बेलायतबाट एक लाख पर्यटक नेपाल पठाउने दूतावासको घोषणा

लन्डन: नेपाली दूतावासले भ्रमण वर्ष २०२० मा बेलायतबाट एक लाख पर्यटक नेपाल पठाउने योजना अगाडि सारेको छ । नेपाल सरकारले नेपाल भ्रमण वर्षको औपचारिक उद्घाटन गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ अगाडि बढिरहँदा बेलायतबाट एक लाख पर्यटक भित्र्याउने योजना राजदूतावासले राखेको हो ।

नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान सफल बनाउन लन्डनस्थित नेपाली दूतावासले विशेष कार्यक्रम शुभारम्भ गर्नुहुँदै भ्रमण वर्षमा बेलायतबाट एक लाख पर्यटक नेपाल पठाउने दूतावासको योजना सार्वजनिक गर्नुभएको हो । शनिबार आयोजित शुभारम्भ समारोहमा दूतावासले वर्ष २०२० का लागि विभिन्न योजना सार्वजनिक गर्दै बेलायतस्थित नेपाली समुदायलाई सहयोगको अपिल समेत गरेको छ । सन् २०१९ मा बेलायतबाट करिब ६५ हजार बेलायती नेपाल घुम्न गएको तथ्यांक छ ।

दूतावासले सामाजिक सञ्जाल, संस्थाको लेटरहेड, निमन्त्रणा पत्र, सवारी साधन आदिमा भ्रमण वर्षको ‘लोगो’ प्रयोग गर्न पनि अपिल गरिएको छ । साथै आगामी मे २५ मा हुन लागेको नेपाल र बेलायतको राष्ट्रिय फुटबल टिमबीच 
मैत्रीपूर्ण खेल, बेलायत र नेपालका विभिन्न संस्थाबीच भगिनी सम्बन्ध स्थापना, मिडिया र ‘एडभर्ट क्याम्पियन’, हरेक नेपाली रेष्टुरेन्टमार्फत प्रचार प्रसार, नेपाली मेला, गोर्खा कप, ओपन कन्सर्ट, भिसी कप, क्रिकेट टुर्नामेन्ट, ‘हाइक फर नेपाल’ आदिमा भ्रमण वर्ष प्रचारलाई प्राथमिकता दिने गरि कार्यक्रम समेत सार्वजनीक गरिएको छ ।

स्थानीय अनलाइन मिडियामा भ्रमण वर्षको निशुल्क विज्ञापन गरिदिन पनि राजदूतको अपिल थियो । ‘यो मातृभूमिका लागि गरिएको स्वेच्छिक, स्वतस्फूर्त कार्यक्रम हो, यसमा सरकारबाट दूतावासलाई केही बजेट आउंदैन्’( राजदूतले थप्दै भन्नुभयो, ‘तपाईंहरुलाई प्रचार प्रसार सामाग्री आवश्यक परे दूतावासमा सम्पर्क गर्न पनि अनुरोध छ ।’

कार्यक्रम सञ्चालन गर्दै दूतावासका उपनियोग प्रमुख शरदराज आरनले दूतावासले बेलायतका चारवटै राज्यमा पर्यटन प्रवर्धन सम्बन्धि विविध कार्यक्रम गरिने जनाउनुभयो । आरनले सन् २०१९ देखि नै भ्रमण वर्षको तयारी भई प्रवर्धनात्मक कार्यक्रम गरिएको जनाए । उनले लन्डनमा गत जुलाई र नोभेम्बरमा सार्वजनिक राता बसहरुमा नेपालबारे विज्ञापन र नेपाल विकास सम्मेलनमा पर्यटन प्रवर्धन गरिएको पनि जानकारी गराउनुभयो ।

भ्रमण वर्ष अभियानलाई सार्थक सहयोग पुरयाउने उद्देश्यसहित राजदूत सुवेदीको अध्यक्षतामा गत १९ जनवरी २०१९ मा नेपाल भ्रमण वर्ष २०२० उच्चस्तरीय मूल समिति युके र यस अन्तर्गत विभिन्न २२ वटा समिति गठन भई कार्यारम्भ भइसकेको थियो ।

शुभारम्भ समारोहमा बेलायतस्थित नेपाली डायस्पोराले पनि साथ दिने प्रतिवद्धता गरेको छ । समारोहमा २२ वटै समितिका संयोजक र उपसंयोजकले अहिलेसम्मको प्रगति विवरण प्रस्तुत गर्दै भ्रमण वर्ष सफल बनाउन आ(आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बांसुरी समूह यूकेले बांसुरीबाटै राष्ट्रिय गान र अन्य मौलिक धुन प्रस्तुत गरेको थियो । सो अवसरमा राजदूत डा. सुवेदीले एनआरएनए महासचिव डा. हेमराज शर्मा र एनआरएनए 
युरोप उपसंयोजक कृष्ण तिमल्सेनालाई बधाइसहित सम्मान गर्नुभएको थियो । वी नेपाली अनलाइनको सहयोगमा


प्रकाशित | २० पुष २०७६, आईतवार १३:३८