मोबाइल बैंकिङमार्फत प्रतिमहिना २ लाख भुक्तानी गर्न सकिने

काठमाडौं : नेपाल राष्ट्र बैंकले मोवाइल बैंकिङमार्फत प्रतिदिन ५० हजार र मासिक २ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्न सक्ने व्यवस्था गरेको छ । बिहीबार केन्द्रीय बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोवाइल बैंकिङ कारोबारको दायरा फराकिलो बनाएको हो ।

कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेसन तथा सेवा शुल्क जस्ता विविध शुल्कहरु सम्बन्धित निकायहरुले विद्युतीय माध्यमबाट भुक्तानी गर्न नीतिगत निर्णय गरी आवश्यक व्यवस्था गरेको अवस्थामा बील बमोजिमको उपभोक्ताले पनि रकम मोबाइल बैंकिङको माध्यमबाट भुक्तानी गर्न सक्ने भएका हुन् । यसरी भुक्तानी गरिएको रकमको विवरण भने अद्यावधिक राख्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

राष्ट्र बैंकले इन्टरनेट बैंकिङमा पनि प्रतिदिन १० लाख प्रतिमहिना ३० लाख र इन्टरनेट बैंकिङ (एकाउन्ट ट्रान्सफर) मा प्रतिदिन १० लाख र महिनामा ५० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले एकीकृत निर्देशिका मार्फत एटिएमको सीमा पनि केही खुकुलो बनाएको छ । यसअघि एक पटकमा २० हजार रुपैयाँ मात्रै निकाल्न पाइने व्यवस्था भएकोमा अब २५ हजार रुपैयाँ निकाल्न पाउने व्यवस्था गरेको हो । एक दिनमा भने १ लाख रुपैयाँसम्म निकाल्न पाइनेछ ।

राष्ट्र बैंकका अनुसार निर्देशिका अनुसार प्रिपेड कार्डबाट न्यूनतम ५ सय र अधिकतम प्रतिकारोबार २५ हजार रुपैयाँसम्म निकाल्न सकिन्छ । यस्तै डेबिट कार्डबाट प्रतिकारोबार न्यूनतम ५ सय र अधिकतम २५ हजार रुपैयाँ निकाल्न सकिन्छ भने एक दिनमा १ लाख रुपैयाँसम्म निकाल्न सकिन्छ । यसअघि एक दिनमा ६० हजार रुपैयाँ मात्रै निकाल्न सकिने व्यवस्था थियो ।
त्यसैगरी, क्रेडिट कार्डबाट नगद कारोबार गर्न नपाइने भएपनि अत्यावश्यक भएको अवस्थामा क्रेडिट कार्डको स्वीकृत सीमा रकमको १० प्रतिशतसम्म नगद झिक्न सकिने व्यवस्था गरेको छ । राष्ट्र बैंकका अनुसार प्रिपेड कार्ड जारी गर्दा एक पटकमा अधिकतम १ लाख रुपैयाँसम्मको कार्ड जारी गर्न सकिनेछ । त्यसैगरी, विदेशबाट पठाएको र आन्तरिक रेमिट्यान्स दैनिक ६० हजार रुपैयाँसम्म मात्रै भुक्तानी गर्न पाउने व्यवस्थालाई पनि बढाएर राष्ट्र बैंकले १ लाख रुपैयाँ पु-याएको छ ।


प्रकाशित | १८ पुष २०७६, शुक्रबार १४:४९