आठौं राष्ट्रिय खेलकुद : स्क्वासमा अमृत र दीपक सेमिफाइनलमा

काठमाडौं : आठौं राष्ट्रिय खेलकुद अन्तरगत ११औं राष्ट्रिय स्क्वासको पुरुष सिंगल्सको सेमिफाइनलमा गण्डकी प्रदेशका अमृत थापामगर र प्रदेश २ का दीपक थापा प्रवेश गर्नुभएको छ । ललितपुर सातदोबाटोस्थित स्क्वास एकेडेमीमा अमृतले विभागीय नेपाल एपीएफ क्लबका उमित शाक्यलाई ३–० को सोझो सेटमा पराजित गर्नुभयो । उमितमाथि ११–५, ११–२ र ११–८ को सोझो सेटमा जित निकाल्नुभयो ।

प्रदेश २ का दीपक थापाले प्रदेश १ कमा निशान्त अग्रवाललाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्नुभयो । सुरुवाती दुई सेट ११–६ र ११–५ ले सहजै जितेको दीपको तेस्रो सेट ५–११ ले गुमाएपनि चौथो सेटमा ११–६ को जित निकाल्न सफल हुनुभयो । अब सेमिफाइनलमा अमृत र दीपक तथा प्रविन र राजेन्द्रबीच शुक्रबार खेल हुनेछ ।

प्रदेश ३ का प्रविन विर कंसकारले एपीएफका विक्रम मगरमाथि ३–० को सहज जित निकाल्नुभयो । एकपक्षीय खेलमा प्रविनले ११–९, ११–२ र ११–२ को जित हासिल गर्नुभयो। अन्तिम क्वाटरफाइनलमा प्रदेश ३ का राजेन्द्र शाक्यले आफ्नै प्रदेशका अमिर ब्लोनमाथि ३–१ को जित दर्ता गर्नुभयो । सुरुको सेट राजेन्द्रले ३–११ ले गुमाएपनि बाँकी तीनै सेटमा राजेन्द्र ११–२, ११–३ र ११–६ ले विजयी हुन सफल हुनुभयो । नेपाल स्क्वास संघका अनुसार प्रतियोगिताअन्तर्गत आजदेखि महिला ओपनका चार खेल हुने छ ।


प्रकाशित | २८ चैत्र २०७५, बिहीबार १२:१९