प्रधानमन्त्री र मन्त्रीहरुको दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री र मन्त्रीहरुकको दसैं भक्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को गत असोज २९ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री र मन्त्रीहरुले दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी गराउनुभयो ।

सरकारका निर्णयहरु सार्वजनीक गर्नुहुँदै सञ्चार मन्त्री समेत रहनु भएको गुरुङले मन्त्रिपरिषद्को असोज २६ र २९ गते बसेको बैठकले स्थलमार्गबाहेक अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमनलाई कात्तिक ३० गतेसम्म स्थगित गर्ने, पूर्ण सीट क्षमताका आधारमा सवारी सञ्चाल गर्ने र भाडादर पनि पुरानै कायम गर्ने निर्णय गरेको पनि जानकारी गराउनुभयो । बैठकले केहि सचिवहरुको सरुवा गरेको प्रवक्ता गुरुङले बताउनुभयो ।

त्यस्तै, कोरोनाको संक्रमण विस्तार हुँदै गएको सन्दर्भमा काठमाडौं उपत्यकामा थप २०० र उपत्यकाबाहिर २०० उच्च किसिमको प्रविधिसहितको सघन उपचारकक्षको विस्तार १५ दिनभित्र गरिसक्ने निर्णय भएको उहाँले बताउनुभयो । ५०० भन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा वा जिल्लाभित्रको कुनै भागमा कुनै सेवा वा कार्यमा रोक लगाउने अधिकार पनि प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

मन्त्रिपरिषद्को बैठकले पशुपतिमा रहेको विद्युतीय शवदाहगृह चौबीसै घन्टा सञ्चालनमा ल्याउन र थप एक शवदाहगृह निर्माण गर्ने निर्णय गरेको पनि प्रवक्ता गुरुङले बताउनुभयो ।


प्रकाशित | ३ कार्तिक २०७७, सोमबार १७:५८