सागको उद्घाटन अघि तीन खेल हुने

काठमाडौं:  तेह्रौ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग )को उद्घाटन अघि तीन खेल शुरु हुने भएको छ । यस खेलको तालिकाको टुङ्गो लागेको छ । तालिका अनुसार उद्घाटन अघिनै भलिबलका खेल सुरु हुने भएको हो ।

सागको टुङ्गो लागेको तालिका अनुसार मंसिर ११ बाट भलिबलका खेलहरु सुरु हुनेछ । भलिबलका खेलहरु काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ ।

भलिबलका खेल मंसिर ११ देखि १७ गतेसम्म चल्नेछ ।  सागको औपचारिक उद्घाटन मंसिर १५ गते काठमाडौंको दशरथ रंगशालामा हुनेछ । राखेपका अनुसार सागको उद्घाटन अगाडी भलिबल सहित तीन खेल सुरु हुनेछ । भलिबल सहित, प्याराग्लाईडिङ र उसुका खेल उद्घाटन अघिनै सुरु हुनेछन् ।

उसुको खेल मंसिर १३ बाट १९ सम्म ललितपुरको लगनखेलस्थित आर्मी शारिरिक तथा फिटनेश सेन्टरमा हुनेछ । प्याराग्लाईडिङका खेल मंसिर १४ बाट २३ गतेसम्म पोखरामा चल्नेछ ।  तालिका अनुसार उद्घाटनको दिन मंसिर १५ गते ब्याडमिन्टन, पुरुष फुटबल, कराँते, खोखो, टेनिसका खेलहरु सुरु हुनेछ ।


प्रकाशित | २० कार्तिक २०७६, बुधबार ०८:३६