मेरा कम्रेडहरु(Fe2O3)

राजु खप्तडी

मेरा कम्रेडहरु मैसंग राजनीति पो गर्न थाले
तह तह छुट्याएर फुटनीति पो गर्न थाले
म त टुक्रा टुक्रा भएं,म त छरिबरि भएं
मेरो आकार नै रहेन ,म त नानाथरि भएं

मैले देश हारेको देखें,मैले आफु हारेको देखें
एक स्वोर्ग झैँ देशमा फेरी बिकाश रोएको देखें
मेरा कम्रेडहरु मैसंग रणनिती पो रच्न थाले
खेमा खेमा छुट्याएर दुर्गती पो हिँड्न थाले

कुण्ठाहरु पालेका रैछन ,इर्ष्या र घृणा पोखेको देखेँ
सबैलाई जोड्ने राष्ट्रियता राष्ट्र भित्रै ढालेको देखेँ
मेरा काम्रेडहरु मैसंग वक्रदृष्टि राख्न थाले
गुट उपगुट बनाएर गुटनिती पो गर्न थाले

अस्ती छोडे मावोवाद,हिजो छोडे जनवाद
यी वादैवादका झाडी भित्र देश भयो बरवाद
मेरा काम्रेडहरु मैसंग करौंती पो रेट्न थाले
राजनैतिक संस्कार विर्सिएर कुरिती पो रोप्न थाले

को असली को नक्कलि,आआफै कसी लाउन थाले
गुहार भन्दै भाक्न थाले, छर- छिमेक डाक्न थाले
मेरा काम्रेडहरु मैसंग ज्यादती पो गर्न थाले
लाज केहो? हया केहो ? गतिमति छोड्न थाले(RKB)


प्रकाशित | २४ पुष २०७७, शुक्रबार १०:२२