भूकम्पले थलिएको दशरथ रंगशाला १३औं सागले ब्युँझायो

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन सत्रका लागि दशरथ रंगशाला बेहुलीझै सिँगारिएको छ । २०७२ सालको भूकम्पपछि थलिएको रंगशाला १३औं सागको उद्घाटनसँगै व्यस्त हुने भएको छ ।

राष्ट्रिय भावनाले भरिपूर्ण नेपाली संस्कृति, नृत्य, झाँकी, राष्ट्रप्रेम दर्शाउने राष्ट्रिय गीत र धुनलगायतका प्रस्तुतिले भूकम्पका कारण केही समय थलिएको दशरथ रंगशाला फेरि ब्युझिँएको हो ।

साग लगत्रै सो रंगशालामा शहीद स्मारक ‘ए’ डिभिज लिग हुँदै छ । दशरथ रंगशाला नेपाली खेलकुदको मुटु नै हो । यो रंगशाला पुनर्निर्माणसँगै नेपाली खेलकुद जुर्मुराएको देखिएको छ ।

आइतबार उद्घाटन समारोहमा नेपाली संस्कृति झल्कने झाँकी, नृत्य र विभिन्न प्रस्तुति देखाइएको थियो । नयाँबानेश्वरका दीपक थापाले रंगशालाको रूप फेरिएको देखेर खुसी व्यक्त गरे ।

‘विगत चार वर्षदेखि दशरथ रंगशालामा खेल नहुँदा नेपालको खेलकुद शून्यजस्तो देखिएको थियो,’ उनले भने, ‘अब रंगशालाको रूप फेरिएको छ । नेपाली खेलकुदले पनि नयाँ जोश पाउने देखिन्छ ।’

नेपालका विभिन्न भूभागमा बस्ने विभिन्न जातजातिलाई समेटेर तिनीहरूको प्रतिनिधित्व देखाउनेगरी सांस्कृतिक प्रदर्शनी एवं नाच देखाइएको साग समारोह समितिले जनाएको छ । विभिन्न संस्कृति र भौगोलिक प्रतिनिनित्व हुनेगरी पन्चेबाजा तथा लाखे, झागड, झिँझिँया, टप्पा, कौडा, शेर्पा, तामाङ, मारुनी, कुमारी, लोक नृत्यसहितका कार्यक्रम गरिएको थियो ।


प्रकाशित | १६ मंसिर २०७६, सोमबार ०८:१४