एनआरएनएको टोलीले गर्‍यो प्रधानमन्त्री देउवासँग भेट, नागरिकता विधेयकका विषयमा ध्यानकर्षण

काठमाडौं । गैर आवासीय नेपाली संघको टोलीले प्रधानमन्त्री शेर बहादुर देउवासँग आज भेटघाट गरेको छ । भेटमा लामो समयदेखि संसदमा विचाराधीन गैर आवासीय नेपाली नागरिकता विधेयकका सम्बन्धमा प्रधानमन्त्री देउवाको ध्यानकर्षण गराएको छ ।

संघका अध्यक्ष कुमार पन्तसहित संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछाने, नागरिकता निरन्तरता कार्यदलका संयोजक तथा उपाध्यक्ष सोनाम लामा, उपाध्यक्ष रविना थापा, स्वास्थ्य समितिका संयोजक डा संजिव सापकोटा, संघका कार्यकारी प्रमुख राजेश राणा लगायतको एनआरएनएको टोलीले देउवालाई नागरिकता विधेयकको विषयमा ध्यानर्कषण गराएको हो ।

सो अवसरमा महामारीको पछिल्लो विषम अवस्थामा विदेशमा रहेका नेपाली श्रमीकहरुको उद्धार, नेपाल ल्याइएका श्रमीकहरुको पुर्नस्थापना लगायतका विषयमा नेपाल सरकारले यथाशक्य छिटो राहतमुखी कार्यक्रम ल्याउन समेत आग्रह गरिएको अध्यक्ष पन्तले जानकारी दिनु भयो ।

सोही क्रममा आगामी अक्टोबरमा हुने १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनमा प्रधानमन्त्री देउवालाई प्रमुख आतिथ्यताका लागि पनि विशेष आग्रह गरिएको छ ।

प्रधानमन्त्री देउवाले यथाशक्य छिटो नागरिकता लगायत बिट्रिश गोर्खाको समस्या समाधान, नेपाली श्रमीकको लागि राहतमुखी कार्यक्रम लगायतमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।


प्रकाशित | २६ श्रावण २०७८, मंगलवार १३:१९