कागेश्वरी मनोहरा नगरपालिकाको स्वास्थ्य क्षेत्र सुधार्न जनप्रतिनिधिहरु एकढिक्का, नगर अस्पताललाई नमूना बनाउन लागिपर्दै

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिहरु स्वास्थ्य क्षेत्र सुधार्न एकढिक्का भएर लागिपर्नु भएको छ । मूलपानी नगर अस्पताल र स्वास्थ्य संस्थाहरु सुधार्न कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिहरु एकढिक्का भएर लागिपर्नु भएको हो । सोही अभियान अन्तर्गत बिहीबार मूलपानी नगर अस्पताल र स्वास्थ्य संस्थाहरुको सुधार तथा प्रयास सम्बन्धी सरोकारवालाहरुसँग वृहत्त अन्तरक्रिर्या कार्यक्रम आयोजना गरिएको छ ।

नगर प्रमुख, उपप्रमुखसहित ९ वटै वडाका वडाध्यक्ष  तथा जनप्रतिनिधिहरु, अस्पताल र विभिन्न स्वास्थ्य केन्द्रका प्रमुखहरुको सहभागितामा भएको अन्तरक्रिया कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखा प्रमुख तुलजा लामा केसीले स्वास्थ्य केन्द्रहरुको अवस्था र अस्पतालको तर्फबाट ब्यवस्थापक प्रज्ञा पाण्डेले अस्पतालको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएको नगर प्रमुख उपेन्द्र कार्कीले कागेश्वरी मनोहरा नगरपालिका तथा नगर अस्पताललाई नमुना र उदाहरणीय बनाउन  लागिपरेको बताउनुभयो । मेयर कार्कीले निर्वाचीत भएर आएपछि स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर अगाडि बढिरहेको र स्वास्थ्य क्षेत्रमा भएको लगानी सकारात्मक तथा परिणममुखी बन्दै गएको बताउनुभयो ।

मेयर कार्कीले अस्पतालमा विशेषत सरसफाई, सुरक्षाको प्रत्याभूति, प्रविधिको प्रयोग, जनशक्ती ब्यवस्थापन, पूर्वाधार र सेवा विस्तार गर्दै सुधारको प्रयास भएको तथा यसलाई अझ ब्यापक रुपमा सुधार गर्न लागिपरेको स्पष्ट पार्नुभयो । साथै अस्पतालमा पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट विज्ञापन गराएर जनशक्ती ब्यवस्थापन गरिएको बताउनुभयो ।

अस्पताल विशुद्ध सेवा गर्ने थलो भएको भन्दै अस्पतालमा कार्यरत कर्मचारीहरुले नगरबासीको सेवामा दत्तचित्त भएर निस्वार्थ रुपमा काम गर्नुपर्ने बताउनुभयो । अस्पताल आउने सेवाग्राहीले पाउने सेवा सुविधालाई गुणस्तरीय र भरपर्दो बनाउन निर्देशन दिनुहुँदै अस्पतालमा बसेर अनावश्यक राजनीति नगर्न र गर्ने जोकोहीलाई २४ घन्टाभित्र निलम्बन गरिने बताउनुभयो । अस्पताल नगरबासीको हितमा चल्न नसकेको गुनासो आइरहेको भन्दै अब आइन्दा त्यस्तो गल्ती नदोहोर्याउन र दोहोर्याए तत्काल निलम्बन गरिने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रीका स्वास्थ्य सल्लाहकार बद्री बस्नेतले अस्पताललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

नगरपालिकाकी उपप्रमुख शान्ता थापाले अस्पतालमा कार्यरत कर्मचारीको ब्यवहार राम्रो हुनुपर्ने र आशा लिएर आएका बिरामीलाई निरासा नबनाईकन चित्त बुझाएर पठाउनुपर्ने बताउनुभयो । उहाँले आउने दिनमा जनगुनासो नआउने गरि काम गर्न पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, वडा नम्बर १ का वडाध्यक्ष मुकुन्द गजुरेल, ३ का वडाध्यक्ष राममणी पुडासैनी, ४ का वडाध्यक्ष विजय श्रेष्ठ, ५ का वडाध्यक्ष शंकर पाण्डे, ६ का वडाध्यक्ष प्रकाश फुँयाल, ७ का वडाध्यक्ष भिमसेन थापा, ९ का वडाध्यक्ष अनील थापा लगायतले अस्पतालले गर्नुपर्ने सुधारका बारेमा धारणा राख्नु भएको थियो ।

कार्यक्रममा अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. अनामिका सिंहले अस्पतालबाट भइरहेका सेवा प्रवाहको विषयमा जानकारी गराउनुहुँदै अस्पताल नयाँ जनप्रतिनिधि आएपछि सुधार हुँदै गएको बताउनुभयो । उहाँले अस्पतालमा अझै पनि धेरै सुधारको खाँचो रहेको बताउनुभयो ।

अस्पतालमा बहिरंग, अन्तरगं, इमर्जेन्सी, दन्तरोग, आखाँ उपचार र बर्थिगं सेवा, सामान्य चिरफार, सुरक्षित गर्भपतन सेवा र निशुल्क क्षयरोगको उपचार हुँदै आएको छ । त्यस्तै, प्रबर्धनात्मक सेवा अन्तर्गत परिवार नियोजन, पोषण कार्यक्रम, सुरक्षित मातृत्व कार्यक्रम, नियमित खोप कार्यक्रम, विद्यालय शिक्षा कार्यक्रम, स्वास्थ्य सेवा शिविर र महिला स्वास्थ्य स्वयमसेवीका कार्यक्रम सञ्चालन हुँदै आएको छ । साथै अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम समेत लागू भइसकेको छ ।

त्यस्तैगरि, नगर अस्पतालमा इमर्जेन्सी, एक्सरे, ल्याब, फार्मेसी, बर्थिगं, एम्बुलेन्स र बीमा सेवा २४ सौ घन्टा सेवा उपलब्ध हुँदै आएको छ । विशेषज्ञ सेवा अन्तर्गत सामान्य चिकित्सक, हाड जोर्नी विशेषज्ञ, प्रसूति तथा स्थीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ, अल्टासाउण्ड र फिजियोथेरापी सेवा सञ्चालन हुँदै आएको छ ।

नगर अस्पतालमा पछिल्लो तथ्यांक अनुसार सेवाग्राहीको संख्या दोब्बर भन्दा बढीले बृद्धि हुँदै आएको देखिन्छ । गत आर्थिक वर्ष २०७९ ०८० मा १४ हजार २ जना सेवाग्राहीले सेवा लिएको अस्पतालमा चालु आर्थिक वर्षको हालसम्म ११ हजार भन्दा बढी सेवाग्राहीले सेवा लिइसकेका छन् ।

त्यस्तै, नगरपालिकामा हाल एक नगर अस्पतालसहित ५ वटा हेल्थपोस्ट, ३ शहरी स्वास्थ्य केन्द्र, १ आधारभूत अस्पताल, १ आयुर्वेद औषधालय रहेका छन् । सोही अवसरमा नगर अस्पतालका विभिन्न शाखा र वार्डहरुको निरीक्षण समेत गरिएको थियो ।

   

 


प्रकाशित | ५ माघ २०८०, शुक्रबार २०:५८