मेहनत गरे माटोमै सुन फल्छ

गोविन्द चापागाईं

आज संसार विचित्रको छ । यस धर्तीमा मानिसले जन्म लिएपछि उसले केही न केही अठोटका साथ आफ्नो जहान–परिवार पाल्नका लागि कुनै न कुनै ठाउँमा आफ्ना अमूल्य समय योगदान गरेकै हुन्छ । जीवनमा यस्ता मोडहरू आइपुग्छन् जुन कल्पनासमेत गर्न नसकिने हुन्छन् । आज हाँसिरहेको व्यक्ति भोलि नहुन सक्छ । आज न्यून वर्गको मानिस भोलि सम्पन्न हुन सक्छ । कसको भाग्यमा के लेखिएको छ, पत्तो हुँदैन । यस धर्तीमा जन्म लिएपछि केही न केही गर्ने अठोट पक्कै हुन्छ । त्यही अठोटका साथ आफ्नो कर्मभूमि, जन्मभूमि, आफ्ना काखे छोराछोरी, श्रीमती, समाज, सबै छाडेर धेरै युवायुवती वैदेशिक रोजगारीमा अर्थात् विदेश जाने गर्छन् ।

के स्वदेशमा रोजगारीको सरकारले ग्यारेन्टी दिन नसकेर हो त ? किन मानिसहरू रोजगारीको अन्तिम विकल्प नै वैदेशिक रोजगारी ठान्छन् ? हो, नेपाल सरकारले जारी गरेका गरिबी तथ्यांकलाई केलाएर हेर्नै हो भने तीन भागको एक भाग पूरै मानिस गरिबीको रेखामुनि छन् । यिनीहरूलाई सरकारले उचित रोजगारीको ग्यारेन्टी गर्न नसक्दा धैरै मानिसको अन्तिम विकल्प नै वैदेशिक रोजगारी बन्न पुगेको छ ।

विशेष गरी खाडी मुलुकहरू जस्तै साउदी, कतार, लेबनान, बहराइन, इराक, कुवेतलगायतका ठाउँ, जहाँ पूरै दःुखकष्ट सहनुपर्छ, साहुको गाली सहनुपर्छ, सम्बन्धित कामसँग योग्य नहुँदा, सम्बन्धित देशको भाषा नजान्दा धेरै यातना सहेर काम गर्नुपर्छ । यस्तो अवस्थामा तोकेको भन्दा तलब धेरै कम दिन्छन् । स्वदेश फर्कन पाऊँ भन्ने धेरै नेपाली दूतावास धाउने गर्छन् ।

सरकारले रोजगारीका लागि निषेधित गरेका मुलुकहरूमा घरेलु काममा जाने धेरै दिदीबहिनीको हालत त झनै पीडादायी छ । कसको मर्म कसले सुन्ने ? दिनहुँ एयरपोर्टमा बाकसमा लास आएको देख्दा त त्यो जस्तो पीडा त के होला । परदेश कमाउन गएको आफ्नो छोरो बाकसमा फर्किंदा परिवारमा कति पीडा होला ? यो सम्झँदा त स्वदेश नै ठीक । स्वदेशकै माटोमा मेहनत गरे सुन थहीँ फल्छ । सुन फलाएर उदाहरणीय बनेका हाम्रै देशमा यस्ता व्यक्ति पनि छन्, जसको वर्णन गरी साध्य नै छैन । ती हुन्— श्रीकृष्ण कार्की ।

उनको घर कागेशवरी मनोहरा नगरपालिकास्थित मूलपानीमा रहेको छ । उनी यसै भेगका स्थानीय निवासी हुन् । दुई छोरी र एक छोरा रहेका कार्कीले २६ वर्षदेखि सरकारी विद्यालयमा अध्यापन गराउँदै आएका थिए । उनी केही वर्षअघिदेखि मात्रै यति लामो समय शिक्षण पेसा छाडी कृषि पेसामा अग्रसर हुँदै आएका छन् । आफ्नो करिब ५ रोपनी जमिनमा पूरै गाँजर खेती गरेर मनग्य आम्दानी समेत भएको बताउँछन् । उनी भन्छन्, “यो नगदे बाली हो । विदेशी मुद्रा सञ्चित गराउने धेरै बालीमध्ये यो निकै राम्रो बालीसमेत मानिन्छ । मेरो मेहनतले अहिले उत्पादन भएको गाँजरले ४–५ लाख आम्दानी भएको छ ।”

यही आम्दानीले अहिले आफ्नो घरपरिवार मात्र होइन, एउटा छोरीलाई (बीएससी) नर्स र अर्कीलाई डाक्टर अनि छोरालाई (आईटी) इन्जिनियरिङसमेत पढाएका छन् । उनी भन्छन्, “मनोहरा नदी आसपासमा धेरै नेवार समुदायको जमिन छ । उनीहरूको जमिनमा लगाएको गाँजर खेती देख्दा साँच्चै मलाई पनि मेरै जमिनमा केही गरौँ भन्ने भावनाले गर्दा आज मैले सुरु गरें । गाँजर खेती अनि मेरो मेहनत र परिश्रमले आज म धेरै नै सन्तुष्ट छु ।”

उनी समाजकै नमुना किसानमध्ये एक हुन् । उनी गाँजर खेती परिवारका साथ गरे पैसासँगसँगै खुसी पनि पाउन सकिने कुरा हर्षित हुँदै व्यक्त गर्छन । “सहर–सहर, विदेश–विदेश भनेर आफ्नो जवानी समय फाल्नु मुर्खता हो, तर स्वदेशमै गर्न सके सुख, सम्पन्नता, इमान र मेहनतले खुसी घरभित्रै आउँछ ।” उनी फेरि भन्छन्, “भगवान्ले, हाम्रो माटोले हाम्रै वरिपरि सबैथोक दिएका छन्, खेल्न जान्नुपर्छ, स्वर्ग यहीँ छ ।”

उनी त एउटा प्रतिनिधि पात्र मात्र हुन् । तपाईं–हामी आमनेपाली दाजुभाइ तथा दिदीबहिनीहरू विदेशी चर्को घाममा आफ्ना पसिना बगाउनुभन्दा स्वदेशमै केही गरौँ भन्ने यस उदाहरणले सबैलाई प्रेरणा दिन सक्छ ।


प्रकाशित | ११ पुष २०७६, शुक्रबार ११:४०