भ्रमण वर्षको भव्य तयारीः राजधानीसहित सबैै प्रदेश पर्यटन स्वागत गर्न आतुर

काठमाडौं : २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित राजधानी काठमाडौं र सातवटै प्रदेशमा एकैसाथ नेपाल भ्रमण वर्ष–२०२० सुरु हुँदै छ। भ्रमण वर्षलाई ध्यानमा राख्दै प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिएका पर्यटकीय गन्तव्यलाई सिँगार्ने कार्य भएको छ।

पर्यटकीय क्षेत्रमा नेपाली कला–संस्कृतिको प्रदर्शनीसमेत हुने नेपाल भ्रमण वर्ष–२०२० को सचिवालयले जनाएको छ। पर्यटनका माध्यमबाट गरिबी निवारण गर्ने लक्ष्यसहित राष्ट्रिय अर्थतन्त्रमा १० प्रतिशतको योगदान पुर्याउने दसवर्षे लक्ष्य सरकारले लिएको छ।

हाल राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत मात्र रहेको छ। सन् २०२० भित्र २० लाख पर्यटक भित्र्याएर पर्यटकको बसाइ लम्ब्याउने, पर्यटकले गर्ने खर्चका क्षेत्रलाई फराकिलो बनाई देशभित्रै रोजगारी सिर्जना गर्ने सरकारको योजना छ।

भ्रमण वर्षको पहिलो दिन बुधबार काठमाडौंको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रममा सहभागी हुन भारत, चीन, जमैका र म्यानमारका पर्यटनमन्त्रीहरू मंगलबार नै काठमाडौं आइसकेका छन्।

उद्घाटन कार्यक्रमलाई विशेष बनाउन ४० देशलाई निमन्त्रणा पठाए पनि उद्घाटन विशेषमा चार देशका पर्यटनमन्त्रीसहित सात देशको प्रतिनिधित्व रहनेछ। बौद्धनाथ क्षेत्र विकास समितिले बुधबार सयजना विदेशी पर्यटकलाई बौद्ध स्तूपमा निःशुल्क प्रवेश गराउने भएको छ।

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले पर्यटन वर्षको स्वागत गर्ने दिनमा सय विदेशी पर्यटकलाई बौद्धमा निःशुल्क प्रवेश दिने बताए। आजको नागरिक दैनिकबाट


प्रकाशित | १६ पुष २०७६, बुधबार ०८:२३