दोलखाको मेलुङमा दुई करोडको सुन्तला उत्पादन

चरिकोट : दोलखाको उत्पादनको भण्डारका रूपमा मानिने दक्षिणी गाउँपालिका मेलुङमा वार्षिक दुुई करोड बराबरको सुन्तला उत्पादन हुने गरेको छ । कृषि उत्पादनको राम्रो सम्भावना बोकेको मेलुङ गाउँपालिकाका विभिन्न क्षेत्रमा वार्षिकपमा दुई करोड रकम बराबरको सुन्तला उत्पादन हुने गरेका गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए ।

उक्त गाउँपालिका समुद्री सतहदेखि ३३० मिटरको उचाइ सितलीदेखि तीन हजार ३०० मिटरको उचाइ शैलुङसम्म फैलिएको र समुद्री सतहबाट नौ सयदेखि एक हजार ४०० मिटर उचाइसम्म सुन्तला तथा अमिलो जातका फलफूल राम्रो उत्पादन हुने सुन्तला रसिलो, स्वादिलो तथा जैविक हुने गरेको अध्यक्ष श्रेष्ठले बताए ।

वडा नं १ पवटी, वडा नं २ को ढल्केवर, डाडाँगाउँ, च्याने, वडा नं ४ का लामाटार, आँगेटार, मानेडाँडा, बुद्धचोक, वडा नं ६ को तीनपिप्लेलगायतका स्थानमा अत्यधिक सुन्ताल उत्पादन हुने गरेको छ । मेलुङको सुन्तला जिल्लाकै तामाकोशी, चरिकोट, मैनापोखरीलगायत आसपासका जिल्लामा समेत खपत हुने गरेका छन् । हिउँदको समयमा अत्यधिक सुन्तला उत्पादन हुने गरे पनि त्यसलाई उचित भण्डारण गर्न नसक्दा किसानले न्यून मूल्यमा बिक्री गर्नुपरेको किसानले गुनासो गरेका छन् ।

सुन्तलाको माग देश र विदेशमा अत्यधिक भइरहेको अवस्थामा सुन्तला उत्पादन गर्नेतर्फ युवालाई प्रोत्साहन र परिचालन गर्न सकेमा युवालाई गाउँमै उत्पादनमा लगाउन सकिने र उत्पादनकै माध्यमबाट अर्थतन्त्र मजबुत बनाउन सकिने वडा नं १ का अध्यक्ष ईश्वर कोइरालाले बताए । गाउँपालिकाले सुन्तला उत्पादनबाट आत्मनिर्भर बनाउन र सुन्तला पकेट क्षेत्र घोषण गर्ने योजनाका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको गाउँपालिकाका प्रवक्ता हीरा थोकरले बताए ।

स्वस्थ एवं गुणस्तरीय बिरुवा वितरण बगैँचा व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग, रोग कीरा व्यवस्थापन गरेर सुन्तला बचाऊँ अभियानजस्ता कार्यक्रम सञ्चालनमा रहेको उनले बताए ।

सुन्तलाको बजारीकरण तथा प्रवद्र्धनका लागि गाउँपालिकाले मंसिर २८ र २९ गते दुईदिने सुन्तला महोत्सवसमेत आयोजना गरेको थियो । सुन्तला उत्पादन गर्ने कृषकलाई प्रोत्साहन गराउने र मेलुङ सुन्तलाको बजारीकरण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको प्रवक्ता थोकरले बताए । महोत्सवका अवसरमा सुन्तला विज्ञद्वारा किसानलाई सुन्तलाका बारेमा प्रशिक्षण कार्यक्रमसमेत आयोजना गरिएको थियो । कारोबार दैनीक


प्रकाशित | २ पुष २०७६, बुधबार १२:५६