नेपाल भ्रमण वर्ष सफल बनाएर १० लाख नेपालीलाई रोजगारी दिने वातावरण बनाउन प्रधानमन्त्रीको आह्वान

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल भ्रमण वर्ष, २०२०’ लाई सफलताका लागि सबै क्षेत्रको सहयोग आवश्यक पर्ने बताउनुभएको छ । भ्रमण वर्ष सफल बनाए त्यसले समग्र मुलुकको पर्यटन क्षेत्र मात्र नभई मुलुकको आर्थिक सम्मृद्धिमा पनि टेवा पुग्ने भन्दै प्रधानमन्त्री ओलीले सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सम्बन्धित सबै निकायलाई आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्ष सम्पन्न हुँदा १० लाख नेपालीलाई पर्यटन क्षेत्रको विकास गरेर रोजगारी दिने अवस्था बनाउनुपर्नेमा समेत जोड दिनुभयो ।

बुधबार सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजित ‘नेपाल भ्रमण वर्ष, २०२०’ मूल आयोजक समितिको तेस्रो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पर्यटन क्षेत्रबाट देशको आय दोब्बर बनाउने गरी ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन सरोकारवाला सबै निकायलाई अपिल गर्नुभएको हो ।

सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय यतिखेर खाली छ । सो मन्त्रालयको जिम्मेवारी समेत लिनुभएको प्रधानमन्त्री ओलीले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन आ–आफ्नो क्षेत्रको गन्तव्य स्थलहरुको पहिचान गरी उचित व्यवस्थापन गर्न प्रदेश तथा स्थानीय सरकारहरुको पनि ध्यानाकर्षण गराउनुभयो ।


प्रकाशित | २७ चैत्र २०७५, बुधबार १८:३८