नेपालमै पहिलो पटक थ्रीडी आर्ट रेष्टुरेन्ट संचालनमा

काठमाडौं: नेपालमै पहिलो पटक थ्रीडी आर्ट रेष्टुरेन्ट संचालनमा आएको छ । सांसद महेश बस्नेत, गायकद्वय रामकृष्ण ढकाल र धिरज राईले ललितपुरको कुमारीपाटीमा स्थापना भएको वान डे थ्री डी आर्ट रेष्टुरेन्टको उद्घाटन गर्नुभयो ।

रेष्टुरेन्टका संचालक सुन्दर विष्टले नयाँ कन्सेप्टमा रेष्टुरेन्ट संचालनमा ल्याएको बताउनुभयो । रेष्टुरेन्टमा कोरिएका नेपालका पर्यटकीय स्थल र धर्म, संस्कृति र मौलिक परम्परागत चित्रकलाले पर्यटकहरुको मन लोभ्याउने विष्टको दाबी छ ।

कलात्मक रूपमा बनाइएको चराचुरुङ्गीका तस्वीरले त्यहाँ बस्ने ग्राहकहरूलाई प्राकृतिक रूपमै नौलो अनुभव गराउने उनले बताउनुभयो । उहाँका अनुसार घोष्ट रुम डरलाग्दो छ भने म्युजिक रूममा बसेर खाना खाँदा छुट्टै आनन्द लिन पाइन्छ । विष्ट भन्नुहुन्छ, “स्पेस रूममा आफू कुनै स्पेसभित्र नै छौं जस्तो भान हुन्छ ।”

रेष्टुरेन्टमा संस्कृतविद् सत्यमोहन जोशी, विश्व साइकलयात्री पुष्कर शाह, स्वर सम्राट नारायण गोपालजस्ता व्यक्तित्वहरुको तस्वीर समेत राखिएको छ ।

रेष्टुरेन्टमा दुई सय जना अट्ने क्षमता छ । कार्यक्रममा नायिका निता ढुंगाना, चलचित्र निर्देशक अमरदिप सापकोटा, चलचित्र सम्पादक तथा निर्देशक शक्तिप्रज्वल घिमिरे, निर्देशक प्रवीण थापा लगायतको उपस्थिति थियो ।


प्रकाशित | ११ पुष २०७६, शुक्रबार १०:०७