ऐन नआउँदा बजार अनुगमन प्रभावित

काठमाडौं: दशै, तिहार, छठ, नेपाल संवतलगायतका चाडपर्वमा सवारी व्यवस्थापन, बजार अनुगमन, ट्राफिक व्यवस्थापन लगायतमा कुनै समस्या नआउने सरोकारवाला निकायका प्रमुखहरुले स्पष्ट पारेका छन् । तर, उपभोक्ता संरक्षण ऐन कार्यान्वयमा आएको एक वर्ष बित्न लाग्दा समेत नियामावली नआउँदा बजार अनुगमन प्रभावकारी हुन सकेको छैन । सरकारले उपभोक्ता संरक्षण ऐन कार्यान्वयमा आएको झण्डै एक वर्ष बित्न लाग्दा समेत नियामावली ल्याउन नसक्दा अनुगमन प्रभावकारी हुन नसकेको स्वीकार गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयमा आए पनि नियामावली नआउँदा अनुगमन प्रभावकारी हुन नसकेको स्वीकार गरेको हो । दशैं तिहार तथा छठ पर्वमा कालोबजारी बढ्ने हुँदा तत्काल नियामावली नबन्दा अनुगमन प्रभावकारी हुन सकेको छैन । नियामावली अनुसार ठगि गर्ने व्यापारीलाई तत्काल निरीक्षण अधिकृतले जरीवाना गर्ने अधिकार रहेका छ । चाडपर्वका समयमा कालोबजारी हुने, मिसावटलगायत गतिविधि गरेको फेला पारे ऐन अनुसार तत्काल ५ हजारदेखि ३ लाखसम्म जरीवाना गर्ने उल्लेख रहेको छ । ऐन अनुसार निरीक्षण अधिकृत निर्धारण नियामावलीमाफत् गर्ने व्यवस्था छ ।

अघिल्लो वर्ष १६ सय ८० वटा अनुगमन गरीएको थियो । जसमध्ये २ सयलाई फिल्डमै जरीवाना तोकिएको थियो । चालु आर्थिक वर्ष साउन र भदौमा विभागले अनुगमनको क्रममा ३ सय जनामाथि अनुगमन गरेको थियो जसमध्ये १ सय १९ जना कारवाहीमा परेका थिए । यस्तै, विभागले दशै तिहारमा वस्तुको माग अत्याधिक हुने भएकाले नियमित अनुगमन गर्न नपुग्ने भन्दै थप जनशक्ति मगाएर अनुगमन गर्ने गरेको पनि बताएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग अनुरोध गरेर मन्त्रालय मातहत रहेका जनशक्ति माग गरेर अनुगमन गर्नुपर्ने जनाएको छ । भने प्रदेश र स्थानीय तहलाई अनुगमन गर्न अनुरोध गरेको छ । दशैं तिहार नजिकिएसँगै विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । दशैं तिहारको समयमा अखाद्य वस्तु बिक्री वितरण हुने र उपभोक्ताहरु ठगिने भएकाले अनुगमनमा तीव्रता दिएको हो ।

यता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले चाडपर्वलाई लक्षित गरेर आफूहरुले दैनिक अनुगमन सुरु गरेको सुनाउँछन् । उनले भने, ‘साउनमा मात्रै हामीले एक हजार फर्ममा अनुगमन गरेका थियौं, त्यसमध्ये ३४० फर्म कारबाहीको दायरामा आएका छन् । १६० फर्मलाई त २० लाखसम्म जरिवाना गराएका छौं ।’ चाडपर्वको मुखमा कालोबजारी र मूल्यवृद्धि गरेको पाइए तत्काल कारबाही गर्ने पनि उनले चेतावनी दिए ।

अहिले देशभरि ७३ वटा सुपथ मूल्यका पसलहरु सञ्चालनमा रहेका छन् । यो वर्षको दशैंलाई लक्षित गरेर विभागले तीन हजार खसी, बोकाको व्यवस्था गरेको विभागले जनाएको छ ।
तर, उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले चाडपर्व नजिकिएसँगै अनुगमनको नाममा सरकारी नाटक सुरु भएको आरोप लगाएका छन् । उनले भने,‘अहिले सरकारी नाटक सुरु भएको छ । बास्तविक अनुगमन भएकै छैन् ।’ उनले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनलाई अहिले भ्याईनभ्याई भएको टिप्पणी गरे । उनले भने, ‘एक जनालाई धेरै जिम्मेवारी दिइएको छ, त्यसैले उहाँलाई भ्याइनभ्याई छ ।’

बानियाँले अहिले बजार बजारजस्तो नभएको पनि टिप्पणी गरे । उनले भने, ‘अहिले उपभोक्तालाई लुट्ने काम भइरहेको छ । सरकारले बजार हेरेकै छैन् । विभाग अहिले अलमलिएको छ । जनता लुटिएका छन् ।’ उनले यातायात व्यवसायीहरुले एजेण्टको काम गरेको सुनाए । उनले यात्रुलाई दुःख र सास्ती नदिनपनि व्यवसायीहरुलाई आग्रह गरे ।


प्रकाशित | ९ आश्विन २०७६, बिहीबार १२:२६