशाली विषय भएका कारण मौद्रिक विप्रेषणको कुरा बढी उठ्ने गरेको छ । मानव समुदायको यही चलायमानताका कारण आर्थिक विप्रेषण सँगसँगै समुदायभित्रको विविधतापूर्ण ज्ञान, सीप, क्षमता, संस्कार, परम्परा आदि पनि विप्रेषित भइ विप्रेषणमा रूपान्तरित हुन्छन् । आर्थिक विप्रेषण सिधै मौद्रिक विषय भएका कारण र नागरिक समृद्धिसँग जोडिएको भनिएका कारण बढी चर्चामा र सम्बन्धमा आउने गरेको छ । यद्यपि समृद्धिको मापन भनेको आर्थिक पक्षमात्रै होइन, यो त मानव जीवनका हरेक पक्षसँग सम्बन्धित भने अवश्य नै हुन्छ ।

यसरी हेर्दा शिक्षा/ज्ञान आर्जन वा उत्पादनमूलक कार्यका हुने मानव समुदायको चलायमानता वा बसाइँसराइँको प्रकृयाले जसरी अर्थ अर्थात् पैसाको विप्रेषण (Remittance) हुन्छ त्यसरी नै विभिन्न समुदायभित्रका चालचलन, शैली, रहनसहन, धर्म, संस्कृति, परम्पराका साथै निश्चित भूगोलभित्र अपनाइएको राजनैतिक, सामाजिक व्यवस्था तथा उक्त भूगोलभित्र अभ्यासमा रहेको वैज्ञानिकता, प्रविधि र विधिहरू पनि उसै गरी विप्रेषित हुन्छन् । यतिमात्रै होइन अझै सानो एकाईमा गहिरिएर अध्ययन गर्दा व्यक्तिगत मानवभित्र रहेको ज्ञान, सीप, क्षमता, बौद्धिकता आदिको पनि विप्रेषण हुन जान्छ ।

यसरी हेर्दा केवल विप्रेषणको एकपक्षीय ढङ्गले मात्र हेरियो भने यो विषय पक्कै पनि अपुरो हुनजान्छ । मौद्रिक तथा श्रम विनिमयको पाटो पनि अत्यन्तै महत्त्वपूर्ण पक्ष हो । विनिमय भन्ने बित्तिकै लाभहानी तथा सःशर्त लेनदेनको दृष्टिले हेर्ने कुरा अगाडि आउनसक्छ । जहाँ जहाँ भिन्न भूगोल र भिन्न समुदायका नागरिकका बीच बसाउठी र व्यवहार हुनजान्छ त्यहाँ जीवनयापनका लागि आपसी विनिमयको कुरा स्वभावतः आउन सक्छन् । यो सँगसँगै आउने पाटो भनेको प्रविधि र सभ्यताको आदानप्रदान पनि हो । प्रविधि भन्नासाथ वैज्ञानिक वा प्राग मान्यताका विधिहरू पनि हुन्छन् । सभ्यताभित्र समुदाय तथा राष्ट्रियताको विविध र सुक्ष्म आयामहरू सँगालिएका हुन्छन्, जसका बारेमा अगाडि नै चर्चा गरिसकिएको छ ।

शारीरिक पौरख, बौद्धिकताको योगदानः भौतिक वा अभौतिक उत्पादनका माध्यमबाट आर्थिक वा पूँजीगत योगदान गर्नका लागि आवश्यक पर्ने मानव निहित शारीरिक पौरख तथा बौद्धिक श्रम हालका युगहरूमा कुनै खास देशको मात्रै सम्पत्ति हुने रहेछ भन्ने कुरा रहेन । निश्चित पारिश्रामिक वा श्रमको मूल्य भुक्तान गरेपछि उत्पादनका लागि आवश्यक पर्ने श्रमका यस्ता स्रोतहरू सहजै वा सशर्त रूपमा उपलब्ध हुन्छन् । यतिबेला पहिलो, दोस्रो या तेस्रो विश्व भनेर वर्गीकृत मुलुकहरू एकापसमा यी दुवै प्रकारका श्रमका स्रोतहरू अनतर्राष्ट्रियरूपमा फिँजाउन क्रियाशील छन् । विधि तथा प्रविधिलाई शारीरिक पौरख वा बौद्धिकताका माध्यमबाट विश्वका अधिकांश मुलुकहरूमा विनिमय भैरहेका छन् । यस्तो विनिमय आर्थिक, राजनैतिक तथा सामाजिक हिसावले स्वतन्त्रता तथा उदार व्यवस्था भएका मुलुकहरूमा मात्रै सम्भव छ । जहाँको आर्थिक, राजनैतिक तथा सामाजिक व्यवस्थामा बन्धन, कठोरता अथवा अनुदारपना छ अथवा यसो भनौं आर्थिक पारदर्शिता, राजनैतिक स्वतन्त्रता वा सामाजिक उदारता नभएका त्यस्ता मुलुकहरूमा यस्तो विधि वा प्रविधि विनिमयको पक्ष पनि अनुदार वा कठिन वा सीमित हुन्छ । त्यसो त अहिले विश्वका अधिकांश मुलुकहरू अतिवादी वा अनुदारवादी आर्थिक, राजनैतिक तथा सामाजिक व्यवस्थाबाट क्रमशः रूपान्तरित हुँदै स्वतन्त्रता र उदारवादी व्यवस्थामा परिणत हुँदै गएका कारण वैश्विक भूगोलका अधिकांश सक्षम नागरिकहरूले एक भौगोलिक वा राजनैतिक सीमाबद्ध क्षेत्रबाट अर्को भौगोलिक वा राजनैतिक क्षेत्रमा बसेर शारीरिक पौरख, बौद्धिकताको योगदान गरिरहेका छन् । यो योगदानले मूलतः मौद्रिक विप्रेषणका माध्यमबाट आर्थिक योगदान र अन्तर्निहित अभौतिक पहिचानको विप्रेषणका माध्यमबाट सामाजिक, साँस्कृतिक तथा राजनैतिक योगदान पुर्याइरहेका छन् ।

दोहोरो नागरिकता वा परिचयपत्रः वि.सं.को २०४६ साल अन्तिम अर्थात् इ.सं.को १९८९ को मध्यतिर राजनैतिक परिवर्तन पश्चात् नेपाली नागरिकहरू पनि विभिन्न उद्देश्यका साथ (मूलतः रोजगार तथा अध्ययनको उद्देश्य) परदेशीय भूगोलमा प्रवाहन गर्ने क्रम सुरू भयो । यसका लागि उतिबेलाको नेपाली राजनैतिक व्यवस्थाले मात्रै भूमिका खेलेको होइन । उक्त ८०/९० को दशकमा विश्वको राजनैतिक मोर्चाबाट राजनैतिक रूपमै अनुदार मानिएको कम्युनिज्म व्यवस्थाको पलायन र अतिवादी मानिएको पूँजीवादी व्यवस्थाको रूपान्तरणको क्रम सुरू भएको मानिन्छ । यसरी सर्सर्ती हेर्दा विश्व आर्थिक हिसावले पारदर्शीता, राजनैतिक हिसावले स्वतन्त्रता र सामाजिक हिसावले उदारतामा रूपान्तरण हुँदै गएको रूपमा लिन सकिन्छ । साथै दोस्रो विश्वयुद्धको पराकम्पनबाट विश्व राजनीतिले विस्तारै रूपान्तरण खोजिरहेको थियो । राजनैतिक वा भौगोलिक औपनिवेशिकतामा रहेका संसारका अधिकांश मुलुकहरू पनि एकापसमा छुट्टिने र स्वतन्त्र हुने क्रम पनि चलिरहेकै थियो । राजनैतिक रूपले विखण्डित मुलुकहरू एकीकृत भैरहेका थिए । कतिपय मुलुकहरू पनि अतिवादी तथा अनुदारवादी राजनैतिक व्यवस्था त्यागेर स्वतन्त्रतावादी, प्रजातन्त्रवादी र उदारवादी राजनैतिक व्यवस्थामा परिवर्तित भैरहेका थिए ।

संयोग भनौं या विश्व राजनैतिक परिवेशका कारण भनौं, नेपाली राजनीतिमा पनि ठ्याक्कै त्यही व्यवस्था ल्याउनका लागि नेपाली प्रजातान्त्रिक राजनीतिका शिखर पुरुष बिपी कोइराला र उनका अनुयायीहरू विशेष गरी गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईहरू त्यही राजनैतिक धार तथा चलिरहेको आन्दोलनको नेतृत्व वा अग्रमोर्चामा थिए ।

ती पछिल्ला केही दशकहरूमा राजनैतिक क्षितिज मात्रै होइन, सूचना तथा प्रविधिको क्षेत्रमा पनि विश्वव्यापीरूपमै निकै ठूला ठूला उपलब्धिहरू हासिल भए । नेपाली राजनीतिक अभ्यासले खुला तथा प्रतिष्पर्धी अर्थतन्त्रात्मक अभ्यासतर्फ मुलुकलाई डोर्यायो । यसपछि क्रमशः विश्व बजारमा चल्तीमा आएका प्रविधिहरू तुरून्तै नेपाली आर्थिक बजारमा पनि प्रवेश गर्न सहज भयो ।

नेपालका लागि सडक यातायात तथा हवाई यातायातको क्षेत्र नीतिगत तथा भौगोलिक हिसावले फराकिलो बन्दै गयो । नागरिक तथा भौतिक साधनका लागि पारवहनसम्बन्धी खुकुलो व्यवस्था लागू भयो । अन्तर्देशीय श्रम तथा अध्ययनसम्बन्धी नीतिहरूमा व्यापक परिवर्तन आयो । नागरिकले चाहेको बेलामा नागरिकतामात्रै होइन राहदानी पनि सहजै प्राप्त गर्ने अवस्था आयो ।

केही वर्षसम्म नेपाली राजनीति अपरिपक्वताको घेरामा बन्दी भैरह्यो । फलतः माओवादीहरूले राजनैतिक अभिष्ट भन्दै हिंसात्मक, ध्वंशात्मक र द्वन्द्वात्मक ‘राजनैतिक’ कार्यको थालनी गर्दै सङ्ग्लिन लागेको राजनैतिक व्यवस्थालाई अस्तव्यस्त र नागरिकहरूलाई समेत आतङ्कित बनाए ।

यही बीचमा नागरिकहरूको आप्रवाहनको क्रम तथा पलायनको क्रम चलिरह्यो । विदेशी भूगोलमा रहेका नेपालीहरू क्रमशः सङ्गठित हुन थाले । राजनीतिक दलका जनसम्पर्क समिति तथा भेगीय एवम् क्षेत्रीय सम्पर्क समितिहरू गठन गर्ने र सञ्चालन गर्ने कार्य भएको भएता पनि गैरआवाशीय वा परादेशीय नेपालीहरूको साझा सङ्गठन भने थिएन । निरन्तरको छलफल र आवश्यकताका कारण विश्वभर रहेका नेपालीहरू जुटेर वैधानिक तथा विधिवत् ढङ्गले गैरआवाशीय नेपाली सङ्घको गठन गरे ।

गैर आवाशीय नेपाली सङ्घको स्थापना भएपछि आवद्ध पदाधिकारी तथा आवद्ध व्यक्तिहरू नेपालमा लगानी बढाउन र नेपालको विकासका लागि सहकार्य गर्न आतुर भएको र आफूहरूसँग योजना भएको बताउँदै आएका छन् । यो सँगसँगै दोहोरो नागरिकता वा परिचयपत्रको पनि मुद्दा उठ्यो ।

नागरिकता त्याग गरिसकेका परादेशीय नेपाली नागरिकहरूको नागरिकता पुनर्प्राप्ति वा राष्ट्रिय परिचयपत्रका विषयमा नरम धारबाट वहस र गर्न सकिने प्रशस्त आधारहरू छन् । मुख्य कुरा भनेको कानूनी आधार हो यसका सन्दर्भमा नेपालको संविधान २०७२ को धारा १४ ले गैरआवाशीय नेपालीहरूलाई गैरआवाशीय नागरिकता प्राप्तिका लागि समुदायको अस्तित्त्वलाई स्वीकार गरिसकेको अवस्थामा नागरिकता वा राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने विषय अब कानूनी विवादको विषयका रूपमा लिइरहन जरूरी रहेन ।

राष्ट्रिय राजनीतिमा सहभागितात्मक मतः परादेशीय प्रवाहनमा रहेका नेपालीहरू अर्थात् गैरआवाशीय नेपालीहरूको प्रसङ्ग आउँदा “नोट चल्ने तर भोट किन नचल्ने?” भन्ने प्रश्नहरू बारम्बार आइरहन्छन् ।

नेपालको भूगोल अनुसारको औसत जनघनत्व २०३ प्रति किमी (स्रोतः https://worldpopulationreview.com/countries/nepal-population/) रहेको छ । नेपाली भौगोलिक सिमाभित्र उपलब्ध जनशक्ति, प्राकृतिक स्रोत साधन, उत्पादन तथा सेवा प्रवाहका विविध प्रकारका सम्भावना हेर्दा नेपाली भूगोलमा थप जनसङ्ख्याको आवश्यकता छ । नेपालको सन्दर्भमा जनसङ्ख्याको व्यवस्थापनको मुद्दा भनेको जनसङ्ख्याको रोकथाम वा न्यूनीकरण नै हो भन्ने होइन । नेपालका लागि सापेक्षित लगानीका योजनाहरूका साथ जनसङ्ख्या थप गरी व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

जनसङ्ख्या आकर्षण गर्नका लागि पहिलो उपाय भनेको जन्मदरमा बढावा गर्ने योजना हुनसक्छ, यद्यपि यो योजनामा प्रजनन् उमेरका युगलहरूलाई कत्तिको आकर्षित बनाउन र प्रभावकारी योजना दिन सकिन्छ भन्ने हो । साथै अर्को उपाय भनेको आप्रवासनका माध्यमबाट गुणस्तरीय जनसङ्ख्या बढाउने हुनसक्छ । जसका लागि परादेशीय प्रवाहनमा गएका वा अस्थायी एवम् अल्पकालीन प्रवाहनमा विदेशिएका नेपाली नागरिकलाई मुलुकभित्र फर्काउने र टिकाइराख्ने योजना जरूरी हुनजान्छ । यसका लागि शर्त नै त नभनूँ, एउटा आकर्षक योजना बन्न सक्छ परादेशीय प्रवाहनमा गएका पूर्व नेपाली नागरिकहरूलाई सःशर्त नागरिकताको पुनर्उपलब्धता तथा राष्ट्रिय परिचय पत्रको व्यवहारिक उपलब्धता । यसमा दोहोरो नागरिकताको मुद्दा फेरि उल्झन र उब्जन सक्छ । राष्ट्रिय हितका अनुकूल हुन्छ भने यस्तो प्रकारको निर्णय गर्नु क्रुर किसिमको होइन तर ऐतिहासिक निर्णय बन्न सक्छ ।

जसमा सीमित राजनीतिक सहभागितात्मक अधिकारको पक्ष पनि जोडिएको हुन्छ, राजनैतिक सहभागिता भन्नासाथ राजनैतिक प्रकृयामा मतदान गर्ने र निर्वाचनमा उम्मेदवार बन्नेसम्मका प्रसङ्गहरू स्वाभाविक ढङ्गले अगाडि आइपुग्छन् । राजनैतिक एकाई विभाजनको हरेक एकाईमा मतदानको अधिकारसहित हालका लागि राष्ट्रिय नीति निर्माण तथा कार्यान्वयनको तहमा बसेर योगदान गर्नका लागि कुनै निश्चित राजनैतिक एकाईमा उम्मेदवार बन्ने योजना बनाउन सकिन्छ ।

वहस Brain Drain कि Brain Gain कोः परादेशीय वा गैरआवाशीय नेपालीहरूको विषयलाई लिएर मात्रै होइन हाल समग्र विश्वमानै बसाइँसराइँमा रहेका व्यक्तिहरूका बारेमा बौद्धिकताको पलायन (Brain Drain) कि बौद्धिकताको प्राप्ति (Brain Gain) भन्ने बहस पनि चलेकै छ । परादेशीय प्रवाहनलाई मार्क्सिक्स्ट तथा नवमार्क्सिक्स्ट धारले बौद्धिकताको पलायन (Brain Drain) को रूपमा लिएको छ भने शास्त्रीय तथा नवशास्त्रीय धारले यसलाई बौद्धिकताको प्राप्ति (Brain Gain) को रूपमा लिएको छ । पूर्व सैद्धान्तिक पाठहरू तथा सन्दर्भ सामग्रीहरूका अनुसार यी दुवै धारहरूको धारणा विश्लेषण गर्दा बसाइँसराइँलाई क्रमशः मार्क्सिक्स्ट तथा नवमार्क्सिक्स्ट धारले परनिर्भरताका रूपमा र शास्त्रीय तथा नवशास्त्रीय धारले विकासवादी अवधारणाभित्र रहेर परिभाषित गरेको पाइन्छ ।

यो परादेशीय प्रवाहनको विषय अधिकतम मानिसहरूको गन्तव्यका रूपमा लिइएका मुलुकका लागि धेरै हदसम्म बौद्धिकताको प्राप्ति (Brain Gain) कै विषय हो । अर्कोतर्फबाट हेर्दा स्रोत मुलुकहरूको हकमा भने तततत् मुलुकको राजनैतिक र सामाजिक व्यवस्था कसरी चलिरहेको छ भन्ने कुराले प्रभाव पार्छ ।

त्यो स्रोत मुलुकको नीतिमा परादेशीय नागरिकहरूसँग भएको ज्ञान, सीप र क्षमतालाई मुलुकको हितमा पूँजीका रूपमा लगानी गर्न सकिन्छ भन्ने सोच, योजना र नीति छ भने परादेशीय प्रवाहन पक्कै पनि बौद्धिकताको प्राप्ति (Brain Gain) को रूपमा ग्रहण गर्न सकिन्छ अन्यथा बौद्धिकताको पलायन (Brain Drain) को अवस्थामा गएर स्रोत मुलुकले फाइदा लिन नसक्ने देखिन्छ । लामो समयसम्मको राजनीतिक सङ्क्रमणता तथा पछिल्लो पटक गठन भएको निर्वाचित सरकारले पनि परादेशीय प्रवाहनलाई पनि बौद्धिकताको प्राप्ति (Brain Gain) को रूपमा लिनका लागि ठोस योजना बनाउन र कार्यान्वयन गर्नका लागि नीति तथा योजना बनाउन नसकेको देखिन्छ । बौद्धिकताको प्राप्तिका लागि परादेशीय नागरिकका लागि सम्मानजनक वातावरण र आर्थिक लगानीका लागि अनुकूल वातावरण तयार पार्नुपर्ने हुन्छ ।

लगानीको अवसरः स्थायी, अस्थायी वा अल्पकालीन परादेशीय प्रवाहनमा रहेका नेपाली नागरिकहरूले विश्वव्यापीरूपमा विज्ञान, प्रविधि, आर्थिक क्षेत्र, प्राज्ञिक क्षेत्र, राजनीति तथा सामाजिक क्षेत्रमा कहिँ न कहिँ विशिष्ट योगदान पुर्याइरहेका छन् । तर सङ्ख्यात्मक रूपमा नेपालीहरूको उपस्थिति अति नगण्य र छरिएका कारण तततत् मुलुकको लेखा प्रणालीमा खासै गणना भएको पाइँदैन । केही सङ्ख्यामा मात्रै नेपालीहरूले राम्रै चर्चा कमाएको पाइएता पनि खासै गणनामा नआउँदा नेपालीहरूको योगदानको चर्चा हुन नकसेको हो ।

अब यसरी विश्वभर छरिएर र छिरलिएर रहेका परादेशीय प्रवाहनमा रहेका नागरिकहरूको बौद्धिकता प्राप्तिका लागि निरपेक्षरूपमा लगानीको अवसर सिर्जना गरिनुपर्छ, लगानी आर्थिक क्षेत्रमा मात्रै होइन । यसका लागि बौद्धिक विलास गर्ने तथा प्राज्ञिक, वैज्ञानिक तथा प्राविधिक अध्ययन, खोज, अनुसन्धान, प्रयोग, परीक्षण गर्नका लागि पक्षका लागि पनि हुनुपर्छ । विशेष गरी उत्पादन तथा सेवामूलक क्षेत्रमा हुने आर्थिक तथा मौद्रिक लगानीले परादेशीय प्रवाहनमा रहेका नेपाली नागरिक तथा पछिल्ला पुस्ताका सन्ततिहरूको नेपालका प्रति भावनात्मक तथा भौतिक लगावलाई जीवन्त राखिरहन सकिन्छ र नेपालको आर्थिक विकासको सूचकाङ्कमा महत्त्वपूर्ण योगदान पुर्याउन सकिन्छ ।

अवसरहरूको सङ्ग्रहबाट कोरोना पश्चातको अर्थतन्त्रको व्यवस्थापनः परादेशीय प्रवाहनमा रहेका नेपालीहरूसँग प्राज्ञिक, वैज्ञानिक, प्राविधिक तथा पौरखजन्य श्रमशक्तिहरूको बहुआयामिक सम्भावना भएका कारण यी सबै सम्भावनाहरू नेपालका लागि अवसरहरूको सङ्ग्रह हो । विश्वव्यापी चुनौतिका रूपमा रहेको हालको कोरोना सन्त्रासमय अवस्थाले हरेक क्षेत्रमा हलचल मच्चाइदिएको छ । यसै सन्दर्भको विद्यमान परिवेशमा आर्थिक, राजनैतिक तथा सामाजिक सङ्कटहरू निवारण वा न्यूनीकरण गर्नका लागिमाथि उल्लेखित हरेक प्रकारका विविध आयमिक अवसरहरूलाई योजनाबद्धरूपमा व्यवस्थापन गर्न सकियो र लगानी आकर्षित गर्न सकियो भने नेपाली अर्थतन्त्रमा मात्रै होइन र राजनैतिक व्यवस्था समेतमा ठूलो प्रभाव पार्नसक्छ ।

अबका केही महिनामात्रै होइन सम्भवतः केही वर्षहरू परादेशीय प्रवाहनमा गएका नेपालीहरू स्वदेशमा फर्कने तथा जाने तयारीमा रहेका नागरिकहरू यतै रोकिने सम्भावना छ । जसले गर्दा नेपालमा युवा जनशक्तिका लागि तत्कालै केही व्यवस्थापकीय चुनौतिहरू देखा पर्न सक्छन् । यद्यपि यस्तो चुनौतिलाई ठोस योजना, नीति तथा कार्यान्वयनका ढाँचासहित अवसरका रूपमा ग्रहण गरी व्यवस्थापन गर्न सकियो भने नेपाली अर्थतन्त्र सुनौला युगमा प्रवेश गर्न सक्छ । यो युवाशक्ति नेपालमै स्थिर भएर रोकियो भने नेपाली अर्थतन्त्रमा राम्रै योगदान त पुग्छ नै राजनीतिक चेत भएको पुस्ता भएका कारण कतै न कतै राजनीतिक क्षेत्रमा पनि राम्रै हस्तक्षेप पुर्याउन सक्छ ।

(दर्शनाचार्य शोधार्थीः जनसङ्ख्या शिक्षा, त्रिविवि)


प्रकाशित | ११ जेष्ठ २०७७, आईतवार १७:४०