असल छन् तर ‘राजनीतिक’ छैनन्

रवीन्द्र मिश्र

ठीक डेढ वर्ष भयो ‘मेरो देश’ स्तम्भ सुरु गरेको। पहिले, र अहिले पनि, स्तम्भ लेख्दा मैले जस्तोसुकै परिस्थितिमा एउटा पनि स्तम्भ लेख्न छुटाइनँ। मेरो एउटा बानी छ स् म कुनै काम गर्दै गर्दिनँ, गरेपछि म त्यसलाई फत्ते नगरी छोड्दिनँ। अहिले एकै पुस्तामा देशको रूपान्तरणका लागि नयाँ पार्टी निर्माणमा जुट्दा पनि, गर्छु भनेको कामप्रतिको मेरो प्रतिबद्धता त्यत्तिकै दृढ छ। असोचनीय प्रतिकूलताले सृजना गर्ने अवरोध ‘भाग्य’ को परिणति हो। त्यसलाई त कसैले रोक्न सक्दैन। सबैले भन्छन्, कर्म गर, फलको ‘आशा’ नगर। म भन्छु– कर्म गर, फलको ‘भर’ नपर। तर कर्मको परिणाम निस्कन्छ भन्ने आशा र विश्वास गर, कर्म गर्न नछोड। त्यसैले म आफूलाई ‘कर्मदृढ भाग्यवादी’ भन्ने गर्छु।

पार्टी निर्माणका क्रममा सामना गरिने स्वाभाविक बहुआयामिक जटिलतामाझ केही त्यस्ता कथ्य निर्माण गरिएका छन्, जसलाई चिर्न थप यात्रा गर्नुपर्ने र थप समय दिनुपर्ने महसुस हुन थालेकाले मैले यो मेरो नियमित पाक्षिक स्तम्भलाई यहीं वि श्राम दिने निर्णय गरेको छु। त्यस्तै एउट कथ्यमध्ये ‘असल छन् तर राजनीतिक छैनन्’ भन्ने एउटा रोचक कथ्यबारे टिप्पणी गरेर यो शृंखलाको बिट मार्नु उपयुक्त सम्झिएको छु।

इमानदारीपूर्वक भन्नुपर्दा, समाजको एउटा तप्काले निर्माण गरेको त्यो कथ्यको कारण मैले बुझ्न सकेको छैन। त्यस्तो टिप्पणीलाई म सम्मान गर्छु। राजनीति भनेको अरूको बुझाइलाई बुझ्न सक्ने क्षमता पनि हो। तर त्यो तप्काले कोही व्यक्तिलाई ‘राजनीतिक’ मान्नका लागि के कसी ९प्यारामिटर्स० प्रयोग गर्दा रहेछन् भन्ने जान्नचाहिँ ममा तीव्र जिज्ञासा छ। किनभने, उनीहरूले बुझेको राजनीति यो समाजले दशकौंदेखि निर्माण गरेको राजनीतिको आम चरित्रसँग जोडिएको छ। उनीहरूको ‘फ्रेम अफ रेफरेन्स ९सन्दर्भको दायरा०’ त्यही नै हो।

एउटा कुरा स्पष्ट छ ः राजनीति जानेको भनिएका व्यक्तिहरूले नै यो देशले यस्तो दुर्दशा भोग्नुपरेको हो र हामीजस्ता राजनीति नजानेको भनिएका व्यक्तिहरू राजनीतिमा प्रवेश गर्न बाध्य हुनुपरेको हो। हामीलाई थाहा छ– हामी राजनीति जानेर राजनीतिमा आएका होइनौं र यो समाजबाट हामीले धेरै सिक्नु छ। तर विनाकुनै हिचकिचाहट म के पनि भन्न चाहन्छु भने, हामीले सुसंस्कृत, सुशासनयुक्त र समृद्धिमुखी राजनीति र राजकाज कस्तो हुन्छ भनेर यो समाजलाई विनम्रतापूर्वक प्रमाणित गरेर देखाउनु पनि छ। यात्राका क्रममा हामीलाई ठेस लाग्नेछ, हामी लड्नेछौं, लडाइनेछौं। त्यतिबेला हामीलाई ‘खुब फूर्ति लगाउँथे, समाजलाई सुसंस्कृत राजनीति देखाउँछु भन्थे, देख्यौ त’ भन्नेहरू हुनेछन्। मैले बारम्बार भन्ने गरेको छु, हो, हामी यात्रामा गल्ती गर्नेछौं, तर बेइमानी गर्दैनौं, यो देशलाई घात हुने काम गर्दैनौं। देश र जनतालाई घात नगरी पनि राजनीति हुन सक्छ भन्ने नेपाली समाजलाई देखाउन चाहन्छौं। त्यही एउटा मौकाका लागि हामी तयारी गर्दैछौं।

हामीलाई ‘राजनीतिक’ नठान्ने कयौं साथीहरूले बारम्बार गिरिजाप्रसाद कोइराला, केपी ओली, प्रचण्डलगायत नेताहरूको उदाहरण दिएको पाउँछु। कोइराला कस्तो खेलाडी थिए, व्यक्तित्व नै कस्तो ‘टल’ थियो। केपी ओलीको आत्मविश्वास हेर्नोस् त, उनले भनेपछि कसैले कुरा काट्नै सक्दैन। प्रचण्ड यति बाठा छन्, कोसँग कस्तो कुरा गर्न पर्छ उनलाई ठ्याक्कै थाहा हुन्छ, आदि–इत्यादि। नेपालमा धेरैले बुझेको राजनीति त्यही अनुभवबाट निःसृत छ। त्यसै भएर, संसद्मा विशिष्ट भूमिका निर्वाह गरेर नेतृत्व दिन सक्ने डा। सूर्यराज आचार्यलाई हराएर पुरानै माधवकुमार नेपाल अत्यधिक बहुमत ल्याउँछन् अनि नेतृत्वमा पूरै ‘फ्रेसनेस’ को आभास दिनसक्ने इमानदार, क्षमतावान्, पढेलेखेका युवा शरदराज पाठकलाई हराएर प्रचण्ड जित्छन्। त्यो पनि कस्तो ठाउँबाट भने जहाँ प्रचण्डले नेतृत्व गरेको सशस्त्र दस्ताले बालक, बयस्क र वृद्धवृद्धा चढेको बसमा आगो लगाएर दिउँसै खरानी बनाइदिएको थियो।

कोइरालाले आफू सत्ताबाहिर भयो कि सधैं ‘ग्य्रान्डडिजाइन’ को कुरा गरे तर कयौंपटक प्रधानमन्त्री भएका उनले कहिल्यै त्यो ग्य्रान्डडिजाइन के हो र त्यसका पछाडि को छन् भनेर व्याख्या गरेनन्। भारतीय राजदूतलाई प्रधानमन्त्री हुँदा चप्पल र मण्डी ओडेर आउँदा शयनकक्षमै पहुँच दिए। अनुभवी प्रशासक सखाप पारे। धमिजा काण्ड, बोइङ काण्ड, लाउडा काण्ड सबै गरे। पूरापूर षड्यन्त्र गरेर कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई रुवाए। न क्षमता थियो, न इमान। तर हामीलाई ‘अलि राजनीतिक छैनन्’ भन्नेहरूका लागि कोइराला बडो ठूलो ‘राजनीतिक’ व्यक्ति थिए।

केपी ओली तिनै व्यक्ति हुन्, जसले प्रमुख प्रतिपक्षी दलका नेता भएर देश राजनीतिक उथलपुथलको उत्कर्षमा हुँदा पाँचतारे होटेलमा भारतीय गुप्तचर निकाय ‘रअ’ का प्रमुखलाई भेटे। कतिपय लोकतान्त्रिक देशमा त्यो राष्ट्र द्रोहको मुद्दा मानेर गम्भीर छानबिनको विषय हुन सक्थ्यो। तर उनी अत्यधिक मतले चुनाव जितेर देशको प्रधानमन्त्री बने। उनी प्रधानमन्त्र‍ीको कुर्सीमा बसेर सस्ता उखान–टुक्का हाल्छन्, गैंडा नदेखी मर्ने मान्छेको जीवन आधा खेर गएसरह हुन्छ भन्छन्। प्रधानमन्त्री भएर जे पायो त्यही बोल्छन्। गरिबका नाममा साम्यवाद, समाजवादको नारा लगाउँदै ‘दलाल पुँजीवाद’ को रङले रंगिएका छन्। विश्व प्रतिष्ठित बीबीसी टेलिभिजनमा गएर हाम्रो देशको प्रधानमन्त्री भन्न पनि अफ्ठेरो लाग्ने स्तरको अन्तर्वार्ता दिन्छन्। तर हामीलाई ‘अलि राजनीतिक छैनन्’ भन्नेहरूका लागि केपी ओली सफल ‘राजनीतिक’ व्यक्तित्व हुन्।

प्रचण्डको पनि कुरा उस्तै हो। दिल्लीका मालिकसँग मात्र संवाद हुन्छ भन्दै चर्किने उनी राजदूतका अगाडि बारम्बार लम्पसार पर्छन्। सशस्त्र संघर्षका बेला दीनदुःखीका कथा बुन्ने, माओवादी सांस्कृतिक टोलीका कार्यक्रममा गरिबका पीडा सुनेर धुरुधुरु रुने प्रचण्ड त्यही पीडा बेचेर प्रधानमन्त्री हुन्छन्। आम्दानीका नाममा सांसदको तलबबाहेक केही छैन। तर पत्नीको चाहना भन्दै सिंगो परिवार लिएर दुबईका महँगा होटेलमा मन बहलाउन जान्छन्। जसको नाममा राजनीति गरे तिनको छानो अझै चुहिएको छ, उपचार गर्ने अस्पताल छैन। तर उनी आफ्नी पत्नीको उपचार गर्न अमेरिका पुग्छन्। बोलाइमा कुनै सन्तुलन र स्तर छैन। तथानाम बोल्छन्। तर हामीलाई ‘अलि राजनीतिक छैनन्’’ भन्नेहरूका लागि प्रचण्ड ‘राजनीतिक’ सफलताका विशिष्ट उदाहरण हुन्।

त्यति भन्दाभन्दै माथि उल्लिखित तीनजनालगायत अन्य कतिपय नेताले यो देशमा राजनीतिक परिवर्तनका लागि संघर्ष नगरेका होइनन्। तर देशको लागि गरेको संघर्षको ब्याज खान्छु भन्न पाइँदैन, ब्याज चाहिने भए व्यापार गर्नुपर्छ, मुद्दती खातामा पैसा राख्नुपर्छ। त्यसमा पनि संघर्ष गर्नेहरू सबै इमानदार र क्षमतावान् हुँदैनन्, जसरी माइतीघर मण्डलामा भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा कुर्लिनेहरू सबै अभ्रष्ट र योग्य हुँदैनन्। नेपालको ७० वर्ष लामो राजनीतिक इतिहासमा लोकतन्त्र यसरी प्रधान विषय बनिदियो कि महाभ्रष्ट, अक्षम, षड्यन्त्रकारी र राष्ट्रघाती भए पनि ‘लोकतन्त्रवादी’ भएपछि सबै दुर्गुणहरू क्षम्य भयो। समाज यस्तो बनाइयो, जहाँ लोकतन्त्रको टोपी लगाएपछि निर्वस्त्र सडकमा दौडिए पनि ताली बज्ने भयो। ती निर्वस्त्र सडकमा दौडिनेहरूमा इमानदारी छैन, क्षमता छैन, सामान्य सुझबुझ छैन, स्वाभिमान छैन, बोलीमा सन्तुलन छैन, अभिव्यक्तिको स्तर छैन, मानवीय संवेदना छैन, राजकाजको ढंग छैन। ती आत्मकेन्द्रित छन्, षड्यन्त्रमा माहिर छन्। तर हामीलाई ‘अलि राजनीतिक छैनन्’ भन्नेहरूका लागि उनीहरू नै ‘राजनीतिक’ कहलिएका छन्। किनभने, हामीलाई राजनीतिकरूपमा अबुझ ठान्ने त्यो तप्काको राजनीतिक परिभाषाको दायराभित्र हामी पर्दैनौं।

राजनीतिक चरित्र कस्तो हुनुपर्छ भनेर बुझेको दाबी गर्ने त्यो जमातका लागि यसै वर्ष युक्रेनमा पूर्णतः गैरराजनीतिक पृष्ठभूमिबाट राष्ट्रपति बनेका हास्य कलाकार भोलोडिमिर जिलिन्स्की ‘राजनीतिक’ होइनन्। तिनका लागि पाँच वर्षअघि मात्र स्थापना भएको पार्टीबाट अहिले जर्जियामा सरकारको नेतृत्व गरिरहेका मामुका बाख्ताजी ‘राजनीतिक’ होइनन् किनभने उनी रेल कम्पनीको निर्देशकबाट सन् २०१७ मात्र राजनीतिमा प्रवेश गरेका हुन्। तिनका लागि भुटानका प्रधानमन्त्री लोटे छिरिङ ‘राजनीतिक’ होइनन् किनभने उनले चिकित्सक पदबाट राजीनामा दिएर सन् २०१३ मात्र राजनीति सुरु गरेका थिए। ती सबै अलौकिक मानव पक्कै थिएनन् होला, जसले आफूलाई पूर्णतः अराजनीतिक पृष्ठभूमिबाट आएर परम्परागत रूपमा बुझिँदै आएको ‘राजनीतिक’ चरित्रलाई आत्मसात गर्ने क्षमता राख्दथे। सम्भवतः पाकिस्तानका प्रधानमन्त्री इमरान खानले चाहिँ २२ वर्ष राजनीति झेलेका हुनाले हाम्रा ती टिप्पणीकारले उनलाई चाहिँ राजनीति जान्दैनन् भन्दैनन् होला।

हामीले भन्यौं, हाम्रो राजनीतिक दर्शन सहभागितामूलक लोकतन्त्र, संवेदनशील अर्थतन्त्र ९कम्प्यासनेट इकनमी० र कल्याणकारी राज्यको समायोजनबाट निर्माण हुने ‘कल्याणकारी लोकतन्त्र’ हो, र त्यसको हामीले व्याख्या गर्‍यौं। हामीले भन्यौं– शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, न्यून आय भएकालाई आवासको व्यवस्था, सार्वजनिक यातायात मूलतः राज्यको दायित्व हो र त्यो गर्न सकिने काम हो। हामीले भन्यौं, हामी पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टताको मूल्यमान्यता आत्मसात गर्छौं। हामीले भन्यौं, हामी सरकारी वेतनधारीहरू तथा पेसागत भ्रातृ संगठनहरू बनाउँदैनौं, तिनले समाजको नैतिक धरातल नै ध्वस्त पारिदिएका छन्। हामीले भन्यौं, हामी २०४६ सालपछि उच्च ओहोदामा बसेका सबै राजनीतिक तथा अन्य सरकारी वेतनधारीहरूको सम्पत्ति छानबिन गर्छौं, सेना, प्रहरी, कर्मचारीहरूमा राजनीति गर्दैनौं। हामीले वर्तमान संविधान, नागरिकता, विदेश नीति र कूटनीतिक मर्यादा, वातावरण र विकासजस्ता विषयमा स्पष्ट धारणा बनायौं र सार्वजनिक गर्‍यौं। हो, यी सबै‍ विचारलाई अझ विस्तृत र परिस्कृत गर्दै लैजानुपर्छ। तर पनि हामी त्यो तप्काका लागि ‘राजनीतिक’ भएनौं, पुराना दलका नेता ‘राजनीतिक’ भए।

यति लेख्नुको उद्देश्य हामी सिक्न चाहँदैनौं, हामी सुन्न चाहँदैनौं भन्ने होइन। तर राजनीति सुरु गरेदेखि नै मैले अत्यन्तै जोड दिँदै आएको एउटा विषय छ ः देश बदल्ने हो भने देशका राजनीतिकर्मीहरूसँगसँगै आमनागरिकको ‘राजनीति’ बारेको बुझाइ, मन र मत पनि परिवर्तन हुनैपर्छ। नत्र हालै एउटा कार्यक्रममा नेपाली कांग्रेसका बौद्धिक मानिने नेता प्रदीप गिरीले भने झैं ‘देश परिवर्तन गर्ने बेलामा हजारौं, लाखौंको संख्यामा सडकमा निस्कने अनि भोट दिने बेलामा जसले सबभन्दा बढी खर्च गर्छ, जो सबैभन्दा बढी चोर छ, त्यसलाई जिताउने रु ’ चरित्र कायम रहिरहनेछ। प्रदीप गिरीले संकेत गरेकाहरूले जस्तो राजनीति गर्ने हाम्रो उद्देश्य होइन र त्यस्तो राजनीतिबाट हामीले ‘के गर्न हुँदैन रु ’ भन्नेचाहिँ सिक्ने हो।

राजनीतिक नेतृत्व भनेको इमानदारी, क्षमता, सामान्य सुझबुझ, विचार र दूरदृष्टिको दुर्लभ सम्मि श्रण हो। ती गुणबाट राजनीतिनिर्देशित भए भने बाँकी सन्तुलन आफैं निःसृत हुन्छ। तर ती विशेषताको मूल्यांकन समग्रतामा गरिनुपर्छ। अंशअंशमा हेर्ने हो भने सबै मान्छे अपूर्ण हुन्छन्। कसैमा राजनीतिक नेतृत्वको सबै विशेषताका अंश होला, कसैमा नहोला। तर राजनीतिक सफलता या विफलता समग्र नेतृत्वमा निहित हुन्छ, जहाँ एउटाको कमजोरीलाई अर्कोले पूर्ति गरिरहेको हुन्छ भने अर्कोको कमजोरीलाई अर्कोले।

हाम्रो दाबी के छ भने, एकै पुस्तामा यो देशको रूपान्तरण गर्नका लागि आवश्यक पर्ने गुणहरू समग्रतामा हाम्रो नेतृत्वमा छ। र, हामी अझ विशिष्ट नेतृत्वको खोजीमा छौं। तर हामीले राजनीतिले अपहरण गरेर जकडिएको नेपाली समाजमा हाम्रो नेतृत्वको इमानदारी र क्षमता, हाम्रा विचार र योजनालाई राम्रोसँग सर्वसाधारणसमक्ष पुर्‍याउन सकिरहेका छैनौं। त्यसले गर्दा हाम्राबारे नबन्नुपर्ने कथ्यहरू निर्माण भएका छन्। त्यसलाई चिर्न पार्टी संयोजकको नाताले मेरो पनि प्रमुख भूमिका रहन्छ। त्यसैले शुभेच्छुक पाठकहरूले ‘लेख्नचाहिँ नछोड्नोस् है’ भन्दाभन्दै पार्टी निर्माणका लागि देशभरि यात्रा गर्न अझ बढी समय खर्चिनुपर्ने भएकोले पाक्षिक लेखनबाट अहिलेलाई बिदा लिने निर्णय गरेको छु। सबै पाठकप्रति आभार प्रकट गर्दछु र अनुकूल हुँदा बेलाबखल लेख्ने वाचा गर्दछु।

हाललाई भने परम्परागत राजनीतिभन्दा साझा पार्टीले सोचेको राजनीति कसरी भिन्न छ र हामीमा राजनीतिक चरित्र मात्र होइन, सही ढंगबाट राजकाज सञ्चालन गरेर यो देशको मुहार फेर्ने योग्यता किन छ भन्ने विश्वास समाजलाई दिलाउनमा मेरो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ।

( मिश्रको अन्नपूर्ण पोष्टमा प्रकाशित लेख हो । मिश्र साझा पार्टीको संयोजक हुनुहुन्छ )


प्रकाशित | १५ कार्तिक २०७६, शुक्रबार ०९:१०