सबै काम छोडेर एनआरएनएमा नलाग्नुस : महतो

काठमाडौ –  एनआरएनएका सस्थापक अध्यक्ष डा उपेन्द्र महतोले गैर आवासीय नेपाली संघमा सबै काम छाडेर नलाग्न आग्रह गर्नु भएको छ । एनआरएनएको १० औ महाधिवेशन तथा विश्व सम्मेलनमा सम्बोधन गर्नुहुँदै महतोले फूर्सदको बेलामा लाग्न र सबै काम छोडेर नलाग्न आग्रह गर्नु भएको हो ।

‘म तपाईहरु सबैलाई एकदमै अनुरोध गर्छु, मलाई चाँहि पापको दोषी नबनाईदिनुहोला । किनभने मैले तपाईहरुलाई गैर आवासीय नेपाली अभियानमा यस्तो उत्साहित गराइदिएको छु कि नेपाललाई सम्बृद्द गराउने अभियान तपाईहरु अहोरात्र, आफ्नो ब्यवशाय, आफ्नो काम र समय, आफ्नो परिवार छोडेर दिन रात यसमा लाग्नुभएको छ’, उहाँले भन्नु भयो ।

उहाँले थप्दै भन्नु भयो, ‘पछिल्लो समयमा म धेरै साथीहरुलाई हेरिरहेको छु  । गैर आवासीय नेपाली अभियानमा यत्ति लागिसकेका छन् कि आफ्नो ब्यवशायलाई पनि केहि समयको लागि छोडिदिनुहुन्छ । यो पाप मलाई नबोकाईदिनुस् कृपया । तपाईहरु सबैभन्दा पहिला आफू बन्नेमा, आफ्नो ब्यवसाय, आफ्नो परिवार, आफ्नो काम, आफ्नो पेशालाई सबैभन्दा बढी समय दिनुस् । त्यसबाट बचेको समय मात्रै गैर आवासीय नेपाली संघलाई दिनुस् ।’

गैर आवासीय नेपाली संघमा लागेर बिग्रिएमा सबैभन्दा ठूलो पाप भोग्नुपर्ने उहाँले बताउनु भयो । साथै उहाँले गैर आवासीय नेपाली संघ ६० लाख नेपालीको अभियान भएको बताउँदै प्रत्येकको मन, मस्तिष्क र दिलमा बसिसकेको बताउनु भयो ।

‘मैले आफूले सकेको काम देशको सम्मृद्धिको लागि गर्ने नै छु । यसको लागि मलाई कुनै पद चाहिंदैन । कुनै संस्था चाहिंदैन । कुनै ब्यक्ति चाहिंदैन । म एक्लै गर्छु भनेर त्यो भावना सबैमा आइसकेको हुनाले तपाईहरुले पनि म एक्लैपनि गर्छु भन्ने भाव ल्याउनुस्’, उहाँले भन्नु भयो, ‘म यो संस्थालाई दिनरात सबै छोडेर लाग्छु भन्ने भाव नल्याइदिनुस । त्यो शुरुमा सन् २००३-२००५ मा आवश्यकता थियो । अहिले आवश्यकता छैन ।’


प्रकाशित | १३ चैत्र २०७८, आईतवार ००:४०