समाधान हुन सकेन नागरिकता समस्या

काठमाडौं : कास्की स्थायी घर बताउने ३० वर्षीय सुरज (हजारे) दाहाल नागरिकताविहीन छन् । तर उनकी आमाको भने वंशजकै नागरिकता छ । उनले लेख्ने नामको थरमा दाहाल नेपाली आमाको र हजारे भारतीय बाबुको हो ।

नेपालमै नेपाली आमाबाट जन्मिए पनि बाबु भारतीय नागरिक भएका कारण दाहालले अहिलेसम्म नागरिकता प्राप्त गर्न सकेका छैनन् । संंविधानमा भएको व्यवस्थाअनुसार दाहालले जन्मस्थानका आधारमा र आमाको नामबाट नागरिकता पाउने व्यवस्था छ तर संविधानमा भएको यो व्यवस्था दाहाल जस्ताले व्यवहारमा भोग्न पाएका छैनन् ।

नागरिकताका लागि आमा र आमाको नागरिकतासहित धेरै ठाउँमा धेरै जनालाई गुहार्न पुगे तर उनी अहिले पनि नागरिकताकै लडाँइमा छन् । उनी त एउटा प्रतिनिधि पात्र मात्रै हुन् । उनीजस्तै धेरै नागरिक जसले अहिले नागरिकताकै लागि लडाई लड्नु परेको छ । कति आमाले आफ्नो सन्तानलाई नागरिकता दिन नसकेर उनीहरू शिक्षा, जागिरलगायतका राज्यबाट पाउने आधारभूत अधिकारबाट समेत बञ्चित भएको अवस्था छ ।

संघीय संसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य डा. विन्दा पाण्डेले संविधानको नागरिकतासम्बन्धी धारा ११–५ मा गरिएको प्रतिवन्धात्मक व्यवस्थाले गर्दा जो नेपालमै र नेपाली आमाबाट जन्मिएका दाहाल जस्ता धेरै व्यक्ति अहिले नागरिकताविहीन भएको बताइन् ।

उनले नेपाली आमाले नेपालमा नै जन्मिएका सन्तानको सहज रूपमा बाबुको पहिचान प्रस्तुत गर्न नसक्दा आमाले समाज र राज्यबाट अपमानपूर्ण व्यवहार खेप्न र सन्तान राज्यविहीन अवस्थामा रहेकाको समस्याको समाधान गर्न नागरिकता ऐन सशोधनको विधयेक राज्य व्यवस्था समितिमै रहेको जानकारी दिइन् ।

संघीय सांसद कृष्णभक्त पोखरेलले आमाको नामबाट नागरिकता दिनका लागि कानूनमा भन्दा पनि नागरिकता दिने व्यक्तिको नियत सफा नहुँदा समस्या भएको बताए ।

उनले नागरिकतासम्बन्धी संशोधनका मस्यौदामा अगाडि नबढनुको कारण सुनाउँदै भने, ‘‘विदेशी ज्वाई र बुहारीलाई नागरिकता दिने मापदण्ड एउटै बनाउँभन्दा विवाद भएर रोकिएको छ, संविधानमा विदेभ गर्न पाइदैन भन्ने अनि नागरिकता दिर्दा विभेद गर्ने पनि हुन्छ र ? ’’ आजको गोरखापत्र दैनिकबाट


प्रकाशित | २६ मंसिर २०७६, बिहीबार १०:२५