हेटौंडा सिमेन्टको क्षमता विस्तार गर्न ३ अर्बको प्रस्ताव

हेटौंडा: सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगले ३४ औं वर्षको यात्रा तय गरेको छ । २०४२ साल मंसिर २५ गतेबाट व्यावसायिक उत्पादन थालेको सिमेन्ट उद्योगले अब क्षमता विस्तार गरी उत्पादन लागत घटाउने रणनीति बनाएको छ ।

हाल दैनिक करिब आठ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले दैनिक तीन हजार मेट्रिकटन क्षमता विस्तार गर्नको लागि प्रस्ताव तयार गरेको छ । उद्योग मन्त्रालयमा पेश गर्ने क्रममा रहेको प्रस्तावअनुसार उद्योगको क्षमता विस्तार गर्न करिब ३ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने देखिन्छ । यो समाचार आजको कारोबार दैनीकमा छ ।

‘३४ वर्षदेखि एउटै मेसिनबाट काम भइरहेको छ, पुराना भएका मेसिनबाट उत्पादन क्षमता पनि ह«ास आइरहेको छ भने उत्पादन लागत पनि हामीलाई बढी परिरहेको छ । यसको लागि नयाँ र आधुनिक मेसिन जडान गरी उत्पादन क्षमता बढाउनुका साथै र उत्पादन मूल्य घटाउनुपर्ने देखिन्छ ।’ उद्योगका उपप्रबन्धक गणेश कोईरालाले भने, ‘उद्योगको क्षमता विस्तारका लागि हामीले प्रस्ताव तयार पारिसकेका छौं । उक्त प्रस्तावअनुसार सरकारले बजेट विनियोजन गरेमा उद्योगले नयाँ स्वरुप पाउनेछ ।’

सरकारले चालू आर्थिक वर्षमा हेटौंडा–९ लामसुरेमा हेटौंडा सिमेन्टको क्षमता विस्तार गर्ने नीति लिएअनुरुप सिमेन्ट उद्योग प्रशासनले क्षमता विस्तारको प्रस्ताव तयार गरेको छ । दैनिक उत्पादन क्षमता एक हजार दुई सय, दुई हजार सात सय र ३ हजार मेट्रिक टन उत्पादन क्षमतामा विस्तार गर्नका लागि छुट्टाछुट्टै प्रस्ताव तयार गरिएको उपप्रबन्धक कोईरालाले बताए । ‘दैनिक एक हजार दुई सय मेट्रिक टन उत्पादन क्षमता बनाउँदा लाग्ने मेसिन, खर्च देखि सबै अनुमान समेटिएको प्रस्तावदेखि दैनिक ३ हजार मेट्रिक टन क्षमताको बनाउँदा लाग्ने मेसिन, जनशक्ति, विद्युत्, बजेटलगायतको अनुमानसहितको तीन वटा छुट्टाछुट्टै प्रस्ताव हामीले तयार गरेका छौं । यो प्रस्ताव हामी छिट्टै सरकारलाई बुझाउँदैछौं ।’ कोईरालाले भने ।

प्रस्तावअनुसार नयाँ मेसिन र संरचना तयार हुने हो भने सिमेन्टको प्रतिबोरा लागत मूल्य पाँच सय रुपैयाँभन्दा कम हुने उद्योगले अनुमान गरेको छ । हाल हेटौंडा सिमेन्टको प्रतिबोरा लागत मूल्य करिब ६ सय ६० रुपैयाँ रहेको छ ।

क्षमता विस्तारसँगै थप चुनढुङ्गा खानी पनि आवश्यक पर्ने भन्दै उद्योगले मन्त्रालयमा खानीको व्यवस्था गर्न प्रस्ताव गरिसकेको छ । हाल उद्योगले धादिङस्थित जोगिमारा, मकवानपुरको आमभञ्ज्याङस्थित मजुवा, भैंसे र ओखरे खानीबाट चुनढुङ्गा ल्याएर उद्योगले सिमेन्ट उत्पादन गरिरहेको छ ।

उद्योगले निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्नको लागि चालू आर्थिक वर्षमा मात्र तीन पटक मूल्य समायोजन गरेको छ । आठ सय ९८ रुपैयाँ मूल्य रहेको सिमेन्टको मूल्य ८ सय २४ रुपैयाँमा झारिएको थियो । गत असोज ७ गते पुनः मूल्य समायोजन गरी ८ सय रुपैयाँ ४ पैसामा झारियो । त्यति गर्दा पनि अपेक्षाअनुसारको बिक्री नभएपछि कात्तिक २६ गतेबाट सिमेन्टको उपभोक्ता मूल्य ७ सय ४९ रुपैयाँ कायम गरिएको छ । ‘हाम्रा पुराना मेसिन र उत्पादन क्षमता कम भएको कारण प्रतिबोरा लागत मूल्य नै निकै बढी छ, त्यसैले निजीसँग प्रतिष्पर्धा गर्न हामीलाई गाह«ो भइरहेको छ । तर पनि हामीप्रतिको विश्वासमा भने कमी भएको छैन ।’ उद्योगका बिक्री तथा बजार व्यवस्था विभाग प्रमुख ज्ञानेन्द्र शिवाकोटीले भने, ‘हामीले मूल्य समायोजन गरेपछि बिक्रीमा वृद्धि भइरहेको छ ।’

विगत चार वर्षदेखि निरन्तर नाफामा गइरहेको सिमेन्ट उद्योगले बितेको आर्थिक वर्षमा भने अपेक्षाअनुसार नाफा आर्जन गर्न सकेन । उद्योगको मेसिनमा खराबी आएपछि समयसमयमा उद्योग बन्द हुँदा उद्योगको नाफामा कमी आएको हो । हेटौंडा सिमेन्ट उद्योग गत वैशाख र असार महिनामात्र मात्र तीनपटक बन्द भएको थियो । वैशाख १६ गते, असार २ गते र १६ गते मेसिनमा समस्या आएपछि उद्योगको उत्पादन बन्द भएको थियो । असार २३ गते उद्योगबाट मात्र उद्योग निरन्तर सञ्चालनमा आएको थियो ।

अहिले पनि उद्योगमा रोटो प्याकर मेसिन जडानको काम भइरहेकाले विगत एक महिनादेखि एउटा स्टेशनरी मेसिन बन्द रहेको छ । करिब दुई करोड रुपैयाँ खर्चिएर उद्योगले पुरानो प्रविधिको मेसिन फेरेर नयाँ रोटो प्याकर मेसिन जडान गरिरहेको उद्योगका उपप्रबन्धक कोईरालाले बताए ।

उद्योगले आर्थिक वर्ष २०७४-०७५ मा २३ करोड ५० लाख ५६ हजार रुपैयाँ मुनाफा गरेको थियो । त्यसअघिको वर्ष करिब २२ करोड रुपैयाँँ उद्योगले नाफा गरेको थियो । आर्थिक वर्ष २०७५-०७६ को भने अडिट भइरहेको बताइएको छ । अघिल्लो आर्थिक वर्षमा उद्योगबाट २० लाख ८६ हजार ६६ बोरा सिमेन्ट उत्पादन भएको उद्योगको तथ्यांक छ । उद्योगमा हाल तीनसय ४५ जना कर्मचारी कार्यरत छन् ।


प्रकाशित | २५ मंसिर २०७६, बुधबार १३:०३