अस्पतालमा उपचाररत सङ्क्रमितको दैनिकी : तीन पटक औषधि खान्छु, फोनमा कुरा गर्छु, दिनभर सुत्छु

ललित बसेल /सुर्खेत

 पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका ३२ बर्षीय युवक करिव १२ दिन अगाडि कोरोना सङ्क्रमण भएपछि सुर्खेतस्थित प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालको आइसोलेशनमा उपचाररहत हुनुहुन्छ ।

गत बर्षको दशैं मनाएर घर खर्च जुटाउन भारत पुगेको र त्यहाँ एक होटलमा उहाँले काम पाउनुभयो । काम राम्रो भएकोले कमाईपनि राम्रै थियो । तर भारतमा कोरोना फैलिएपछि डर लाग्न थालेको बताउँदै सवै नेपाली घर फर्कन लागेपछि उहाँ पनि घर फर्कन तयार हुनुभयो ।

भारतमा कोरोनाले महाराष्ट्र सवैभन्दा बढी प्रभावित भयो । उहाँ काम गर्ने होटलपनि बन्द भयो । काम गर्न नसक्ने भएपनि घर फर्कनुको विकल्प भएन । एक महिनासम्म काम विहीन भएर बसेपनि जोखिम मोलेर रुपैडिहासम्म पुग्न सके घर जान सकिने भन्ने आँटले जोखिम मोल्नुभयो । मर्नु परे पनि घरमै मरूँला भनेर घर जाने योजना उहाँले बनाउनुभयो । उहाँसहित केही साथीहरुले मिलेर ट्रक रिजर्भ गरी महाराष्ट्रबाट चारदिन लगाइएर नेपालगन्ज नजिकको सीमा नाका रुपैडिहा आउनुभयो ।
रुपैडिहाबाट गाडी बसेर कर्णाली प्रदेश नाका सुर्खेतको बबईमा आरडिटी परीक्षण भयो । अनि त्यसपछि गरिएको पिसिआर परीक्षणमा उहाँलाई कोरोना पोजेटिभ देखिएपछि सुर्खेतस्थित प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालको आइसोलेशनमा राखिएको छ । आइसोलेशनमा बसेको आज १२ दिन भएको छ ।

उहाँको दैनिकी

विहान विहान ५ बजे उठछु । केही समय शारीरिक व्यायाम गरेपछि खाली पेट औषधि खान्छु । औषधि तीन पटक खानुपर्छ । केही समयपछि नास्ता खाएसँगै अर्को औषधि खान्छु । अनि आराम गर्छु । खाना बिहान १० बजेतिर हुन्छ । खाना खाएपछि दिनभरी सुत्छु । दिउँसो आफन्तसँग फोनमा कुराकानी गर्छुु । साथीभाइले फोन गर्छन्, सान्त्वना दिन्छन् । रक्तचाप, ज्वरो नाप्ने औजार छ । सवै आफैले नापेर स्वास्थ्यकर्मीहरुलाई भन्नुपर्छ । विहानमा ननभेज खाजा आउँछ । दिउँसो चना, अण्डा, चाउमिन खाजा दिइन्छ । साँझ भेज खाना दिने गरिएको छ ।

कसरी लाग्यो ?

कसरी लाग्यो भन्ने नै मलाइ थाहा भएन । आउने बेला हल्का खोकी लागेको थियो । ज्वरो पनि सामान्य थियो । मलाइ अफ्ठेरो महसुस हुने कुनै लक्षण नै थिएन । तर पिसिआर परीक्षण गर्दा पोजेटिभ आएछ । कसरी लाग्यो भन्ने नै मलाई थाहा छैन । औषधि चालु गरेपछि खोकी पनि निको भइसकेको छ ।

सुरुमा त्रासः

कोरोना पोजेटिभ भएपनि सुरुमा म नर्भस भएँ त्रास भयो । बाहिर कोरोनाले मार्छ भन्ने सुनेकोले मनमा त्रास थियो । सँगै आएकाबाट मलाई अस्पतालमा ल्याउँदा नरमाइलो भयो । तर अहिले रत्तिभर पनि त्रास छैन । उपचारबाट सन्तुष्ट छु ।

डराउनु पर्दैनः

कोरोना देखिन वित्तिकै डराउनु पर्र्दैन । लागिहालेमा दुःखी हुन आवश्यक छैन । स्वच्छ मन र भावना लिनुपर्दछ । खुशी हुनुपर्दछ । यो रोग लागेमा चिन्ता व्यक्त हुनुहुदैंन । रोगले मारिहाल्छ भन्ने सोच राख्नुहुदैंन । निको हुन्छ, सन्चो भएर जान्छु भन्ने आत्मबल दह्रो बनाउनुपर्दछ । शारीरिक र मानसिक रुपमा बलियो हुनुपर्दछ । मनलाई दह्रो बनाउनुपर्छ । चिन्ता लिने, तनाव लिएमा समस्या आउनसक्छ । त्यसैले मन बलियो बनाउनुपर्छ । केही हुँदैन । रोगलाई जित्छु भन्ने भावना मनमा लिनुपर्छ । स्रोत – गोरखापत्र अनलाइन


प्रकाशित | २१ जेष्ठ २०७७, बुधबार १३:४२